काठमाडौं, ३ वैशाख । केशरबहादुर विष्टलाई गरिएको अन्यायपूर्ण, अवैधानिक निलम्बन फिर्ता लिन राप्रपा नेपालका यूरोपस्थित इकाइहरूले अध्यक्ष कमल थापालाई आह्वान गरेका छन् ।
‘नेपाली कांग्रेसमा कृष्णप्रसाद सिटौला र गगन थापाहरूले गणतन्त्र एवं धर्म निरपेक्षको वकालत गर्छन् । महामन्त्री सशांक कोइराला र खुम बहादुर खड्काहरु हिन्दु धर्म, हिन्दु राष्ट्रको पक्षमा विचार राख्छन् तथापि कांग्रेसमा कोही कसैलाई कारवाही भएको छैन, हुन पनि राम्रो होइन’, राप्रपा नेपाल डेनमार्कका अध्यक्ष गणेश खड्का नेपाली, पोर्तुगलका अध्यक्ष रमेश राज बास्तोला, फ्रान्सका अध्यक्ष हरि खत्री, राष्ट्रिय युवा मोर्चाका केन्द्रीय सदस्य प्रदीप अधिकारीले संयुक्त विज्ञप्तिमा बताएका छन् ।
राप्रपा नेपालका सह–अध्यक्ष केशरबहादुर विष्ट माथिको कारवाहीप्रति स्पष्ट असन्तुष्टि जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘विष्टमाथिको कारवाही अन्यायपूर्ण र अवैधानिक छ । पार्टीभित्र विचारको मन्थन नहुने हो भने राप्रपा नेपाल परिवारवादी दलमा परिणत हुनेछ ।’
‘भर्खर राजसंस्था र हिन्दु राज्यको मुद्दा, एजेन्डा लिएर अगाडि बढेको, वामे सर्दै गरेको हाम्रो राष्ट्रवादी पार्टी राप्रपा नेपालले केशरबहादुर विष्टलाई फरक बिचार राखेको आधारमा जुन कारवाही गरेको छ त्यो अन्यायपूर्ण छ र अवैधानिक छ । यसमा युरोपका डेनमार्क, स्वीडेन, फ्रान्स र पोर्तुगलका साथीहरुको असहमति भएको व्यहोरा जनाउदै कारवाही फिर्ता लिन माननीय अध्यक्षज्युलाई हार्दिक अनुरोध गर्दछौं’, यूरोपबाट जारी संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।
‘यदि यसरी नै कारवाही गर्दै जाने हो भने एक दिन सीपी मैनालीको माले जस्तै हैसियत पनि हाम्रो पार्टीको नहोला भन्न सकिदैन परिवारवाद पार्टी जो श्रीमती र श्रीमान आलोपालो मन्त्री बन्ने पार्टी जस्तै नहोला भन्न सकिदैन’, विज्ञप्तिमा उल्लेख छ ।
व्यक्तिगत टकरावका कारण अध्यक्ष थापाले दुई साताअघि सहअध्यक्ष विष्टलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर पार्टीबाट निष्कासित गरेका छन् । राप्रपा नेपालभित्रको यो प्रकणले ठूलो विवाद लिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...