७० वर्षीयाको मुख फुट्यो, ६ जना बढी घाइते
गोरखाः आफ्नो सिन्डिकेट तोड्दै गाडी चलाएको झोंकमा यातायात व्यवसायी समिति गोरखाका पदाधिकारीले गुडिरेहको बसमा ढुंगामुढा बर्साएका छन् ।
करिब ३२ जना यात्रु लिएर बुधबार बिहान आरुघाटबाट गोरखा सदरमुका आउँदै गरेको आरुघाट यातायात प्रालिको गाडीमा ढुंगामुढा र घरेलु हतियारले आक्रमण गरिँदा एक ७० वर्षीया वृद्धासहित आधा दर्जन घाइते भएका छन् ।
प्रशासनको आडमा आफ्नो सिन्डिकेट तोडेको भन्दै घरेलु हतियार खुकुरी, खुँडा र गलसहित आएका समितिका पदाधिकारी र सदस्यहरुले गोरखा नपा–१५ फिनाममा ना५ख७२११ को यात्रु बसमा धावा बोलेका थिए ।
गुडिरहेकै बसमा ढुंगामुढासहित चारैतिरबाट आक्रमण गरिँदा बसमा सवार ७० वर्षीया बुद्धलक्ष्मी श्रेष्ठ गम्भीर घाइते भएकी छन् । बसमा सवार उनको मुखमा बाहिरबाट हानेको ढुंगाले लागेको थियो ।
उनको अहिले गम्भीर अवस्थामा गोरखा अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी यात्रु मिना गुरुङ र प्रहरी जवानसहित अन्य पनि घाइते भएका इलाका प्रहरी कार्यालय आरुघाटका ईन्चार्ज प्रहरी निरीक्षक रविराज थपलियाले बताए ।
सरकारले समितिको नाममा यातायात चलाइनुलाई अवैध घोषित गर्दै प्रालिमार्फत यातायात चलाउने नीति ल्याएपछि गोरखामा आरुघाट यातायात प्रालि दर्ता भएको थियो ।
आरुघाट यातायात प्रालिको बु आरुघाटबाट यात्रु लिएर बुधबार गोरखा सदरमुकामका लागि छुटेको थियो । जसलाई करिब ५० प्रहरी र प्रालिसम्बद्ध यातायात व्यवसायीले पनि सुरक्षा दिएका थिए ।
समितिका पदाधिकारीले ढुंगा, रड र गल प्रयोग गरेर आरुघाट यातायात प्रालिका पदाधिकारी सवार बा ६० प ५१५६, ग६प ७६५६, बा७० प ६९०२, बा५५प ८१०५ नम्बरको मोटरासइकल पनि तोडफोड गरेका छन् ।
प्रहरीले दुईजनाई बसमा तोडफोड गर्दागर्दै पक्राउ गर्न सफल भएको छ । खुकुरी र खुँडासहित पक्राउ पर्नेमा दिनेश तमुसहित दुईजना रहेका छन् ।
प्रहरीले बस तोडफोड भएको स्थानबाट बस जलाउन ल्याइएको साढे दुई लिटर पेट्रोल बरामद, दुई दर्जन गल र रड बरामद गरेको छ ।
‘यात्रुसहितको बसलाई मैले हाँकिरहेको थिएँ । अगाडिबाट र बाटोमाथिबाट पनि अन्धाधुन्दा आक्रमण गरे’, बसका चालक रामबहादुर रोकाले भने, ‘बसमा मात्रै होइन यात्रुमाथि पनि ढुंगा बर्साए ।’
यो आक्रमणको नेतृत्व यातायात व्यवसायी समितिका अध्यक्षसमेत रहेका सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव रामहरि केसी र समितिका महासचिव तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोरखाका सदस्य सुरेन्द्र कुवँरले गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...