योजना बनाएर ल्याएका उपभोक्ताहरुलाई बजेट छैन भन्दै टार्दै आएका जिल्ला विकास समिति धनुषाले चैत मशान्त सम्ममा विकास भन्दा तलब भत्तामा बढि बजेट खर्च गरेको पाईएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाको प्रतिवेदन अनुसार जिविसमा विकास भन्दा बढि तलब भत्तामा खर्च भएको छ ।
आर्थिक वर्ष २०७२÷७३ का लागि सार्वजनिक भएको बजेट ९ महिना वितिसक्दा समेत जिविस धनुषाले लक्ष्य अनुरुपको विकास बजेट खर्च गर्न सकेको छैन् । लक्ष्य अनुरुप विकास बजेट खर्च गर्न नसेको जिविस धनुषाले भने तलब भत्ता तर्फ ५१ दशमलव ३२ प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाले जनाएको छ । उपभोक्ताहरुलाई योजना अनुसारको बजेट नरहेको भन्दै विकास प्रति जिल्ला विकास समिति गम्भीर नदेखिएको सरोकारवालाहरुले बताएका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाको तथ्याँक अनुसार जिविस धनुषाले पूँजीगत तर्फ कुल बजेट मध्ये चैत सम्ममा ४६ दशमलव ९६ प्रतिशत मात्र खर्च गरेको छ ।
जिविसको चालुगत तर्फ १ अर्व २५ करोड २२ लाख ७१ हजार मध्ये ६७ करोड ७२ लाख ५३ हजार र पूँजीगत तर्फ २ करोड १६ लाख ३० हजार मध्ये १ करोड १ लाख ५७ हजार खर्च गरेको छ । जिल्लामा खर्च गर्ने प्रवितृका कारण विकास बजेट भन्दा तलब भत्तामा बढि खर्च देखिएको कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाका प्रमुख कोष तथा लेखा नियन्त्रण डा.वीरेन्द्र कुमार मिश्रको भनाई छ ।
मधेस आन्दोलनका कारण विकास निर्माणले तीव्रता पाउन नसकेको धनुषाका स्थानीय विकास अधिकारी रामकृष्ण उप्रेतीले जिकिर छ । यसै कारणले जिविसमा पूँजीगत भन्दा बढी चालुगत बजेट खर्च भएको उप्रेतीको भनाई छ ।
जिविस धनुषा र जिल्ला प्राविधिक कार्यालय बीचको सम्बन्ध चिसो रहनुले पनि समग्र जिल्लाको विकासे गतिविधिमा प्रभाव पारेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...