काठमाडौं, २९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकार संकटमा नरहेको र संविधान कार्यान्वयनमा लागि परेको जानकारी दिए ।
मुलुकको पछिल्लो अवस्थाका बारेमा जानकारी दिन बुधबार विभिन्न देशका राजदूत तथा दातृ निकायका प्रतिनिधिसँगको भएको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले सरकार अहिले संविधान कार्यान्वन गर्ने केन्द्रीत रहेको जानकारी गराए ।
कूटनीतिक नियोगका प्रतिनिधिहरुले अहिले देखिएका राजनीतिक समस्याका बारेमा जिज्ञासा राखेपछि प्रधानमन्त्री ओलीले अस्थिरता र अन्यौलता हटाउन सरकार लागि परेको बताए । साथै हालै सरकारले ल्याएको नीति तथा कार्यक्रम पनि जनताको हितमा रहेको उनको दावी छ ।
नेपालको बस्तुगत स्थिति र संवेदनशीलतालाई बुझिदिन आग्रह गरेका प्रधानमन्त्री ओलीले मधेस केन्द्रित दललगायतका असन्तुष्ट पक्षलाई सरकारले वार्तामा बोलाएको र उनीहरुको जायज माग मात्र सम्बोधन गर्ने प्रष्ट पारे । कुटनीतिज्ञहरुसँग भूकम्पपछिको पुनर्निर्माण सोचेजसरी अघि बढ्न नसकेको स्वीकार्दै अब सरकार एजेन्डाका साथ अघि बढ्ने बताएका उनले नेपालको आर्थिक विकासमा सहयोग गर्न आग्रह पनि गरे ।
प्रमुख विपक्षी दल कांग्रेसले ओली सरकारलाई ‘म्यादी’को सज्ञा दिएका बेला प्रधानमन्त्री ओलीले प्रजातन्त्रमा सबै सरकार म्यादी हुने बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...