नयाँ दिल्ली- भारतीय टोलीका निर्देशक रवि शास्त्रीको सम्झौता सकिएको जनाउँदै भारतीय क्रिकेटको सर्वोच्च निकाय (बिसिसिआई) का सचिव अरुण ठाकुरले क्रिकेट सल्लाहकार कमिटी (सिएसी) ले चाहेमा नवीकरण हुन सक्ने बताएका छन्।
सचिन तेन्दुलकर, भिभिएस लक्ष्मण र सौरभ गांगुलीसम्मिलित सिएसीले ट्वान्टी–२० विश्वकपपछि सम्झौता सकिएका शास्त्रीको सम्झौता नवीकरणबारे निर्णय लिनेछन्। तर, ठाकुरले उनलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिनका लागि टोलीबाट टिम निर्देशकको पद भने हटाउनुपर्ने सर्त रहेको जानकारी गराए।
२०१५ को जुनमा क्रिकेटसम्बन्धी सबैखाले महŒवपूर्ण निर्णय गर्न बिसिसिआईले सिएसी गठन गरेको थियो। नयाँ प्रशिक्षक नियुक्ति गर्ने वा शास्त्रीलाई नै निरन्तरता दिने विषयमा निर्णय गर्न कमिटीको बैठक विश्वकपपछि बस्ने बताइएको छ।
'रवि शास्त्रीको सम्झौतावधि सकिएको छ। हामी नयाँ मुख्य प्रशिक्षकको खोजीमा छौं र यसको निर्णय सिएसीले गर्नेछ। अब टोलीमा निर्देशक हुने छैन, एकजना पूर्णकालीन प्रशिक्षकले नेतृत्व लिनेछन्। शास्त्रीकै सम्झौता नवीकरण भए पनि अब टोलीमा प्रशिक्षक र निर्देशकका नाममा दुई पद हुने छैन,' ठाकुरले शनिबार भनेका छन्, 'अब टोलीमा प्रशिक्षकमात्र हुन्छन् र त्यसका लागि सम्भावित नामको मनोनयन गर्न सिएसीलाई अनुरोध गरिइसकेको छ। सिएसीको बवैठक अप्रिल ३ मा बस्ने सम्भावना छ वा आइपिएल सुरु हुनुभन्दा अघि पनि बवैठक बसेर नयाँ प्रशिक्षकबारेमा निर्णय हुन सक्छ।'
शास्त्रीले २०१४ मा निर्देशकका रूपमा भारतीय टोलीको नेतृत्व लिएका थिए। उनकै नेतृत्वमा भारतले पछिल्ला दुई वर्षमा सफलतापूर्वक अन्तर्राष्ट्रिय क्रिकेट परिषदका दुई मुख्य प्रतियोगिताको सेमिफाइनलयात्रा गरेको छ। गतवर्ष न्युजिल्यान्ड र अस्ट्रेलियामा सम्पन्न एकदिवसीय विश्वकपको सेमिफाइनल पुगेको भारत घरेलु मैदानमा जारी ट्वान्टी–२० विश्वकपमा पनि अन्तिम चार पुगेको थियो। बिहीबार वेस्ट इन्डिजसँग पराजित भएपछि महेन्द्रसिंह धोनीको टोली फाइनल खेल्नबाट वञ्चित भएको हो। शास्त्रीकै नेतृत्वमा भारत आठ हप्ताका लागि विश्व टेस्ट वरियताको पनि शीर्ष स्थानमा पुगेको थियो। फेब्रुअरीमा अस्ट्रेलियाले शीर्ष स्थानमा पुनरागमन जनाउनुअघि पाँचदिने स्वरुपको खेलमा भारत पहिलो स्थानमा थियो। यही समयमा भारतले अस्ट्रेलियामा पहिलो सीमित ओभरको शृंखला जित्ने क्रममा आयोजकमाथि तीन खेलको ट्वान्टी–२० शृंखला ३–० ले कब्जा गरेको थियो।


0 comments
प्रतिक्रिया दिनुहोस्...