-->
सहिदको सपना र जनताको आकाङ्क्षा पूरा गर्न सबै माओवादी एकजुट हुनुपर्छ - बादल

पोखरा, १३ जेठ-नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादलले सहिदको सपना तथा देश र जनताका आकांक्षा पूरा गर्न सबै विभाजित माओवादी एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
कृष्ण सेन इच्छुकको १४ औँ स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार सङ्घ कास्कीद्वारा सञ्चालित २५ हजार राशिको थमन–महेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार गोमा घिमिरेलाई बिहीबार वितरण गर्दै उनले माओवादी धेरै टुक्रामा विभाजित हुँदा सहिदका सपना पूरा गर्न नसकिएको धारणा राखे ।
विभाजित माओवादीका घटक केही दिनअघि एकीकृत भएर नेकपा माओवादी केन्द्र पार्टी बनेको स्मरण गराउँदै वरिष्ठ नेता बादलले एकीकृत अभियानले पूर्णता नपाएसम्म यो अभियान जारी रहने बताए ।
उनले राष्ट्रिय सहमति कायम गरेर आर्थिक समृद्धितर्फ अघि बढ्न सबै राजनीतिक दल एक ढिक्का हुनुपर्ने विचार व्यक्त गरे ।
उनले नयाँ संविधानले जनतालाई अझै पनि पूर्ण अधिकार नदिएको र पूर्ण अधिकार प्राप्तिका लागि सबै क्रियाशीलताको खाँचो रहेको बताए ।
सङ्घका अध्यक्ष दीपक परियारको अध्यक्षतामा भएको सो कार्यक्रममा रासस सञ्चालक समितिका पूर्व अध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक कोमलनाथ बरालले स्व थमन परियार र महेश दाहालको जीवनीमाथि प्रकाश पारेका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.