-->
भारतीय प्रहरीद्वारा नेपाली लुटिए

कञ्चनपुर, चैत २९ – गड्डाचौकी सीमानाका भएर घर फर्किने नेपाली भारतीय प्रहरी तथा सीमामा खटिएका कर्मचारीबाट लुटिएका छन् । रोजगारीका लागि भारत गएका नेपाली नयाँ वर्ष मनाउन घर फर्किने क्रममा यो वर्षपनि बनबासा पुलपारी भारतीय प्रहरी र कर्मचारीबा लुटिएका हुन् ।
अघिल्ला वर्ष जस्तै यो वर्षपनि आफूहरु लुटिएको भारतमा रोजगारी गरी फर्किनु भएका कैलालीको बलिया चुहाँ नगरपालिका–११ का रुद्र खत्रीले बताउनुभयो । बर्खे तथा हिउँदे बाली लगाएर खाली समयमा मजदुरी गर्न भारत जाने गरेका मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लाका नेपाली गड्डाचौकी नाका हुँदै नयाँ वर्ष मनाउने घर फर्कने गरेका छन् । तर यसरी फर्किने नेपाली हरेक वर्ष सीमाक्षेत्रमा विभिन्न अपराधीक समूह तथा भारतीय प्रहरी र कर्मचारीबाट लुटिने गरेका छन् । नेपाल भारतको पश्चिम सीमानामा रहेको बनबासा पुल पारी रहेका भारतीय प्रहरी तथा कर्मचारीले प्रत्येक नेपालीबाट १० रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म लिने गरेको कैलालीको बलिया चुहाँ नगरपालिका–११ का खर्कबहादुर विष्टको गुनासो छ । उहाँ पनि भारतमा मजदुरी गरेर नेपाल फर्किनु भएको हो ।
भारतबाट फर्कने नेपालीको यात्रा सहज बनाउन नेपाली र भारतीय प्रशासनबिच पटक पटक छलफल भएपनि व्यवहारमा भने लागु भएको छैन । भारतीय प्रहरी तथा कर्मचारीले घर फर्किने नेपालीलाई दुःख दिने गरेको गुनासो बेला बेलामा आउने गरेकाले त्यसबारे भारतीय पक्षसँग कुरा गरेपनि त्यसको सकारात्मक परिणाम नआएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी तुलसीप्रसाद अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार भारतीय पक्षले घटनाका दोषीलाई कारवाही गर्ने आश्वासन दिएपनि न त अहिलेसम्म त्यस्ता घटनामा कमि आएको छ, न त दोषीमाथि कारबाही नै भएको छ । भारतमा दुःख जिलो गरेर कमाएको पैसा पनि लुटिने गर्दा धेरै नेपाली मर्कामा परेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.