-->
चीनलाई चिढ्याउँदै अमेरिका-फिलिपिनी सैन्य गस्ती

मनिला (फिलिपिन्स)- चीनले दक्षिणी समुद्री भेग (साउथ चाइना सी) मा कृत्रिम टापु बनाएर सञ्चालनमा ल्याएपछि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूमा आशंका बढेसँगै फिलिपिन्स र अमेरिकाले पछिल्लो समय संयुक्त रुपमा सामुद्रिक र वायु गस्ती थालेका छन्।
यो खुलासा बुधबार अमेरिकी रक्षा मन्त्री एस कार्टर र फिलिपिनी समकक्षी भोल्टेयर गजमिनले संयुक्त पत्रकार सम्मेलनमा गरेका हुन्। यस घटनालाई दुर्लभ मानिएको छ।
कार्टरले अमेरिका यहाँ तनाब बढाउन नआएको बताएका छन्। यो गस्ती स्थायी प्रकारको नरहेको समेत उनले बताए।
फिलिपिन्स, मलेसिया, भियतनाम, इन्डोनेसिया लगायतका देशले दक्षिणी समुद्री भेगमा चीनको बढ्दो उपस्थितिलाई आफ्नो अस्तित्वमाथि धावाका रुपमा लिइरहेका छन्। फिलिपिन्सले चीनको बढ्दो सैन्य प्रभाव रोक्न अमेरिकी सहयोग लिएको बताएको छ। यससँगै चीन विज्ञप्ति जारी गर्दै अमेरिकी सैन्य उपस्थिति र गतिविधिलाई क्षेत्रीय खतराका रुपमा लिएको छ।
चीनको सार्वभौमिकता र सुरक्षालाई खलल पार्ने गरी कसैको उपस्थिति भएमा क्षेत्रीय स्थायित्वका लागि खतरा उत्पन्न हुनसक्नेतर्फ चीनले सचेत गराएको छ।
फिलिपिन्समा आफ्ना एयरफोर्स कमान्डो, युद्धक विमान तथा हेलिकप्टरसहित २०० जनाको संख्यामा रहने अमेरिकाले जनाएको छ। यो समूहले फिलिपिनी सेनालाई सशक्त बनाउने तालिमसमेत दिनेछ।
फिलिपिनी राजदूतले अमेरिकासँग केही दिनअघि चीनलाई आफ्नो क्षेत्र 'स्कारबोरोग सोअल' वरपर कुनै पनि किसिमको गतिविधि नगर्न सुझाव दिन आग्रह गरेलगत्तै यो सैन्य सहयोग अमेरिकाले पठाएको हो। यो क्षेत्र फिलिपिनी माझीहरूका लागि ज्यादै महत्वपूर्ण मानिन्छ।
चीनले दक्षिणी समुद्रमा मानव निर्मित द्वीप बनाएको छ। २०१२ मा यो द्वीप बनेयता फिलिपिनी गाउँले माझीले नियमित रुपमा माछा मार्ने ठाउँ गुमाएको गुनासो गर्न थालेका थिए। यो क्षेत्र माछाका लागि उर्वर मानिन्छ।
'यो संयुक्त गस्तीले हामी माझीको आत्मविश्वास बढाउनेछ,' स्थानीय बासी म्यानियागोले भने, 'अमेरिकाको उपस्थितिले चीनले त्यहाँ केही गडबडी गर्नुअघि दुई पटक सोच्ला भन्ने लागेको छ।' उनले सो क्षेत्रमा चीन र अमेरिकाको द्वन्द्व बढे आफूहरू विस्थापितसमेत हुन सक्ने आशंका गरे।
गएको साता अमेरिकी रक्षा विभागले फिलिपिन्सलाई ४० मिलियन डलर सैन्य सहयोग गर्ने बताएको थियो। यसले फिलिपिन्सको जासुसी र जहाजी गस्तीमा सघाउ पुर्यााउने अपेक्षा गरिएको छ। सूचना जालो बढाउने, जासुसी संयन्त्र गतिलो पार्ने, गस्ती गर्ने सामग्रीको सेन्सर क्षमता बढाउने लगायतका क्रियाकलापले आफ्नो सीमा सुरक्षा गर्न सहज हुने अपेक्षा छ। यसबापत फिलिपिन्सले अमेरिकालाई आफ्ना पाँच सैन्य आधार शिविर अमेरिकीलाई प्रयोग गर्न दिने भएको छ।
चीनले २०१३ को जनवरीमा फिलिपिनी नियन्त्रणमा रहेको स्कारबोरोग सोअलमा दखल दिन थालेपछि अन्तर्राष्ट्रिय अदालतमा आफ्नो चासो व्यक्त गरेको थियो। यो ठाउँमा बेलाबेलामा फिलिपिनी जल सेनासँग चिनियाँको घम्साघम्सी पर्ने गरेको छ।
सोअल फिलिपिन्सभन्दा २३० किलोमिटर पश्चिममा पर्छ भने चिनियाँ समुद्री किनारबाट १ हजार किमि टाढा पर्छ। यो क्षेत्रमा कसको नियन्त्रण हुने भन्ने बारे अन्तर्राष्ट्रिय अदालतले आउँदो महिना मुद्दा दर्तामा लिने तयारी भइरहँदा बेइजिङले भने आपत्ति जनाएको छ।
आलोचनामाथि आलोचना
यसअघि जापानमा सात शक्तिशाली राष्ट्रहरूको समूह 'जी७' को बैठकमा चीनले दक्षिणी समुद्रमा बढाएको प्रभावको आलोचना गरिएको थियो। सोको विरुद्धमा गएको बुधबार बेइजिङले पनि कडा शब्दमा आफ्नो निजी मामिलामा 'जी७'ले चासो देखाएको भन्दै आलोचना गरेको थियो।
चीनले दक्षिणी समुद्रमा आफ्नो उपस्थिति 'दादागिरी'का लागि नभइ वैश्विक अर्थतन्त्रको सुरक्षाका लागि भएको बताएको थियो।
दक्षिणी समुद्रमा चीनले विमानस्थल र पोर्टहरू बनाउँदा यो क्षेत्रमा सैन्यीकरण बढ्ने भन्दै अमेरिकाले आलोचना गर्दै आएको थियो। चीनले सो आलोचनालाई अस्वीकार गर्दैै आइरहेको छ।
जी७ को संयुक्त वक्तव्यमा सोमबार चीनलाई नै नाउँ तोकिएको भने थिएन। वक्तव्यमा भनिएको छ, 'जी७ ले तनाव बढाउने कुरामा ध्यान दिनुभन्दा वैश्विक अर्थतन्त्र उकास्नेबारे छलफल गर्नु उपयोगी हुन्थ्यो।'
विज्ञप्तिमा चीनले आफ्नो अवस्थाबारे पत्रपत्रिकाले सही तरिकाले प्रस्तुत नगरेको गुनासो गरिएको छ।
चीनले आफ्नो सुरक्षा रकम मूलतः तीन भागमा बाँड्ने गरेको छ। निजी खर्च, तालिम खर्च र सामग्री खर्च।
साउथ चाइना सिको विवाद के हो?
चीनको दक्षिणी भेगका पारासेल्स र स्प्राट्लीज लगायत अन्य द्विप आफ्नो भएको त्यस क्षेत्रका देशहरूको दाबी छ। दक्षिणपूर्वी राष्ट्रहरूले पहिले त्यति ध्यान नदिएका यस्ता द्विप समूहलाई आफ्नो भएको दाबी चीनले गर्न थालेपछि अन्य राष्ट्रहरूले पनि दाबी सुरु गर्न थाले। मूलतः चीनको आर्थिक समृद्धि बढ्दै गएपछि यो क्षेत्रमा तनाव बढेको हो। चीनले दाबी गरेका यस्ता द्विपमध्ये केहीमा त मानव बस्ती नै छैनन्।
झगडा केका लागि?
बसोबास नभएका यी द्विप वरपर विभिन्न मुलुकले प्राकृतिक खानी पाएका हुनाले ती क्षेत्रमा थप खानी (तेल र खनीज) पाइने लोभमा यो क्षेत्र आफ्नो भएको दाबी गर्नेहरू बढेका छन्। यो समुद्री बाटो भएर व्यापार गर्न सहज भएकाले पनि आर्थिक समृद्धि बढ्दै जान थालेपछि दक्षिणपूर्वी एसियाली राष्ट्रले सामुद्रिक बाटो हडप्न आफ्नो भएको दाबी गरिरहेका छन्।
कसको दाबी के?
दक्षिणी भेगको समुद्री बाटोमा अधिकांश भाग आफ्नो भएको दाबी चीनको छ। उसले यस बाटोलाई 'नाइन–ड्यास लाइन' भन्ने गरेको छ। चीनको हनान प्रान्त दक्षिणको ठूलो सामुद्रिक भूभाग चीनले आफ्नो दाबी गरेको छ। यसका लागि उनले १९४७ मा जारी गरिएको वृहद् नक्सालाई आधार मान्ने गरेको छ।
भियतनाम, फिलिपिन्स र मलेसियाको दाबी
भियतनामले यसअघि चीनको दाबीलाई चुनौती दिएको थियो। खासगरी पारसेल्स र स्प्राट्लीजमा १७ शताब्दीदेखि आफ्नो भएको दाबी भियतनामको थियो। त्यस्तै स्कारबोरो सोअल द्विपमा फिलिपिन्सको दाबी छ किनभने उसको सीमाभन्दा यो नजिक छ। मलेसियाले पनि कतिपय द्विप कब्जा गरेको छ।
युद्धसमेत भयो
पारासेल्स द्विपका लागि भियतनाम र चीनबीच युद्ध समेत भइसकेको छ। दुई पटक भएको युद्धमा १३० भन्दा बढी भियतनामी सैनिकको ज्यान गइसकेको छ। भियतनाममा यही द्विपका कारण चीनविरोधी जमात बढेको केहीको धारणा छ।
अन्य छिमेकको के छ धारणा?
दक्षिणपूर्वी अधिकांश राष्ट्रको ठूलो व्यापार चीनमा नै आश्रित रहेकाले चीनको बढ्दो शक्तिका अगाडि ती निन्याउरो छन्। यही कारण दक्षिणपूर्वी एसियाली क्षेत्रीय सहयोग संगठन (आसियान)ले एक जुट भएर चीनको हस्तक्षेपबारे बोल्न सकेका छैन। तथापि चीनले प्रत्येक राष्ट्रसँग बेग्लाबेग्लै व्यापार सन्धि र कूटनीतिक सम्बन्ध बढाएकाले पनि चीनको उपस्थितिमा उनीहरूको बोल्ती बन्द रहेको केही विज्ञहरूको धारणा छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.