दोहा जानु थियो,फिर्नुको पिरले ट्याक्सीमा चढे । बेलुकीपख अबुहमारको सडक ब्यस्त नै हुन्छ । त्यस दिन पनि धेरै जाम थियो । डाइभर निक्कै रोमान्टिक देखिन्थे, ऐना हेर्दै जुल्फी बनाई रहन्थे । यतिकैमा मोवाइलको घण्टी बज्यो । उनको र मेरो रिङटोन एउटै रहेछ म झुक्किए, उनले याद गरे गरेनन तर मलाई आाफैं सँग लाज लाग्यो ।
म बेलुकी फोन गर्छु भन्दै राखेर निक्कै परिमा परे जस्तै चुपचाप बसे । ट्याक्सीमा दुइ जना मात्र थियौं,उनी नबोले पछि म अबुहमारको बगर तिर रमिता गर्न थाले । हाम्रो आबादी जमिनहरु यसरी नै बाझीएका छन् । यहाँका मरुभूमीहरु कुनै पनि बेला आबादी हुन सक्छन्, शहर बन्न सक्छन् । तर नेपालमा त्यस्तो हुदैन । यहि सोचि रहेको थिए, डाइभर बोल्न थाले कता हो भाइको घर ? प्रत्युत्तरमा पूर्व हो भने । जात पनि सोधे म राई हो भने । उनी पनि पूर्वको राई रहेछन् ।
जातमा गजबको अपनत्व हुदो रहेछ, मैले उनैको व्यवहार बाट थाहा पाए । भाइ परदेशीहरुको एउटै चाहाना हुन्छ परिवारले राम्रो गरुन् । आफूले ढुक्कले काम गर्न पाइयोस् । होइन भने किन यतिको दुख गर्नु ? परिवारसँग बसेर पाखाबारी खोस्रदै जीन्दगी त्यसरी पनि चलि हाल्छ नि । उनले भन्न चाहि के खोजी रहेका थिए मलाई प्रष्ट भएको थिएन । तर उनी रोकिएनन, आमाबाबाको मन छोराछोरी माथि छोराछोरीको मन ढुंगो माटो माथि भनेको साँच्चि नै सत्य रहेछ । मैले सोधे दाइ के भयो त्यस्तो ? मेरो छोरीको कुरा नि भाइ मैले पढ्न सकिन । छोराछोरीहरुलाई पढाउने बिचारले यतिको दुख गर्दैछु । १०मा राम्रै पढि रहेकी थि, पोइला गइछे । मैले भने आफैले रोजेर गएको त राम्रै होनी दाइ । हुन त हो तर सानै छे अहिले १५ बर्षको मात्र के गरी खान्छे होला र ?
एक छिन चुपचाप बसेर आफैले चित्ता बुझाउन थाले । हुन त उसकी आमा पनि मैले विवाह गर्दा १५ बर्षकै थिइन् । अहिले राम्रै व्यवहार गरेकी छिन् । म त परदेशको परदेश भन्छन् नि छोरा मान्छे भनेको बारको घोचो भनेर म चाहि साच्चि नै त्यस्तै हु । तर आमाबाबाको नजरमा छोराछोरीहरु जति नै ठूलो भए पनि सानै छन् जस्तो लाग्दोरहेछ । ठिकै छ उसको भविश्य हो छोरीले रोजेर गएको ज्वाइलाइ नै पुज्ने छु । ससुरालीले हामीलाई जस्तै छुट्टयाउन चाहन्न ।
उनको कुरा सुनेर मनमा चिसो पस्यो । ट्राफिक जाममा फसेको बेला नया कुरा सुन्न पाउनु मेरो लागी पनि शौभाग्य नै ठाने । हामीलाई जस्तै छुट्टयाउन चाहन्न के भन्न खोजेको होला भनेर सोधे । मेरो प्र्रश्नको उत्तर नै नदिई भन्न थाले– भाइ कतारमा गाडी चलाउन केहि मज्जा छैन । गाडी चलाउन त नेपालमा नै ठिक छ । गुरुजी भनेर थोरैले इज्वत त गर्छन् । सबै भन्दा मज्जा चाहि काठमाडौंमा माइक्रोबस चलाउन हुन्छ । २ जनाको सिटमा तिन जना बसे पछि त्यतिकै ठेलमेल हुन्छ । काठमाडौंको सडक त्यस्तै छ । जे होस् मज्जै हुन्छ ।
फेरि मेरो ध्यान काठमाडौंको सार्वजनिक यातायात तिर गयो । मैले बुझ्न नसकेको कुरा न यातायात कम हो न मान्छे धेरै भएर हो काठमाडौंमा विचित्रको चित्र देख्न सकिन्छ । एक जना महिला एउटा हातले बच्चा र अर्को हातले हेन्डिल समाउदै कष्टकर यात्रा गरी रहदा सिटमा सानले गजक्क परेर हेरि रहेको असहज दृष्यहरु पनि देख्न सकिन्छ । त्यहि भिडभाडमा महिला माथि गरिने दुव्र्यवहार नौलो हुदै होइन । उनको भनाइले पनि त्यहि कुरालाई पुष्टि गरी रहेको थियो ।
मैले डाइभरको स्टाइल हेरे पछि भने दाइ यो उमेरमा यस्तो हुनुहुन्छ । तपाईको जमनामा कस्तो हुनुहुन्थ्यो ? फुरुक्क भएर भन्यो भाइ म रंगिला जमनाको मान्छे, हु, एकै जना सँग दुइ पल्ट भागी विवाह गरे । सुन्छौ त मेरो कहानी ? मैले पनि उत्सुकता देखाए, उनले भन्न थाले ।
सानै उमेरमा घर छाडेर पश्चिम नेपालमा ५ बर्ष खलासी काम गरी ड्राइभर भए । डाइभर सिटमा बस्दा पाइलट नै भए जस्तो लाग्थ्यो । उमेर पनि त्यस्तै थियो, एक दिन बाटोमा फुच्ची केटी किताब च्यापेर हिडिरहेको बेला जिस्क्याउदा गाली गर्दै चप्पल देखाइन् । पछाडिको सिटबाट कसैले भन्यो किन जिस्काउनु नी ठिक्क प-यो....... लाजले रातो न पिरो भए । सुने पनि नसुनेको जस्तो गरे । केहि न केहि बद्ला चाहि लिने सोच बनाए । यसरी नै सुरु भयो मेरो कहानी ।
निकै बिचार गर्थे तर त्यो फुच्चिलाई भेटेको थिइन । उनको बारेमा मलाई केहि थाहा पनि थिएन । त्यति बेला रंगिला टोपीको खुबै चलन थियो । एउटी दिदीलाई सोध्दा त्यस्तो टोपी बुन्ने बहिनी सँग भेट गराई दिन्छु भनिन् र गराइन पनि । टोपी बुन्न बहिनी त मलाई चप्पल उठाउने त्यहि फुच्चि रहेछिन ।
उनको आमाबाबाहरु भारतमा नै बस्दो रहेछन् । उनी चाहि मामाघरमा बस्दै पढ्नलाई भर्खरै नेपाल आएकी गुरुङको छोरी रहेछिन् । उनी त्यति नेपाली बोल्न जान्दैनथे । म टुटेफुटेको हिन्दी बोल्थे । उनले एउटा टोपीको मुल्य २५० भनिन । मलाई त बद्ला लिनु थियो त्यसैले मैले ३०० रुपैया दिए । त्यति भए पछि मलाई बोल्ने बाटो खुल्यो ।
हाम्रो भेट हुने क्रम जारी रयो, समय बित्दै गयो । बद्ला लिने सोच लिएको मान्छे कताकता उनैलाई मन पराउन थालेछु । बोलचाल भएको एकै सालमा भागी विवाह पनि ग-यौं । हामीलाई त थाहै थिएन उनको आमाबाबाहरु भारत बाट आएछन् । म डाइभर भएको कारणले सुहाउदो ज्वाइ हुन सकिन । त्यसैले हामीले विवाह गरेको १० दिनमा नै छुट्टयाए । उनलाई कता लगे के गरे मलाई केहि थाह भएन । सोचे शायद उनलाई भारत तिरै लगे होलान् ।
म निकै दिन सम्म रुदै कोठामा नै बसे । दिनमा भोक न रातमा निद्रा पागल जस्तै भए । चाहेको बेला त मर्न पनि त नसकिदो रहेछ । केहि दिन पछि काम गर्न थाले । म कोठामा एक्लै बस्थे । आफ्नो र बिरानो चिन्न नसकिने समयमा एक जना केटीले अचानक अंगालोमा कसिन्,म छक्कै परे । म शिल्पा चिन्नु भएन ? तपाईको श्रीमती शिल्पा क्या, हात छोड्दै भनिन । मलाई माया गर्नु हुन्छ भने राति १० बजे चौकमा आउनु । त्यस पछि म तपाईलाई सबै कुरा बताउने छु अहिले मलाई हतार छ भन्दै विदा भईन ।
सपना थिएन,तर बिपना नै हो भनेर पत्याउन पनि सकेको थिइन । धेरै प्रश्न,थुप्रै शंकाहरु अनि अनन्त खुसीहरु एकै पल्ट आए मेरो जीवनमा । बाँकी २-३ घण्टा बिताउन पनि मलाई एक जुनी जतिकै लाग्यो । त्यसैले १० बज्नु अघि नै उनले भनेको ठाउँमा गए । उनी आएर मेरो छातीमा टाउको राख्दै केही नभनी रुन थालिन । संझाउदै थिए म पनि रुन थालेछु । दुनियाँ मस्त निद्रामा थियो हामी अभागी चोकमा रुदै थियौं एक छिन पछि शान्त भएर सबै वास्तबिकताहरु सुनाइन ।
उनलाई भारत लगेर उतै विवाह गरी दिएछन् । दशैंमा सबै आफन्तहरु सँग चिनजान गर्नु पर्छ भन्दै मामाघर पठाएका रहेछन् । आफ्नैहरु बैरी बने पछि म करकापको विवाह गर्नु बाध्य भए । म हिजो पनि तपाईकै थिए, बाँकी जीवनभरी तपाईकै भएर बाँच्नेछु । एउटी श्रीमती जीवनको भिख माग्दैछे । यी सबै गल्तिहरुलाई तपाई माफ गरी मलाई स्बीकार्न सक्नु हुन्छ भने मैले त आट गरी सकेकी छु । राती नै यहाँ देखि भाग्नु पर्छ । सबैलाई माया मार्न सक्छु, तर तपाईलाई सक्दिन । आजको यहि समय नै सबै भन्दा उपयुत समय हो किन भने श्रीमान् भनौदो मातिएर सुति रहेको छ उसलाई केहि थाहै हुदैन ।
मेरो दिमाग शुन्य भएको थियो के गर्ने के नगर्ने केहि सोच्न पनि सकिन । जसो भनिन् मैले पनि उसै गरे । भन्छन् छोरा मान्छेले आटे बर्ष दिन छोरी मान्छेले आटे एकै छिन । हामी राति नै हिड्यौ दुनियाँमा माया भन्दा ठूलो केहि छैन । कसै प्रति आकर्षण र माया नै छैन भने सुगन्ध बिनाको फूल र प्राण बिनाको जीवन जस्तै हुन्छ जीवन । यस्तै उनको रंगीला सत्य कथा सुनाउदा सुनाउदै दोहा पनि पुगीएछ,म पैसा दिएर ओर्ले । डाइभरको गफमा साँच्चि नै एकहोरीएछु । नाम र नंम्बर लिन पनि भुलेछु । पछि फर्केर हेर्दा ट्याक्सी पर पुगी सकेको थियो । सुनेको थिए साँचो मायाले ढुङा पगाल्छ,पहाड गलाउछ र आकाश झुकाउछ भनेर । साँचो प्रेमले हारेर पनि जित्दो रहेछ । उ पनि त्यहि जित्नेहरु मध्येको भाग्यशाली प्रेम पुजारी रहेछ । - अर्जुन प्रसाद मैनाली - इटहरी


0 comments
प्रतिक्रिया दिनुहोस्...