-->
बिरामीप्रति मानवीय व्यवहार गर्न चिकित्सकलाई आग्रह

धरान– स्वास्थ्य क्षेत्रका बढेको विकृतिलाई कम गर्ने उद्देश्यले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीले आयोजना गरेको ‘चिकित्सा क्षेत्रमा मानविकी उत्खनन्’ कार्यक्रम शनिबार सकिएको छ ।
कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले चिकित्सा क्षेत्रमा धेरै समस्या रहेको बताउँदै चिकित्सकहरुलाई विरामीप्रति मानविय व्यवहार प्रदर्शन गर्न आग्रह गरेका थिए ।
प्रतिष्ठानमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको समूह परिक्रमा विद्यार्थी परिवार र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा शुक्रबार सुरु भएको कार्यक्रममा पहिलो दिन प्रतिष्ठानमै अध्ययन गरेका हाल अछामको बयलपाटा हस्पिटलका मेडिकल डाईरेक्टर डा. विकास गौचनले दुर्गम क्षेत्रमा निशुल्क उपचार गरेको उदाहरण प्रस्तुत गर्दै सरकारले चाहने हो भने देशभरि नै निःशुल्क उपचार गर्न सकिने बताए ।
प्रतिष्ठानका प्रा.डा. निलाम्बर झाले आफु ३ वर्ष कर्णाली बस्दाको अनुभव सुनाउँदै दुर्गमको स्वास्थ्य समस्याबारे प्रस्तुत गरेका थिए । त्यस्तै पूर्व नर्स तथा लेखिका राधा पौडेलले नेपालका दुर्गम गाउँका वासिन्दाको स्वास्थ्य अवस्था अमेरिकामा २ हजार ५ सय बर्ष अगाडीको जस्तै रहेको बताउँदै आफ्ना अनुभव सुनाईन् । प्रतिष्ठानकै समि लामाले नर्सिङ क्षेत्रका समस्या र सम्भावना बारे प्रस्तुत गरिन् । भने पत्रकार नारायण वाग्ले, कुन्द दिक्षित र अमित ढकालले सञ्चार र स्वास्थ्य क्षेत्रको बारेमा आफ्ना धारणा प्रस्तुत गरे । डा. सुरज बज्राचार्यले परिक्रमा विद्यार्थी समूह स्थापनाको कथा सुनाए भने प्रा.डा. बालकृष्ण भट्टराईले जीवन, मृत्यु र ईच्छा मृत्यु बारे प्रस्तुति दिए । त्यस्तै डा. निदेश सापकोटाले वृद्ध अवस्थाको मानसिक स्वास्थ्य बारे प्रस्तुत गरे । नेपालयका प्रकाशक किरणकृष्ण श्रेष्ठले चिकित्सकहरुलाई विरामीका कथा सुन्ने र लेख्ने बानी गर्न आग्रह गरे ।
कार्यक्रमको दोस्रो दिन शिक्षामन्त्री गिरिराजमणी पोखरेलले शिक्षा र स्वास्थ्यको विषयमा बोल्दै आफूहरु दक्ष र आलोचनात्मक जनशक्ति उत्पादन गर्ने योजनामा रहेको बताए ।
कार्यक्रममा डा. गोविन्द केसीले नीति नबनि नयाँ नीजि मेडिकल कलेज खोल्न नदिने आफ्नो आन्दोलन नसकिएको बताउँदै पहिलेका सम्झौता पालना नभए अनसन फेरि सुरु हुने बताए ।
पूर्व मुख्य सचिव लीलामणी पौडेलले नेपालमा अवसर छैन भनेर विदेशिने जनशक्ति अवसरवादी भएको टिप्पणी गर्दै स्वास्थ्य क्षेत्रमा उत्पादित जनशक्तिलाई देशका बारेमा सोचेर काम गर्न आग्रह गरे ।
त्यस्तै पूर्व सभासद शान्ता चौधरीले आफ्ना अनुभव सुनाउँदै चिकित्सकहरुले विरामीको लुगा लगाई हेरेर उपचार गर्ने गरेको बताईन् उनले विरामीको चित्त नदुखाउन चिकित्सकहरुलाई आग्रह गरिन् । भने प्रतिष्ठानको मेडिसिन विभागका डा.सञ्जीवकुमार शर्माले मधुमेह र सर्पदंगबारे प्रस्तुत गर्दै स्वास्थ्य प्रति सचेत रहन सबैलाई आग्रह गरे ।
त्यसैगरी पूर्वप्रधानसेनापति रुक्मांगद कटुवालले नेतृत्व विकास सम्बन्धि प्रस्तुति दिंदै चिकित्सा क्षेत्रका विद्यार्थीलाई सत्यलाई समातेर बस्न आग्रह गरे ।
संयुक्त राष्ट्रघका पूर्वमहासचिव कुलचन्द्र गौतमले विश्वमा नेपालले स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति गरिरहेकाले त्यसलाई कायम राखेर अघि बढ्न आवश्यक रहेको बताए । उनले महिला स्वास्थ्य स्वयम्सेविका र आमा समूह जस्ता समूहले नेपालीको स्वास्थ्य सुधार गर्न ठूलो मद्दत गरेको बताउँदै अहिले देखिएका स्वास्थ्य समस्यापनि समाधानमा सबै लाग्नु पर्ने बताए ।
कार्यक्रममा सहभागी लेखकहरुका पुस्तकको विक्री गरिएको थियो भने राष्ट्रिय नाचघरका कलाकारले गीति नाटक मुनामदन पनि प्रदर्शन गरेका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.