मुस्ताङ । यस पटक चैतेदसैँका बेला कागबेनी पुगेर पितृ तर्पण र स्नान गर्ने भक्तजनको सङ्ख्या १३ वर्षयताकै उच्च मानिएको छ । दामोदरकुण्ड भएर बग्ने कालीगण्डकी र मुक्तिनाथबाट उत्पत्ति हुने कागनदीको सङ्गमस्थल कागबेनीमा पितृ तर्पण दिएर स्नान गरेमा दिवङ्गत आफन्तजनको आत्माले शान्ति, उन्मुक्ति र खुसी पाउने जनविश्वास छ । चैत २५ गते औँशीदेखि दशमीसम्म देशका विभिन्न भागबाट १३ वर्षयताकै धेरै भक्तजन कागबेनी आएको कागबेनीका मुख्य पुजारी योगाप्रसाद गौतमले जानकारी दिनुभयो ।
“म यहाँ पूजापाठ गर्न लागेको १३ वर्ष भयो, चैतेदसैँमा यस्तो भक्तजन त पहिलोपटक देखेँ, सीमित पुजारीलाई काम गर्न हम्मेहम्मे भयो,” उहाँले भन्नुभयो – “देश शान्त रह्यो भने आन्तरिक पर्यटनको सम्भावना राम्रो हुन्छ ।” उहाँका अनुसार, एकहप्ताको बीचमा करिब ११ हजार भक्तजनले कागबेनीमा पितृ तर्पण र स्नान गरेका थिए ।
दशमीका दिनदेखि कागबेनीमा भक्तजनको चाप कम हुँदै गएको छ । अधिकांश भक्तजन बेनी–जोमसोम सडकखण्ड हुँदै जोमसोम र कागबेनी पुगेका थिए । कागबेनीमा पूजापाठ र स्नानका लागि व्यवस्थित रुपमा पदमार्ग र खुल्ला स्थानको व्यवस्था गरिएको छ ।
कागबेनीमा भक्तजन बसोबासका लागि जिल्ला विकास समिति र विभिन्न धार्मिक व्यक्तिले धर्मशालाको पनि निर्माण गरेका छन् । गतवर्ष चैतेदसैँ पर्वको आसपासमा विनाशकारी भूकम्प गएको र नाकाबन्दीका कारण दसैँ पर्वमा समेत भक्तजन कागबेनी पुग्न पाएका थिएनन् । कागबेनीका स्थानीय समाजसेवी नोर्बु गुरुङले भक्तजनको चाप अत्यधिक रहेको बताउनुभयो ।
“दसैँको सोह्र श्राद्धको समयमा यस्तो भीड देखिन्थ्यो, तर सानो दसैँमा पनि यस्तो देखियो,” उहाँले भन्नुभयो – “गत वर्षतिर आउन नपाएर पनि यस्तो भीड भएको हुनसक्छ ।” धार्मिक पर्यटक बढेपछि मुस्ताङका साना तथा ठूला होटल भरिभराउ भएका छन् । रासस


0 comments
प्रतिक्रिया दिनुहोस्...