काठमाडौं, असार २९ – वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिका निकै खरा र अडान भएका नेतामा गनिनुहुन्छ । प्रधानमन्त्री हुनुभन्दा पहिले उहाँको बोली र स्वभावलाई लिएर धेरैले बिरोध गर्थे । उहाँलाई छुच्चो स्वभावका नेता पनि भनिन्थ्यो । तर प्रधानमन्त्री भएपछि आफ्ना केही बिरोधीको मुख थुन्न उहाँ सफल हुनुभयो ।
प्रधानमन्त्री भएपछि पनि उखान टुक्काले सबैलाई हँसाउने र गर्न थालेको काममा अड्डी कस्ने बानीले निकै चर्चित हुनुभयो । केही तत्कालै पूरा गर्न सकिने योजना र केही सपना बाँडेर पनि उहाँ चर्चाको शीखरमा उक्लनुभयो ।
तर उहाँसँगै नौ महिना काम गरेका नेकपा माओवादी तर्फबाट बनेका मन्त्रीहरु भने खासै चर्चामा आएनन् । प्रधानमन्त्री ओलीसँग नौ महिना काम गर्दा माओवादीका मन्त्रीले भोगेका अनुभव यस्ता छन् ।
काममा इन्जोइ गरियो : रेखा शर्मा सामान्य प्रशासन मन्त्री
दाङ्गकी सांसद रेखा शर्मा माओवादीका महिला नेतृमध्ये खरो नेतृका रुपमा चिनिनुहुन्छ । उहाँले सरकारमा सामान्य प्रशासन मन्त्रीका रुपमा काम गर्नुभयो । सामान्य प्रशासन मन्त्रालय भएकाले उहाँले प्रधानमन्त्रीसँग अलि बढी नजिक रहेर काम गर्नुभयो ।
उहाँले काम गर्दा कहिले पनि कतैबाट दवाव महशुस गर्नुभएन । आफू सिस्टममा चल्दै गएकाले प्रधानमन्त्रीबाट कहिले पनि यसो गर्नुस र उसो गर्नुस भन्ने दवाव आएन भन्नुहुन्छ उहाँ । ‘मैले जतिञ्जेल काम गरेँ, त्यतिञ्जेल मैले इन्जोइ नै गरेँ’ नेतृ शर्माले भन्नुभयो, ‘बाहिर हल्ला त प्रधानमन्त्रीले मन्त्रीलाई थर्काए रे भन्ने पनि सुनियो तर कहिल्यै पनि मैले त्यस्तो महशुस गरिनँ ।’
राजनीतिक एजेन्डा फरक भएपनि जनताकै लागि काम गर्ने भएकाले खास समस्या नभएको उहाँको भनाई छ । बाहिर निकै हाँसीमजाक गर्ने प्रधानमन्त्रीले मन्त्रीपरिषदको बैठकमा कस्तो ब्यवहार देखाउनुहुन्थ्यो त ? रेखा शर्माले भन्नुभयो, ‘हो प्रधानमन्त्रीले बाहिर निकै हाँसीमजाक गर्नुहुन्थ्यो, तर मन्त्रीपरिषदको बैठकमा कहिलेकाहीँ बाहेक सिरियस नै हुनुभयो ।
अँध्यारो भएको बेला उज्यालोमा के कुरा गर्ने : आपूर्ति मन्त्री गणेशमान पुन
केपी शर्मा ओलीको नेतृत्वमा आपूर्ति मन्त्री बन्नुभएका रुकुमका सांसद गणेशमान पुनले भने केहि निराश कुरा गर्नुभयो । केपी ओलीको नेतृत्वको सरकारमा बसेर काम गर्दाको अनुभव कस्तो रह्याे त ? उज्यालोको प्रश्नमा उहाँले भन्नुभयो ‘यहाँ अँध्यारो भैरहेका बेलामा के उज्यालोसँग बोलम र ’ । आफूहरुले एजेन्डा हेरेर काम गरेको भन्दै मन्त्री पुनले यसबारेमा आफूलाई बोल्न जाँगर नभएको बताउनुभयो ।
ओलीसँग काम गर्दा दाँतबाट पसिना आयो : कृषीमन्त्री हरिबोलप्रसाद गजुरेल
केही मन्त्रीले ओलीसँग इन्जोइ गरेर काम गरेको बताएपनि कृषी मन्त्रीका रुपमा काम गरेका कृषीमन्त्री हरिबोलप्रसाद गजुरेलले भने ओलीसँग नौ महिना निकै अप्ठेरोे गरि बिताएको बताउनुभयो ।
अरु पार्टीसँग मिलेर बनाएको सरकारलाई पनि केपी शर्मा ओलीले स्वेच्छाकारितामा चलाएको उहाँको भनाई छ । ‘उहाँले हामीसँग कुनै सर सल्लाह गर्नुभन्दा पनि आफूलाई मनलाग्दी काम मात्रै गर्नुभयो’ नेता गजुरेलले भन्नुभयो, ‘माओवादीका मन्त्रीले राम्रो काम गर्न थाल्दा त उहाँलाई असैह्य हुन्थ्यो, त्यसैले उहाँसँग काम गर्दा दाँतबाट पसिना आयो ।’ प्रधानमन्त्री ओलीले कुनै मापदण्डका आधारमा भन्दा पनि जे मन लाग्यो त्यै मात्रै काम गरेको उहाँको आरोप छ ।
किसानलाई पेन्सन दिँदा आफू र माओवादी चर्चित हुने डरले प्रधानमन्त्रीले बजेट भाषणको मुखैमा योजना विफल पारेको गजुरेलले आरोप लगाउनुभयो । प्रधानमन्त्रीको अटेरीपनले आफू ठूलो लोकप्रियताबाट बञ्चित हुनुपरेको उहाँको गुनासो छ ।
‘शहिद तथा बेपत्ता परिवारलाई दिने १० लाख मध्य बाँकी ५ लाख रुपैयाँ निकासामा पनि प्रधानमन्त्रीले अड्को थाप्नुभयो’ गजुरेलले भन्नुभयो, ‘माओवादीलाई फाइदा हुने र माओवादीको इमेज बढ्ने कुरामा प्रधानमन्त्रीले कहिल्यै पनि सकारात्मक हुनुभएन ।’
उहाँ फरासिलो मान्छे हो : टोप बहादुर रायमाझी
उपप्रधानमन्त्री तथा उर्जामन्त्रीको कार्यभार सम्हालेर माओवादीको तर्फबाट नेतृत्व गर्दै सरकारमा गएका टोप बहादुर रायमाझी भने सरकारमा बस्दा नराम्रो केही नभएको बताउनुहुन्छ ।
‘मलाई ब्यक्तिगत रुपमा खासै प्रेसर फिल भएन र काममा अवरोध पनि भएन’ रायमाझीले भन्नुभयो, ‘मन्त्रीपरिषद्को बैठकमा पनि कुरा खुलेर राखिन्थ्यो कसैले खासै केही नराम्रो भनेन ।’ कुरा गर्दा फरासिलो र हँसाउने व्यवहार भएको उहाँसँगको संगत ठिकै रहेको अनुभव छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...