सरकारले १२ सय मेगावाट क्षमताको बहुप्रतीक्षित राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना अघि बढाउन प्रभावित क्षेत्रको जमिन बेचबिखनमा रोक तथा जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरेको छ।
आयोजनाका अध्यक्ष लक्ष्मी देवकोटाका अनुसार गोरखा र धादिङका आयोजना प्रभावित क्षेत्रको ५८ हजार एक सय ४२ रोपनी जमिन बेचबिखनमा रोक लगाइएको छ। दुवै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत जग्गा बेचबिखनमा रोक लगाउँदै अधिग्रहणको पहिलो प्रक्रिया सुरु गरिएको उनले बताए।
सालभित्र उत्पादन थाल्ने प्रक्षेपण गरेको यस बहुउद्देश्यीय आयोजनाको कुल लागत दुई खर्ब ६० अर्ब प्रक्षेपण गरिएको छ।
गोरखा जिल्लामा १२ हजार चार सय ८६ कित्ताको ३० हजार ७८ रोपनी जमिन बेच्न रोक लगाइएको छ। धादिङको ११ हजार नौ सय ९९ कित्ताको २८ हजार ६५ रोपनी जमिन बेच्न प्रतिबन्ध लगाइएको छ।
उनका अनुसार ४५ हजार ६ सय ११ जना प्रभावित हुने मेगा प्रोजेक्टको रुपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजनाले दुवै जिल्लाका गरी कुल तीन हजार पाँच सय ६० परिवार पूर्ण रुपले विस्थापित हुनेछन्। तीमध्ये गोरखाका एक हजार ६ सय ७२ परिवार छन् भने धादिङका एक हजार आठ सय ८८ परिवार पूर्णरुपले विस्थापित हुनेछन्। धादिङका दुई हजार चार सय आड परिवार आंशिक विस्थापित हुनेछन् भने गोरखाका दुई हजार एक सय ४९ परिवार आंशिक विस्थापित बन्नेछन्।
आयोजनाले कार्यालय र पावरहाउस निर्माणका लागि पनि थप केही जमिन अधिग्रहण गर्दैछ। कार्यालय निर्माणका लागि गोरखाको घ्याल्चोकमा १२ रोपनी जमिन अधिग्रहण हुनेछ भने पावर हाउस निर्माणका लागि धादिङको कल्लेरीमा चार सय आठ रोपनी जमिन अधिग्रहण गरिनेछ। त्यसको प्रक्रियासमेत अघि बढिसकेको देवकोटाले बताए।
यस्तै, जग्गा अधिग्रहणबापत आयोजनाले स्थानीयबासीलाई करिब ६१ अर्ब बराबरको मुआब्जा तिर्नुपर्ने देखिएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा मुआब्जाका लागि दुई अर्ब ९० करोड बजेट विनियोजन गरिसकेको छ भने आयोजनाले २९ अर्ब थप बजेट मागेको छ।ु
देवकोटाले चालु आर्थिक वर्षमा आधा मुआब्जा वितरण गर्ने योजना रहेको र त्यसका लागि २९ अर्ब रुपैयाँ मागेको बताए। असारदेखि मुआब्जा वितरण सुरु गर्ने योजना रहेको उनले जानकारी दिए।
सरकारले जारी गरेको ऊर्जा संकट निवारणकालमा जलाशययुक्त जलविद्युत आयोजनाहरु कम्पनी मोडलअन्तर्गत अघि बढाउने उल्लेख गरेको भए पनि हाल विकास समितिले नै काम गरिरहेकाले आयोजना निर्माण प्रक्रियामा समस्या आउन सक्ने देखिन्छ। -नागरीक दैनिक


0 comments
प्रतिक्रिया दिनुहोस्...