-->
एमालेमा ओली आतंक !

काठमाडौं । एमालेमा पार्टी अध्यक्षमात्र हुँदा केही शान्त जस्ता देखिएका केपी ओली प्रधानमन्त्री भएपछि भने निक्कै चर्चा र विवादमा तानिएका छन् । बाह्य राजनीति र राजनीतिक दलका नेतालाई व्यंग्यवाण हान्ने सिपालु ओली पार्टीभित्र पनि पछिल्लो समय भने निक्कै आलोचनाका पात्र बन्दै गएका छन् ।
प्रधानमन्त्री भएदेखि नै उनी पार्टीमा कुनै पनि नेताको कुरा सुन्न खोजे जस्तो गर्ने तर, सबै निर्णय आफैं गर्नेभन्दै आलोचित हुँदै आएका छन् । राती ११/१२ बजेसम्म नेताहरुलाई छलफलको लागि राख्ने तर, अरुलाई बोल्न नदिई आफैं बोलाउने र कुनै निर्णय गरेर पठाउने शैली रहेको एमालेकै नेताहरु बताउँछन् ।
झन् पछिल्लो समय त ओलीले पार्टीका हरेक निर्णयमा आतंक नै मच्चाएको भन्दै तीव्र आलोचना भएको छ । यस्तो आलोचना गर्नेमा माधव नेपाल पक्ष भए पनि ओली समूहकै नेतासमेत उनको काम गराईसँग खुसी छैनन् ।
महिनौसम्म केन्द्रीय समिति नडाकी ओलीले आफैं केही नेता बसेर पार्टी निर्णय लिंदै आएकोमा आलोचना भएको थियो । तर, बल्ल बैठक डाके पनि बालुवाटारमै बोलाइएको भन्दै ओलीको आलोचना भयो । झन् आलोचनाकाबीच डाकिएको बैठकमा पार्टीको झण्डा, ब्यानर केही नभएपछि नेताहरु झनै आक्रोसित हुन पुगे ।
पछिल्लो समय त झन् माधव नेपालले नै राजनीतिक नियुक्ति, राजदुतलाई विभिन्न मुलुकमा पठाउने, विदेश भ्रमणका लागि टोली छान्दा मनलागी गरेको जस्ता विषय उठाउँदै ओलीको तीव्र आलोचना गरेका हुन् । बिहीबारको बैठकमा नेपाल यस्ता विषयमा ओलीले मनलाग्दी गरेको भन्दै तीव्र आलोचामा उत्रिएका थिए । चीन भ्रमणमा पठाउँदा ओलीलाई महाधिवेशनमा सहयोग गरेकालाई पठाइएको भन्दै नेपालले ब्यंग्य गरेका थिए ।
साथै, नेपाल प्रदेश समिति निर्माणका विषयमा पनि ओलीले स्थायी समितिमा कुनै छलफल नगरी विषय केन्द्रीय समितिको प्रतिवेदनमा ल्याएकोमा पनि नेपालले तीव्र विरोध जनाएका छन् ।
ओलीले भारत भ्रमणपछि सम्बन्ध सुध्रिएको भन्दै हरेक ठाउँमा भाषण गर्दै हिडेका छन् । तर, नाकाबन्दी खुकुलो हुनुबाहेक अरु उपलब्धी नभएको भन्दै आफ्नै पार्टीमा आलोचना खेप्नुपरेको छ । ओलीले हल्ला गरे जस्तो गरी भारतसँग सम्बन्ध सुधार नभएको नेपालले नै बैठकमा भनाई राखेका थिए ।
साथै, ओलीलाई नै साथ दिंदै आएका वामदेव गौतम पनि पछिल्लो समय उनीसँग असन्तुष्ट रहँदै आएका छन् । आफूले महाधिवशेनमा सहयोग गरे पनि ओलीले अहिले बेवास्ता गरेको भन्दै उनी तीव्र असन्तुष्ट बन्दै आएका हुन् ।
‘कुरा सुन्न बैठक, छलफल राखेको जस्तो गर्ने तर, हरेक निर्णय आफूखुशी गर्ने अध्यक्षको क्रियाकलापलाई धेरैले रुचाउनुभएको छैन’ एमालेका एक केन्द्रीय सदस्यको टिप्पणी छ, ‘सरकारमा पनि मन्त्रीहरुको यस्तै गुनासो छ, पार्टीमा त हामी आजित भइसक्यौं ।’ ओलीको हर्कतबाट एमालेका मात्र नभई, एमाओवादीकै मन्त्रीहरुलेसमेत काम गर्न अप्ठ्यारो भएको बताउँने गरेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.