-->
‘ओलीले जानी–जानी देशका पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको अपमान गरे’ पूर्व राष्ट्र प्रमुखको अपमान देशकै बेईज्जतीः महतो

काठमाडौं, १५ जेठ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गणतन्त्र दिवसको सरकारी समारोहमा देशका पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई सरकारले बेवास्ता गरेको घटनाले देशकै बेईज्जती भएको आरोप लगाउनु भएको छ ।
सैनिक मंचमा आयोजित समारोहमा पुगेका पूर्व उपराष्ट्रपति परमानन्द झाले सरकारले आफूलाई समारोहमा बोलाएर बस्न समेतको व्यवस्था नगरेको र आफूलाई अपमानित गरेको भन्दै समारोहबाट फर्किनु भएको थियो ।
यस घटनालाई अत्यन्त निन्दनीय भन्दै राजेन्द्र महतोले ओली सरकारले जानी जानी देशका पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको अपमान गरेको आरोप लगाउनुभयो । शनिबार पत्रकारहरुसँग आफ्नै निवासमा कुरा गर्दै उनले गणतन्त्र दिवसको अवसरमा देशका पूर्व राष्ट्र प्रमुखको अपमानले अन्तर्राष्ट्रिय जगतमै नेपालको बेईज्जती भएकोमा दुःख व्यक्त गरे ।
राजेन्द्र महतोले आजको घटनाले वर्तमान सरकारको मधेश विरोधी चरित्र उदांगो भएको बताउनुभयो । ‘प्रधानमन्त्री ओलीले मधेश आन्दोलनको कुनै तुक नभएको बयान बारम्बार दिने गरेका छन्, तर सरकारको आजको यस घटनाले मधेशीले आफ्नो पहिचान, सम्मान र अधिकारको लागि अझै सशक्त आन्दोलन गर्नुपर्ने कुरा प्रष्ट भयो ।’
सरकारले किन यस्तो गरे होला त भन्ने जिज्ञासामा महतोले भने ‘मधेश आन्दोलन प्रति सौहार्द राख्ने, आन्दोलनलाई जायज ठान्ने र सरकार माथि वार्ता र संवादको माध्यमले समस्या हल गर्न बारम्बार सुझाव दिएकै कारण सरकारले षडयन्त्रपूर्वक तरीकाले अपमान गरेको छ ।’
महतोले एक मधेशी भएकै कारण पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपतिलाई समारोहमा निम्तो गरेर बस्ने समेत व्यवस्था नगरेको आरोप लगाउनुभयो । उनले भने ‘मधेशी भनेर अपमान गरियो तर यो देशकै बेईज्जती भयो ।’
‘उहां दुबै जना यस देशका सम्मानित व्यक्ति थिए’ महतोले भने ‘उहांहरूको अपनान गर्नु भनेको देशको अपमान गर्नु सरह हो ।’
सदभावना अध्यक्ष महतोले गणतन्त्र दिवस समारोहमा विदेशी कूटनीतिकहरू र अन्तरराष्ट्रिय समुदायको सामने पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको मधेशी भएकै कारण अपनान भएपछि ओली सरकारको मधेश प्रतिको मानसिकता, सोच र व्यवहार सबै उजागर भएको बताउनुभयो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.