नेपालमा एउटा प्रचलित भनाई छ- “तीन करोड जनतालाई तेत्तीस करोड देवताहरूले रक्षा गरिरहेका छन्!” अनि श्रीस्वस्थानी ग्रन्थमा पनि कैयौँ अध्यायहरूमा ३३ कोटी यानिकी ३३ करोड देवताहरू भएको उल्लेख गरिएको छ।
तर, के यो सत्य हो?
हिन्दु धर्मको वेदले भन्छ कि यो सत्य होइन! त्यहाँ केवल ३३ वटा मात्रै देवताहरू छन् तर त्यसमा ब्रह्मा, विष्णु र महेश्वर जस्ता देवताहरू पर्दैनन्। उपनीषदमा पनि ‘परमात्मा ब्राह्मण’लाई नै परम वास्तविकता भनिएको छ। ब्राह्मण भनेको ‘ब्राह्मण जाति’ होइन, ‘एक मूल देवता’ नै ब्राह्मण हो। हिन्दु धर्मका ग्रन्थहरू सबै कविताको शैलीमा रचिएका छन्। त्यसैले यो सारा ब्रह्माण्डको असीमिततालाई छन्दमा ढाल्न खोज्दा ३३ करोड भनिएको हो।
संस्कृत भाषामा ‘कोटि’ शब्दको दुई वटा अर्थ हुन्छ: १. करोड र २. प्रकार। विभिन्न ग्रन्थहरूमा ‘त्रैअस्त्रिंसा देव’ (३३ कोटि) भनेर उल्लेख गरिएको छ, तर यसको मतलब ३३ करोड देवता होइन कि बरु ३३ प्रकारका देवताहरू छन् भन्न खोजिएको हो।
कसरी?
यो कुराको पुष्टि ‘वृहदआरण्यक उपनीषद’बाट गर्न सकिन्छ। यो उपनीषदमा प्राचीन सिन्धु पर्वतमा एक साधुले गहिरो ध्यानबाट पुरातन विचार र दर्शनको वर्णन गरेको कुरा उल्लेख गरिएको छ। यसमा वैदिक संस्कार, रचना, ब्रह्माण्डको उत्पत्ति, निरपेक्ष आत्माको अवधारणा लगायतका अन्य परमज्ञानको बारेमा विस्तृतीकरण गरिएको छ।
वृहदआरण्यक उपनीषदका अनुसार, सिन्धु पर्वतको टुप्पामा ध्यान गरी आत्मज्ञान र परमात्मा प्राप्त गर्न बसेका दुई साधुहरूको बीचमा प्रश्नोत्तर संवाद चलिरहेको हुन्छ।
‘यज्ञवल्क्य’ र ‘शकल्य’
शकल्य ऋषीले यज्ञवल्क्य ऋषीलाई सोही प्रश्न गर्छन्- “भगवान कतिवटा छन् र ती को-को हुन्?” शकल्यको यस्तो प्रश्नमा सर्वज्ञान प्राप्त गरेका यज्ञवल्क्य ऋषीले घुमौरो पाराले वर्णन् गर्छन् कि यो सारा सृष्टि, यो सारा ब्रह्माण्डको केवल एउटै रूप छ, त्यो हो ‘ब्राह्मण’, जसलाई ३३ वटा प्रमुख कोटि (प्रकार) मा व्याख्या गर्न सकिन्छ र त्यसैलाई ‘भगवन’ भनिन्छ। भगवनको अर्थ हुन्छ- ‘एक रूप’।
*धार्मिक तवरले वर्णन गरेको ग्रन्थभन्दा दार्शनिक तवरले वर्णन गरेको ग्रन्थबाट थाहा हुन्छ कि, हजारौँ वर्षपहिले पनि मानिसहरूले ब्रह्माण्डमा जीवनको अस्तित्व बुझेका थिए, जतिबेला ‘विज्ञान’को जन्म नै भएको थिएन। अहिले हामीलाई भौतिकशास्त्र र मनोविज्ञान बुझ्नको लागि यति कठीन भैरहेको छ तर ती प्राचीन मानिसहरूले त्यतिबेला पनि सबैकुरा बुझेका थिए, त्यो पनि ध्यानबाट। उनीहरूको विचार र दर्शनको निर्मलताको कुनै पर्याय छैन।*
त्यसपछि शकल्यले यज्ञवल्क्यलाई ब्राह्मणको ३३ कोटि के-के हुन् भनेर प्रश्न सोध्छन्। यज्ञवल्क्य भन्छन्- “३३ कोटि देवताहरूमा ८ वासु, ११ रुद्र, १२ आदित्य, इन्द्र र प्रजापति पर्दछन्।”
त्यसो भए, के हो यो- वासु, रुद्र, आदित्य, इन्द्र र प्रजापति भनेको? शकल्यले यज्ञवल्क्यलाई प्रश्न गर्छन्:
“कतमे वासव इती” :- “के हो यो वासु भनेको?”
यज्ञवल्क्य भन्छन्- “वासु भनेको ‘पालना गर्नु’ हो। वासुदेवहरूमा अग्नी, पृथ्वी (भूमी), वायु, वायुमण्डल, सूर्य, स्वर्ग, चन्द्र, तारा पर्दछन्। यो संसारमा जति पनि सृष्टि छन्, सबै वासुकै पालन बाट सम्भव भएका हुन्। यहि यी देवहरू हुने थिएनन् भने सृष्टि असम्भव हुनेथ्यो।”
“कतमे रुद्र इती” :- “रुद्र को हुन्?”
यज्ञवल्क्य भन्छन्- “१० चेतना र १ दिमागलाई नै रुद्र भनिन्छ। जब चेतना र दिमागले शरीर त्याग्छ, तब त्यहाँ दुःखको रोदन पैदा हुन्छ। ‘रुद्र’ भनेको ‘रुनु’ हो। सबै प्राणीमा रुद्र बसेको हुन्छ।”
“कतमे आदित्य इती” :- “आदित्य के हो?”
यज्ञवल्क्य भन्छन्- “सूर्यको १२ रूप हुन्छ, जसले प्राणीहरूको जीवनलाई नियन्त्रण गर्दछ। त्यसैलाई आदित्य भनिन्छ। आदित्य भनेको आदि र अन्त्य हो। सूर्यले नै जीवन दिन्छ र सूर्यलै नै जीवन लिन्छ।”
“कतमे इन्द्र, कतमे प्रजापति इती” :- “इन्द्र के हो? प्रजापति के हो?”
यज्ञवल्क्य भन्छन्- “बादल र वर्षा अनि चट्याङ्ग नै इन्द्र हो। वासुदेवको दृश्यमान शक्ति नै इन्द्र हो। यो यस्तो शक्ति हो, जुन अन्य शक्तिभन्दा महान हुन्छ। हरेक प्राणीमा पनि आफ्नै इन्द्र हुन्छ। इन्द्रले प्राणीको इच्छाशक्तिलाई बुझाउँदछ।
बलिदान र उत्सर्गको पथ नै ‘प्रजापति’ हो। जब कसैले यो सांसारिक मोह र जाललाई बलिदान गर्छ, तब मात्रै उसले ब्राह्मणको ज्ञान पाउँछ, आत्मज्ञान पाउँछ अनि अन्य सारा देवहरूको चरण पाउँछ। परमज्ञानको बाटो नै प्रजापति हो। ‘प्रजापति’को अर्थ हुन्छ ज्ञान अर्थात उदेश्य।”
वृहदआरण्यक उपनीषदमा यस्तै-यस्तै कुराहरूको वर्णन गरिएको छ। भगवान के हो, भगवानको विशेषता कस्तो हुन्छ, भगवान प्राप्त गर्ने बाटो के हो? जीवनको अर्थ के हो, धर्म के हो, कर्म के हो, मृत्यु के हो? यस्तै-यस्तै कुराहरूको बारेमा दर्शन र सिद्धान्तले भरिएको छ उपनीषद, जुन अति नै ज्ञानवर्द्धक छ। पुर्बेलीन्युजबाट

1 comments
प्रतिक्रिया दिनुहोस्...

15 July 2016 at 03:54
Headline yauta samachar arko ko matlab. Hami le click garxau ani google le pay garx pIsa kamaune dau purbeli news ko. News maafiyaa bhanxan yaslai..