हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको गिरान्चौर एकिकृत बस्ती निर्माणको काम सुरु गरेका छन् । भूकम्प गएको एक वर्ष पुगेकै दिन शिल्यान्यास गरिएको उक्त बस्ती निर्माणको काम उनीहरुले आजबाट सुरु गरेका हुन् । वैशाख २९ गतेको पराकम्पले पनि ठूलो क्षति गरेकाले सोहि दिनको सम्झनामा दोश्रो एकिकृत बस्ती निर्माण कार्य सुरु गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पिडितलाई दशैँसम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको फाउण्डेशनका अध्यक्ष एवं हाँस्य कलाकार सिताराम कट्टेलले बताएका छन् ।
यस अघि काभ्रेमा निर्माण गरिएको एकिकृत पहरी बस्ती धुर्मुस सुन्तलीले साढे दुई महिनामा नै पिडितलाई हस्तान्तरण गर्न सफल भएका थिए । सबैको साथ र सहयोग भएमा लडेको गिरान्चौर दशैँ सम्ममा सुन्दर एकिकृत बस्ती बन्ने उनको भनाई छ । पहिलो एकिकृत बस्ती निर्माण गर्दा धेरैको सहयोग पाएकाले अर्को बस्ती बसाउने अठोट गरेको भन्दै उनले देश निर्माणको अभियानमा हातेमालो गर्न सबैसँग आग्रह गरेका छन् । लडेको बस्ती उडाउने अभियानको नेतृत्व मात्र गरेका हौँ, सहयोगी हातहरुको दह्रो साथ मिलेमा समयमै गिरान्चौर एकिकृत बस्ती निर्माण सम्पन्न हुने उनको विश्वास छ । पहिलेको भन्दा ३ गुणा ठूलो बस्ती निर्माण गर्न लागिएकाले फाउण्डेशनलाई आर्थिकसँगै घर निर्माणको लागि सिमेन्ट, रड, गिट्टी, बालुवा, जस्तालगायतका जिन्सी समानको पनि उत्तिकै आवश्यकता रहेको धुर्मुसले बताएका छन् । आफुहरुले बस्तीमा ढुंगा बोक्नुका साथै सावेल, बेल्चा बोकेर गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटीसकेकाले देश विदेशमा रहेका नेपाली र नेपालीलाई माया गर्ने दाताहरु समक्ष उनीहरुले सहयोगको अपिल गरेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...