काठमाडौं — सेतो हाफ बाहुले भेस्ट । सेतै हाफ पाइन्ट । गुलावी रङको सडक बढार्ने लामो कुची । एउटा हरियो रङको झोलामा आवश्यकीय सरसामान । सफा गर्दै जाँदा जहाँ रात पर्छ, त्यहीँ बास बस्ने मान्यता । त्यहाँकाले जे खान दिन्छन्, त्यही खान्छिन् । एक ठाउँबाट अर्को ठाउँ जाँदा उनको कुरा सुनेर कतिपय सवारीसाधनले भाडा लिँदैनन् भने कतिपय अवस्थामा अरूले नै तिरिदिन्छन् । कतिपय अवस्थामा आफैं बेहोर्छिन् ।
काठमाडौं कीर्तिपुरकी ४० वर्षीया सुशीला महर्जन नौ वर्षअघिसम्म चुलाचौकामै सीमित थिइन् । घर, छोराछोरी, श्रीमान् र सासूससुराको सेवामै दिन बित्थ्यो । उनै महर्जन हिजोआज विश्व सरसफाइ अभियानमा जुटेकी छन् । २०७० असोज १९ देखि घरपरिवार र गृहस्थी त्यागेर सरसफाइ अभियानमा महर्जन भन्छिन्, ‘बाँकी जीवन सरसफाइमा लगाउनेछु ।’
२०६७ सालमा कीर्तिपुर महोत्सव हुने भएपछि स्थानीय पाँच हजार, पाँच सय महिलाले ४० वर्ष पुरानो डम्पिङ साइट एक घन्टामा सफा गरेका थिए । सरसफाइमा उनको सक्रियता देखेर छिमेकीले सराहना गरे । त्यही प्रशंसाले नै उनलाई सरसफाइमा केही गरौं भन्ने भावना जागेको उनी सुनाउँछिन् ।
छिमेकीको कुरा सुन्दै जाँदा र हिजो फोहोरको डंगुर भएको ठाउँमा सफा गरेपछि देखिएको दृश्यले उनलाई एक्कासि लाग्यो, ‘सिंगो संसार सफा भए कति रमाइलो देखिन्थ्यो होला । यसरी आफैंभित्र भएको, देश र विश्वकै फोहोर सफा गर्ने विचारपछि सरसफाइ गर्ने अभियानमा होमिएकी हुँ ।’
उनीसँगै सोही अभियानमा छन्– ५१ वर्षीय राजमान मानव । उनीहरूले अहिले मुलुकका विभिन्न ठाउँ सफा गर्दै हिँडेका छन् । सिंगो मुलुकलाई फोहोरमुक्त पार्ने अठोट गर्दै देशभरिका ६५ नगरपालिकामा पुगेर सरसफाइ गरिसकेको महर्जनले सुनाइन् । महर्जन र मानवले लगाएको सेतो टी–सर्टको अग्रभागमा लेखिएको छ– ‘मैले नगरे कसले गर्छ ।’ टी–सर्टको पछाडि भागमा अंग्रेजी अक्षर ‘आई’ अंकित छ ।
मानव सिर्जित फोहोर मानिस स्वयम्ले व्यवस्थापन नगर्दा नै मुलुकका मुख्य सहरमा फोहोर व्यवस्थापन चुनौती बन्दै गएको महर्जनको तर्क छ । जबसम्म मानिसले आफैं आफ्नो फोहोर व्यवस्थापन गर्नुपर्छ भनेर सोच्दैनन्, तबसम्म सम्बन्धित नगरपालिकाले मात्र सरसफाइ गर्न नसक्ने उनी दाबी गर्छिन् । काठमाडौंमा मात्र होइन, देशका सबैजसो सहरको मुख्य चुनौती बन्दै गइरहेको फोहोर व्यवस्थापनमा आफ्नो सिंगो जीवन लगाउन पाउँदा उनले आफूले आफैंलाई धन्य मानेकी छन् ।
कीर्तिपुरपछि टोखा, ठिमी, भक्तपुर, ललितपुरलगायत उपत्यकाका केही ठाउँमा उनीहरूले सरसफाइ अभियान चलाए । यसैगरी, इलाम, दमक, इटहरी, धरान, विराटनगर, जनकपुर, हेटौंडा, नारायणगढ, धनगढी, महेन्द्रनगर, नेपालगन्ज, दाङ र बुटवल गरी दर्जनौं सहरमा हजारौं मानिस परिचालन गरेर नगर सफा गर्ने उनीहरूको अभियान जारी छ ।
महर्जन सरसफाइ अभियानमा लागेको साढे पाँच वर्षसम्म घरमै रहेर कामलाई निरन्तरता दिइन् तर यसरीमात्र पुग्दैन भन्ने लागेपछि साढे दुई वर्षअघिदेखि घरपरिवार छाडेर पूर्णकालीन अभियानकर्ता बनेर सरसफाइमा लागिरहेकी छन् ।
सुरु–सुरुमा सराहना गरेर उनलाई यो अभियानमा लाग्न सहयोग गरेका उनका श्रीमान् विकास महर्जन हिजोआज उनीसँग चिढिन थालेका छन् । बेलाबेला सम्बन्धविच्छेदसम्मको कुरा चल्छ । जब सुशीलाले घरमा धेरै समय दिन नसक्ने भइन् तब श्रीमान् उनीसँग त्यति खुसी छैनन् । ‘तर पनि निराश छैन,’ उनले विश्वास व्यक्त गरिन्, ‘अहिले कुरा नबुझे पनि पछि बुझ्लान् । किनकि म गलत बाटोमा लागेको होइन । मैले जे गरिरहेकी छु, सही गरिरहेकी छु ।’
घरबाहिर जति बसे पनि पुरुषको आलोचना हँुदैन तर महिला आठ बजे घरको ढोकाभित्र नपसे कुरा काट्न थाल्ने नेपाली समाजका कारण धेरै महिला घरभित्रै खुम्चिन बाध्य रहेको महर्जनको बुझाइ छ । धेरै संघर्षपछि नेपाल सफा गर्ने अभियानमा घरबाहिर निस्केको सुनाउँदै उनी थप्छन्, ‘घरपरिवारबाट त मलाई छोराछोरीले मात्र सहयोग गरिरहेका छन् । तर, यो अभियानमा देशवासीको साथ र सहयोगले हिँडिरहेकी छु ।’
महिलाले फरक प्रकृतिका काम गर्न चाहन्छन् भने उनलाई घरपरिवार र समाजले साथ दिनुपर्ने उनी बताउँछिन् । बाँचुन्जेल नेपालमात्रै होइन, विश्व सफा गर्ने प्रण गरेकी महर्जन सुनाउँछिन्, ‘म यो धर्तीलाई सफा गर्दागर्दै नै मर्न चाहन्छु ।’
२०११ जनवरी २२ देखि सुरु उनको विश्व सरसफाइ अभियानपछाडि धेरैले काठमाडौं तथा बागमती सफा गर्ने अभियान चलाएका छन् । यसले उनलाई खुसी लागेको छ । आफ्नो अभियान सुरु गरेको दिन अर्थात् जनवरी २२ लाई वातावरण दिवसका रूपमा घोषणा गर्नका लागि सरकारसमक्ष प्रस्ताव गर्ने सोच राखेको बताइन् ।
आगामी तीन वर्षमा नेपाललाई फोहोररहित बनाउने उनको लक्ष्य छ । त्यसलाई सार्थक बनाउन २०१७ जनवरी २२ अर्थात् २०७३ माघ ८ गते १० लाख मानिस परिचालन गरेर एक घन्टामा काठमाडौं सफा गर्ने कार्यक्रम रहेको उनले जानकारी दिइन् । सफा गर्नेभन्दा पनि फोहोर नै नगरौं भन्ने उनको मान्यता छ । आफूबाट सिर्जित फोहोर आफैं निश्चित ठाउँमा राख्न उनले सबैलाई आग्रह गरिन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...