-->
सास फेरेको आवाज सुनेर उद्धार

पक्की भवनको संरचना फुटाउँदा एकैपल्ट ढल्ने पो हो कि भन्ने डर थियो ।
हामी इजरायली टोलीसँग रहेको लाइफ डिटेक्टर काँधमा राखेर बिस्तारै भग्नावशेषभित्र पस्यौं ।
एक वर्ष अघिको विनाशकारी भूकम्पले गोंगबुस्थित न्यू जनसेवा गेस्ट हाउसको दुई तला भासियो । होटलको भग्नावशेषमा च्यापिएकी ३२ वर्षीया कृष्णदेवी खड्कालाई १ सय २८ घन्टापछि जीवितै उद्धार गरिएको थियो । नेपाल प्रहरी, इजरायली, नर्वेली र फ्रान्सेली टोलीले निरन्तर १० घन्टाभन्दा बढी समय खटेर च्यापिएकी खड्काको उद्धार गर्न सफल भएका थिए । उद्धार क्रममा भग्नावशेष पन्छाउँदै र धराप संरचना फुटाउँदै खड्कालाई स्ट्रेचरमा हालेर एक जना इजरायली उद्धारकर्ता र नेपाल प्रहरीका सई तीर्थबहादुर खत्रीले बाहिर निकालेका थिए । अनुकम्पबीच ज्यानकै बाजी थापेर भग्नावशेषमा च्यापिएकी खड्काको उद्धार गर्ने सई खत्रीले उद्धार क्रममा गरिएका प्रयासबारे नागरिककर्मी प्रवीण ढकालसँग कुराकानी गरेका छन् । खड्काको उद्धार गर्दाको अनुभव खत्रीकै शब्दमा ः
एक वर्षअघि विनाशकारी भूकम्प आउँदा म डिल्लीबजारस्थित विपत् व्यवस्थापन महाशाखाको कार्यालयमा नै थिएँ । एक्कासी भूकम्प आयो र हेर्दाहेर्दै डिल्लीबजारस्थित कार्यालय भवनको माथिल्लो भाग ढल्यो । हामी सबै एकै ठाँउमा जम्मा भैसकेका थियौँ । घर÷आफन्तको चिन्ता लागेको थियो । घरमा कुराकानी पनि हुन पाएको थिएन । तर, भूकम्पले धेरै ठाँउमा जनधनको क्षति भएको खबर आइसकेको थियो । कार्यालयबाट हामी १४ जनाको टोली बनाइयो र गोंगबु क्षेत्रमा उद्धारका लागि खटाइयो । नागरिकको सुरक्षाका लागि म निरन्तर खटिएँ । मैले काम गर्दा धेरैको ज्यान जोगिन्छ भने किन नगर्ने भन्ने लागेर घर भत्केका र पुरिएका क्षेत्रमा गएर उद्धारमा लागेँ । हाम्रो टोलीको संयोजन एसएसपी ठूले राई सरले गर्नुभएको थियो । पहिलो दिनदेखि नै उद्धार गरेका कारण धेरै जनाको जीवितै र केही शव भग्नावशेषबाट निकाल्यौं । मैले भूकम्पको भोलीपल्ट मात्रै मेरो घर ढलेको तर परिवारका सबै सकुशल रहेको खबर फोनबाट पाएँ । यसबीच हामीले धेरै ठाउँमा बाटो सहज बनाउने, भत्केका संरचना हटाउने, शव निकाल्ने, घाइतेको उद्धार गर्ने, जोखिमपूर्ण बाटोमा सर्वसाधारणलाई आवागमन गर्न नदिनेलगायत काम गरिसकेका थियौँ ।
गोंगबु क्षेत्रमै कार्यरत रहेका बेला वैशाख १७ गते बिहान करिब ९ः४५ बजे हामीले न्यू जनसेवा गेस्ट हाउसको भग्नावशेषमा दुई जना जीवितै रहेको खबर पायौं । हाम्रो टोलीका १४ जना तुरुन्त त्यहाँ पुग्यौँ । छतले घरको दुई तला भासिएका थिए । घरको बाँकी संरचना पनि कोल्टे परेर जुनसुकै बेला पनि ढल्ने अवस्थामा थियो । त्यसमाथि लगातारजस्तै अनुकम्प आइरहेका थिए । हामीसँग अत्याधुनिक प्रविधियुक्त उद्धार उपकरण पनि थिएन । त्यहाँ हामीसँगै इजरायल, फ्रान्स र नर्वेका उद्धार टोली पनि थिए । उनीहरूको संख्या थोरै भए पनि उपकरण भने अत्याधुनिक थिए । भग्नावशेषमा प्वाल पार्ने, भग्नावशेष हटाउनेलगायत सबै काम सबै टोली मिलेर गर्यौँ । त्यसैले उद्धार गर्न पनि सहज भयो ।
भूकम्प गएको दिनदेखि नै हामी दिनरात उद्धारमा खटिरहेका थियौँ । भोकप्यास केही नभनी उद्धार गरिरहेका थियौँ । घरबाट फोन आउँथ्यो 'सुरक्षित घरका मानिस त चौरमा बसेका छन्, जुनसुकै बेला पनि ढल्नसक्ने जोखिमपूर्ण ठाउँमा नजानु' भनेर । तर, म आमा र परिवारलाई सम्झाउँथे । तर भत्केका र ढल्केका संरचना जतिबेला पनि लडेर पुर्ने त्रास केही मात्रामा भए पनि धेरैको जीवन बचाउन सक्छु भन्ने आत्मविश्वास पनि थियो । त्यही भएर जनसेवा गेस्ट हाउसको भग्नावशेषमा पुरिएकाको उद्धारमा जुटिरहेँ ।
सबैभन्दा पहिला त हामीलाई गेस्ट हाउसको भग्नावशेषमा परेकाहरू जीवित भए नभएको थाहा पाउनु थियो । भवनको भुँईंतलामा मानिस जीवित रहेको खबर थियो । र, दुई तला भासिएको र बाँकी संरचना ढल्केको भवनभित्र पस्ने ठाँउ नै थिएन । त्यसपछि हामी विदेशीसँग मिलेर भवनमा प्वाल पार्ने र फुटाउने काममा जुट्यौँ । बिजुली नभएकाले जेनेरेटरको सहायतामा प्वाल पार्न थालियो । पक्की भवनको संरचना फुटाउँदा एकैपल्ट ढल्ने पो हो कि भन्ने डर थियो । विदेशी टोलीका उपकरणको सहायताले संरचना फुटाउँदै भित्र पस्यौँ । कोही जीवित रहे नरहेको जाँच्ने उपकरण हामीसँग नभए पनि इजरायली टोलीसँग लाइफ डिटेक्टर मेसिन थियो । डिटेक्टरले भवन भित्र सास फेरेको थाहा पाउँथ्यो । हामी डिटेक्टर काँधमा राखेर बिस्तारै भग्नावशेषभित्र पस्यौं ।
भग्नावशेषमा बनाइएको सानो प्वालबाट पनि भित्र जीवित मानिस बोलाउने क्रम चलिरहेका बेला डिटेक्टरले एक्कासी कसैले सास फेरेको संकेत दियो । भित्र मानिस जीवितै रहेको संकेत पाएपछि हामी तीव्रतापूर्वक जीवितसम्म पुग्न भग्नावशेष पन्छाउँदै र संरचना भत्काउँदै भित्र पस्दै गयौं । भर्याङमा च्यापिएको एउटा शरीर देख्यौं । च्यापिएको मानिस देख्नासाथै हामीले उनी जीवित नरहेको अनुमान लगायौँ । नभन्दै उनी जीवित थिएनन् । करिब डेढ घन्टा लगाएर त्यो शव बाहिर निकाल्यौं । त्यसपछि हामीले फेरि च्यापिएकी कृष्णदेवीलाई भित्र खोज्न थाल्यौँ, बोलायौँ । तर, ५ दिनदेखि भग्नावशेषमा पुरिएकी उनले कुनै उत्तर दिइनन् । लाइफ डिटेक्टरले सास फेरेको आवाज सुनाइरहेकाले हामी जसरी पनि उनको जीवितै उद्धार गर्नुपर्छ भन्दै निरन्तर उद्धारमा जुटिरह्यौँ । त्यसक्रममा हामीले पानी समेत खाएनौँ ।
उद्धारमा जति ढिलाइ भयो, त्यति नै उनलाई जीवित उद्धार गर्न नसकिएला भन्ने डर थियो । विस्तारै अँध्यारो हुँदै थियो । अनुकम्पले धक्का दिइरहेको र अन्धकार बढ्दै गएपछि हामीले भग्नावशेष भित्र छुट्टै टर्च र जेनेरेटरको सहायतामा बाहिर बत्ती बाल्यौँ । ढल्केको घर राती लड्ने हो कि भन्ने डर पनि लाग्यो । टर्चको सहायतामा प्वाल पार्दै भित्र पस्ने क्रममा बिस्तारै भर्याङबाट सुतेर म र एक जना इजरायली एक तलामुनि जान सक्यौं ।
पिलरको छेउमा सानो प्वाल बनाएर भित्र पसेपछि हामीले भुँईंमा च्यापिएकी कृष्णदेवीलाई अचेत अवस्थामा फेला पार्यौँ । उनको मुखमा पानी हालिदियौँ र सम्झाउन थाल्यौँ । उनी शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा समेत कमजोर भैसकेकि थिइन् । त्यसबेला साँझको करिब ८ः१५ बजेको थियो । उठ्न मिल्ने र उठेर निस्कने वा उनलाई बोकेर बाहिर निकाल्नसक्ने स्थिति नै थिएन ।सानो प्वालबाट छिरेका कारण सुतेर नै निस्कनु पथ्र्यो । त्यसपछि हामीले उनलाई स्ट्रेचरमा राख्यौँ । डोरीले बाँधेको स्टे«चर प्वालबाट बिस्तारै बाहिर निकाल्यौँ । भर्याङबाट माथि तान्ने बेला फेरि समस्या पर्यो । बोकेर माथि ल्याउने अवस्था नभएकाले हामीले सुतिसुति एक हातले स्ट्रेचर उचाल्दै सुस्तरी तान्यौँ ।
साँझ साढे ८ बजेतिर हामी उनलाई अचेत अवस्थामा भग्नावशेषबाट निकाल्न सफल भयौँ । बिहानैदेखि उद्धारमा जुटेको हाम्रो र विदेशी टोलीको १० घन्टा लामो अथक प्रयासले उनलाई भग्नावशेषबाट जीवितै उद्धार गर्न सफल भयौं । भग्नावशेषबाट निकालेलगत्तै उनलाई उपचारका लागि अस्पताल लगियो । उपचारको केही समयपछि उनीसँग मेरो कुराकानी भएको थियो । अचेत अवस्थामा देखेको उनीसँग उपचारपछि कुराकानी गर्न पाउँदमा म निकै आनन्दित भएँ । (नागरिककर्मी प्रवीण ढकालसँग तीर्थबहादुर खत्री, सई, नेपाल प्रहरीले गरेको कुराकानी)


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.