-->
कारागारमै हजारौ कमाउँछन् कैदी

(मकवानपुर): भीमफेदीस्थित क्षेत्रीय कारागारमा कर्तव्य ज्यान मुद्दाको कैद सजाय भोगिरहेका सिन्धुपाल्चोकका ४४ वर्षीय बलराम लामाको परिवारले उनलाई भेट्न आउँदा खाली हात फर्कनुपरेको छैन।
परिवारसँगै रहँदा उनलाई विदेश जान ठूलो दबाब थियो। अहिले कारागारभित्रकै कार्पेट उद्योगमा काम गरेर मासिक १०÷१२ हजार रुपैयाँ परिवारलाई पठाउन पाउँदा लामा त खुसी छन् नै, उनको परिवार पनि दंग छ।
'कैद भुक्तान गरेपछि पनि सानो कार्पेट उद्योग खोलेर काम गर्ने योजना बनाएको छु', उनले भने, 'कारागार मेरा लागि जीवनको भोगाइसँगै जीवन सुधार्ने राम्रो माध्यम बन्यो।'बाहिरबाट हेर्दा अस्तव्यस्त देखिने भीमफेदी कारागारभित्र पस्दा जोकोही झुकिन्छन्, कारागार हो कि कारखाना ? कोही कार्पेट बुनिरहेका छन्, कोही मुढा बनाइरहेका।
कैदीबन्दी भेट्न जानेको अनुमान हुन्छ, उनीहरू कष्टकर दैनिकी बिताइरहेका होलान् । तर भेट्न आएका आफन्तलाई समय दिने फुर्सद पनि हुँदैन, उनीहरूसँग। बिहानदेखि बेलुकासम्म कैदीबन्दीहरू काममा व्यस्त हुन्छन्। कारागारभित्रै कार्पेट उद्योग खुलेपछि कैदीबन्दीको दैनिकी थप व्यस्त बनेको छ।
मकवानपुर मनहरी-३ का गोविन्द गिरी कारागारभित्रै कार्पेट बनाउँछन्। लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका उनी कारागारबाहिर रहँदा खसीबोका व्यापार गर्थे । 'कारागारमा सुरुका दिनमा समय काट्नै गाह्रो हुन्थ्यो, के गर्ने कसो गर्ने चिन्ताले सताइरहन्थ्यो', उनले भने, 'कैद मुक्त भएपछि विदेश जाने योजना थियो, तर अब यही पेसालाई निरन्तरता दिन्छु।'
कार्पेट उद्योगमा एक सिफ्टमा ४० जनाले कार्पेट बुन्ने काम गर्छन् । उनीहरूले बुनेको कार्पेट चीन, अमेरिका, बेलायतलगायतका देशमा महँगो मूल्यमा निर्यात हुने गरेको कारागारका चौकीदार लक्ष्मण पौडेलले बताए।
कारागारभित्र तत्कालीन राणा प्रधामन्त्री चन्द्रशमशेरले बनाएको पौडीपोखरीमा कार्पेट उद्योग सञ्चालन गरिएको छ। कारागार प्रशासनको सहयोगमा एक वर्षअघि कार्पेट उद्योग सुरु गरिएको हो । यहाँ उत्पादित कार्पेट काठमाडौंका व्यापारीले खरिद गर्ने कारागार प्रमुख चिरञ्जीवी थापाले जानकारी दिए।
'कार्पेट उत्पादनमा काठमाडौंका व्यापारीले लगानी गरेका छन्, कैदीबन्दीले ज्यालामात्र पाउने हो', उनले भने, 'राज्यले नै उद्योग खोलेर काममा लगाउन सके खेर गइरहेको श्रमबाट लाखौं रुपैयाँ आम्दानी गर्न सकिन्थ्यो।' राज्यको नीति नभएकाले कैदीबन्दीलाई अन्य काममा प्रयोग गर्न नसकिएको उनले बताए।
'कारागारकै भवन निर्माणमा पनि कैदीबन्दीलाई प्रयोग गर्न सकिन्थ्यो। अन्य देशमा यस्तो अभ्यास पनि छ', उनले भने, 'कारागारमै बसेर पनि कैदीबन्दीले राम्रो आम्दानी गरिरहेका छन् । यो हाम्रा लागि ठूलो उपलब्धि हो।'
कारागारभित्रै बाँसको मुढा बनाएर पनि कैदीबन्दीले राम्रो आम्दानी गरिरहेका छन्। यहाँका कैदीबन्दीले दैनिक ५० वटाभन्दा बढी मुढा उत्पादन गर्ने गरेको कारागारका मूलनाइके दिवाकर श्रेष्ठले बताए। तीन वर्षदेखि कारागारमा मुढा बनाउँदै आएका चितवनका लोकराज सुवेदी भन्छन्, 'काम गर्दा मानसिक तनाव पनि कम हुन्छ, कमाइ पनि राम्रै भएको छ।' मुढा बनाएर मासिक सात-आठ हजार रुपैयाँ आम्दानी गर्ने गरेको उनले बताए।
सरकारले कैदीबन्दीलाई दैनिक सात सय ग्राम चामल, ४५ रुपैयाँ पैसा, वार्षिक लगाउने कपडा र ओढ्ने ओछ्याउने दिन्छ। 'सरकारी सुविधाले खान पुग्छ, मुढाको कमाइ घरमा पठाउने गरेको छु', सुवेदीले भने।हाल कारागारमा ६ सय नौजना कैदीबन्दी छन् । यो संख्या कारागारको क्षमताभन्दा दोब्बर हो।
भीमफेदी कारागारभित्रको कार्पेट उद्योगमा एक सिफ्टमा ४० जना कैदी काम गर्छन् । उनीहरूले बुनेको कार्पेट चीन, अमेरिका, बेलायतलगायतका देशमा महँगो मूल्यमा निर्यात हुन्छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.