-->
ख्याल गर्नुस ! अब ट्राफिक जरिवाना ५ सयबाट १५ सयसम्म

गुल्मी, २३ वैशाख । ट्राफिक नियम कडाईका नाममा सरकारले जरीवाना रकम अस्वाभाविक ढंगले बढाएको छ ।
नयाँ ऐनअनुसार न्यूनतम जरीवाना २५ रुपैयाँबाट बढाएर ५ सय पुगेको छ । सरकारले अब ट्राफिक नियम उल्ङंघन गर्नेबाट दह्रो राजश्व असुल्सने गरी नयाँ ऐन ल्याएको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा पच्चीस रुपैयाँ देखि २ सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था थियो । पहिलेको कानुनमा २५ रुपैयाँबाट जरीवाना सुरु हुन्थ्यो भने पचास, सय, दुई सय हुँदै सबैभन्दा बढी १ हजार रुपैयाँ सम्म असुल गर्न सकिने व्यावस्था रहेको थियो ।
नयाँ व्यवस्थामा तीन प्रकारका मात्रै जरिवानाहरु रहेका छन् । जसअनुसार न्युनतम ५ सय रुपैयाँ देखि १५ सयसम्म कायम गरिएको जिल्ला ट्राफिक प्रमुख प्रेम श्रेष्टले जानकारी दिए । न्यूनतम जरीवाना हुने कसुर पनि दोस्रो र तेस्रोपटक दोर्होयाए, क्रमश १ हजार र १५ सय रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने नयाँ कानुनमा व्यावस्था भएको उनले बताए । यसभन्दा अघि सवारी साधनमा तोकिएकोभन्दा बढी मालसामान राखेमा, हेलमेट नलगाई मोटरसाइकल चलाएमा, छतमा यात्रु बोकेमा २५ रुपैयाँ जरिवाना हुन्थ्यो ।
तर अब बढेर ५०० रुपैंया पुगेको छ । पहिलेको कानुनमा लाइसेन्सविना सवारीसाधन चलाएमा २०० सय रुपैयाँ जरिवाना हुने व्यवस्था भएकोमा अब १ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । मापसे गरेर सवारी चलाउनेको जरिवाना भने पुरानै अर्थात १ हजार नै कायम राखिएको प्रहरी जवान रण बहादुर सेनले जानकारी दिए ।
१५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने कसुरहरुमा ट्राफिक इशारा वा संकेत पालना नगर्दा, एकतर्फी बाट सवारी चलाउँदा, मोड्न निषेध गरेको ठाउँबाट मोड्दा १५ सय जरिवाना तिर्नुपर्ने हुन्छ । यदि कुनै सार्वजनिक सवारी साधनले यात्रु बोक्न नमाने वा तोकिएको भन्दा बढी भाडामा लिएमा पनि १५ सय जरिवाना तिर्नु पर्ने सेनले बताए । अवस्था ठीक नभएको सवारी चलाएमा, निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको पाइएमा पनि १५ सय तिर्नुपर्ने छ । त्यस्तै राती बत्ती नबाली सवारी चलाएमा, सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको पाइएमा, नम्बर प्लेट नराखी सवारी चलाएमा, सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएमा पनि पन्ध्र सय सवारी जरीवाना हुने नयाँ व्यावस्था छ ।
पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएमा, निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएमा र बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको पाएमा ट्राफिक प्रहरीले १५ सय जरिवाना तिराउन सक्ने छ । त्यस्तै एक हजार जरिवाना हुने कसुरहरुमा सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएमा, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा, दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुर्याएको वा सम्पर्कमा नआएमा, मादक पदार्थ सेवन गरी सवारी चलाएमा, सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा लगायतका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यसैबिच तोकिएको भन्दा बढी मालसामान राखेमा, सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएमा, सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेमा, प्रयोजन बिपरीत सवारी चलाएमा, हेलमेट नलगाएमा, सवारी आवागमनमा बाधा पुर्याएमा, अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेमा र छतमा यात्रु बोकेको वा राखेको पाइएमा पाँच सय जरिवाना गरिने कार्यालयले जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.