मोरङ / एक वर्षअघि मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं १२ का ३५ वर्षीय बाबुराम चौधरी बेरोजगार हुनुहुन्थ्यो । गरीखाने साधन केही थिएन ।
आजभन्दा एक वर्ष अगाडि गाउँका साथीहरुको सल्लाहमा रु दुई लाख २० हजार ऋण गरेर सिटी सफारी (ई–रिक्सा) किनेर चलाउन थाल्नुभयो । उहाँले सिटी सफारी चलाएर अहिले दैनिक रु एक हजार ५०० कमाउनुहुन्छ । उहाँले सिटी सफारी चलाएरै छजनाको परिवार धान्दै आउनुभएको छ ।
चारजना बालबच्चालाई समेत बोर्डिङ स्कुलमा पढाउँदै आउनुभएको छ । उहाँमात्र होइन मोरङ उर्लाबारीका ३२ वर्षीय पारस पौडेल पनि एक वर्ष पहिला चौधरी जस्तै बेरोजगार नै हुनु हुन्थ्यो । सामान्य परिवारका पौडेल आर्थिक अभावमा परिवारको कचकचले हैरान हुँदै आउनुभएको थियो । आर्थिक अभावले दिनहुँ घरमा हुने कलह र घरपरिवारको वैदेशिक रोजगारीमा जान आउने दबाब सहन नसकेर पौडेलले पनि एक वर्ष पहिला सिटी सफारी किन्नुभयो ।
सफारी किनेर चलाएपछि उहाँले दैनिक रु एक हजार ५०० देखि रु दुई हजारसम्म कमाउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “छोराछोरीको स्कुल खर्च पनि टार्न सहज भएको छ ।” केही समय यता वैदेशिक रोजगारीका सिलसिलामा खाडीका विभिन्न मुलुकबाट फर्केका पथरी शनिश्चरे नगरपालिकाका युवाको आकर्षणको केन्द्र बन्दै गइरहेको छ, सिटी सफारी ।
विदेश जान लाग्ने लागतकै हाराहारीमा खरिद गर्न सकिने, घरपरिवारसँग दुःख, सुख साट्दै आम्दानी गर्नुका साथै अरुको गुलामी बन्नु नपर्ने अनि स्वयम् मालिक बन्ने भएकाले विदेशको विकल्पको अर्को पाटो सिटी सफारी बनेको पाँच वर्ष वैदेशिक रोजगारीबाट फर्किनुभएका २५ वर्षीय हरि पौडेलको भनाइ छ ।
हरि पौडेल जस्तै वैदेशिक रोजगारी गरेर फर्किनुभएका अर्का ३२ वर्षीय युवा ज्ञानेन्द्र नेपाली करिब तीन वर्षको दुबइको बसाइँपश्चात् स्वदेश फर्किनुभयो । उहाँले पूर्वका विभिन्न ठाउँमा रोजगारीको खोजीमा करिब तीन वर्ष बिताउनुभयो । तर ज्ञानेन्द्रले सिटी सफारी सञ्चालन गरेर अहिले दैनिक रु एक हजार २०० सम्म कमाउने गरेका छन् ।
“विदेशको तातो घाममा अर्काको गाली खाएर कमाएभन्दा बढी रकम स्वदेशमा नै कमाइ गर्न सकिने ज्ञानेन्द्रको बुझाइ छ ।” । उहाँ भन्नुहुन्छ – “महँगो लागत तिरेर विदेश गयो न कामको टुङ्गो हुन्छ, न त कमाइकै सोही कारण पनि स्वदेशमै राम्रो कमाइ गर्ने एकमात्र भरपर्दाे माध्यम बनेको छ, ई–रिक्सा अर्थात् सिटी सफारी ।”
सहरको क्षमताभन्दा बढी रिक्सा सञ्चालनमा आउनुले सुरुका दिनमा भन्दा पछिल्ला केही समय आम्दानीमा कमी आएको र यसका लागि उचित व्यवस्थापन हुन जरुरी रहेको सिटी सफारी सञ्चालक समिति, मोरङका अध्यक्ष गोपाल भुजेल बताउनुहुन्छ ।
बढ्दो विद्युत्भार कटौती, सडकका कारण ब्याट्री चाँडै सकिने, खरिद गर्दा महँगो मूल्य तिर्नुपर्ने अध्यक्ष भुजेलको भनाइ छ । मोरङमा झन्डै चारदेखि पाँच हजार सिटी सफारी सञ्चालनमा रहेको सङ्घका अध्यक्ष भुजेल बताउनुहुन्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...