-->
मेरो स्वास्थ्य ‘गडगिफ्टेड’ : रेखा थापा

बाहिरबाट हेर्दा सुन्दरता फरक विषयजस्तो देखिए यसको सोझो सम्बन्ध स्वास्थ्यसँग हुन्छ । जब मानिस स्वस्थ हुन्छ त्यसपछि मात्रै सुन्दर देखिन्छ र मुस्कुराएर मीठो बोल्न सक्छ । आफ्ना कार्य कुशलतापूर्वक गर्न सक्छ । हामीलाई त जहिल्यै एकनास देखिनुपर्ने बाध्यता पनि छ । पर्दामा रोएको र रिसाएको दर्शकले पचाएपनि बाहिर ‘हिरोइनका अनुहारमा सदा चमक हुनुपर्छ’ भन्ने मान्यता राखिन्छ ।
स्वास्थ्य पहिलो धन हो भन्ने मलाई उहिल्यैदेखि थाहा छ । पहिले धेरै काम भएकाले एक्सरसाइजको त्यति आवश्यकता पर्थेन । एकपछि अर्काे फिल्ममा ब्यस्त हुन्थेँ, त्यसैले सधैँ ऊर्जावान् रहनुपथ्र्याे । अहिले छानेर मात्रै काम गर्ने भएकाले एक्सरसाइज जरुरी भएको छ । त्यसैले केही समयदेखि बिहान १ घन्टा इन्द्रेणी होटलमा रहेको जिम क्लबमा जिम गर्न थालेकी छु । वर्षमा एकपटक चेकअप गराइरहेकी हुन्छु ।
मेरो जीवनशैलीमा नियमितता कम, आकस्मिकता बढी छन् । चलचित्रको सुटिङ नै धेरै हुने समयमा म प्रायः ३/४ घन्टा मात्रै सुत्न पाउथेँ । उठ्नेबित्तिकै २ गिलास पानी खानैपर्छ । एक कप तातो कफीसँगै कार्यको थालनी हुन्छ । खानामा भात निकै कम खाइन्छ । तरकारी र रोटी बढी मन पराउँछु । यो मेरो सानैदेखिको बानी हो । ब्राउन राइस खान्छु कहिलेकाहीँ । तर, यसलाई डाइटिङको अर्थमा बुझ्नुहुँदैन । म त्यसमा विश्वास पनि गर्दिनँ । म फिल्म खेलुन्जेल र दर्शकले पर्दामा हेरुन्जेलकी हिरोइन हुँ, नत्र आमनेपाली  युवती जस्तै त हु नि ! मुड चल्नुुपर्छ यो ठाउँ, ऊ ठाउँ, यो खानेकुरा, त्यो खानेकुरा भनेर केही भन्दिनँ खाईदिन्छु । जंकफूड खानुहुन्न भन्ने थाहा छ । तर, मन लाग्यो भने स्वास्थ्यकै लागि भनेर इग्नोर गर्दिनँ । सानोमा मलाई दही दुध धेरै मन पथ्र्याे । अहिले मासु धेरै मनपर्छ, मासुमा पनि कुखुराको सवैभन्दा बेष्ट हो ।
स्वस्थ रहनका लागि सबैभन्दा जरुरी कुरा सकारात्मक सोच हो जस्तो लाग्छ । मन प्रेमयुक्त छ भने तन त्यसै स्वस्थ र सुन्दर हुन्छ । मलाई रमाइलो गरिरहनुपर्छ, त्यति धेरै तनाब पनि लिन्नँ । मैले पाएको गड गिफ्ट नै स्वास्थ्य हो । किनकि बिरामीका नाममा मलाई अहिलेसम्म रुघामात्रै लागेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.