वर्तमान प्रधानमन्त्री केपी ओली ०४६ सालको परिवर्तन पछिका २४ औं प्रधानमन्त्री हुन् । अल्पमतमा परेर विश्वास गुमाइसकेको भन्दै नयाँ गठबन्धनका दलहरुले उनको राजीनामा मागिरहेका बेला वितेको २६ बर्षमा कुन प्रधानमन्त्रीले कसरी राजीनामा दिनुपर्यो भन्ने सन्दर्भ चाखलाग्दो छ ।
कृष्णप्रसाद भट्टराई (२०४७–२०४८)
भट्टराई ०४६ सालको अन्तरिम कालका प्रधानमन्त्री बनेका काँग्रेसका नेता हुन् । ०४७ को संविधान ल्याउन र ०४८ सालको निर्वाचन गराउनसम्म उनको भूमिका महत्वपूर्ण रह्यो । तर उनले ०४८ सालको चुनावमा काठमाडौं क्षेत्र नं १ बाट मदन भण्डारीसँग पराजित भए । जसको कारण उनले प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्यो ।
गिरिजाप्रसाद कोइराला (०४८–०५१)
०४८ सालको आम निर्वाचनबाट बहुमत प्राप्त गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार तीन वर्षसम्म टिक्यो । यो नै ०४६ साल यता सबैभन्दा लामो समय टिकेको सरकार हो । यो सरकार ढल्नलाई काँग्रेसको आन्तरिक गुटबन्दी नै मुख्य रह्यो । काँग्रेसभित्र ३६ र ७४ मा सांसदहरु विभाजित भए । सरकार गठन भएको ६ महिनामै एमालेले कर्मचारीको आन्दोलन थालेको थियो । तर सरकार गिर्ने मुख्य कारण भने २०५० सालको कार्तिकमा आफ्नै पार्टीको नीति तथा कार्यक्रम संसदमा पारित गर्ने बेला ३६ जना काँग्रेसी सांसद अनुपस्थित रहे । जसको कारण कोइरालाले संसद विघटन गरी मंसिरमा निर्वाचन घोषणा गरे । चुनावी परिणाम एमालेको पक्षमा आएपछि कोइरालाले राजीनामा दिनुपरेको थियो ।
मनमोहन अधिकारी (०५१–०५२)
०५१ सालको आम निर्वाचनपछि अधिकारीले अल्पमतको सरकार नेतृत्व गरे । नौ महिने कार्यकालमा सरकारले ल्याएको ‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रम लोकप्रिय मानियो । सरकार ढाल्न गिरिजाबाबुले अविश्वासको प्रस्ताव ल्याएपछि अधिकारीले संसद विघटनको घोषणा गरेका थिए । तर संसद विघटनको मुद्दामा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्याधीश विश्वनाथ उपाध्यायले अल्पमतको सरकारले संसद विघटन गर्न नमिल्ने फैसला गरिदिए । यहीबेला अधिकारी बर्दियामा हेलिकप्टर दुर्घटना भएर टिचिङ अस्पतालको बेडमा थिए । अस्पतालकै बेडबाट उनले राजीनामा दिए ।
शेरबहादुर देउवा (०५२–०५३)
देउवाको राजीनामाको प्रसंग पनि रोचक नै छ । उनको पहिलो कार्यकाल एक वर्ष पुग्दा नपुग्दै उनीविरुद्ध एमालेले अविश्वासको प्रस्ताव संसदमा पेश गरेको थियो । आफ्नै पार्टीका गिरिजाबाबुले दुई जना सांसदलाई सिंगापुर पठाइदिएर देउवालाई अल्पमतमा पारी राजीनामा दिन बाध्य पारेका थिए । यही बेलाबाट संसदमा सुरा–सुन्दरी काण्ड र सांसद किनबेचको चर्चा सुरु भएको हो ।
लोकेन्द्रबहादु चन्द (०५३–०५४)
एमालेको सर्मथनमा राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बन्यो । यो सरकार लगभग छ महिना भन्दा लामो समय टिक्न सकेन । काँग्रेसले राप्रपाभित्रको अर्को पक्ष सूर्यबहादुर थापालाई आफ्नो पक्षमा ल्याएपछि, काँग्रेसले पेश गरेको अविश्वास प्रस्तावबाट सरकार ढालियो ।
सूर्यबहादुर थापा (०५४–०५४)
राप्रपा विभाजन भएर काँग्रेसको समर्थनमा बनेको थापा सरकार पनि छ महिना भन्दा लामो समय टिक्न सकेन । यसको मुख्य कारण एमाले र काँग्रेसका बीचमा भएको अस्वस्थ्य प्रतिस्पर्धा हो ।
गिरिजाप्रसाद कोइराला (०५४–०५५)
०५४ सालको स्थानीय निर्वाचनपछि एमाले विभाजन भयो । वामदेव गौतमको नेतृत्वमा नेकपा माले नयाँ पार्टी बन्यो । जसको कारण कहिले माले त कहिले एमालेसँग मिलेर गिरिजाबाबुले सरकारको तीन पटकसम्म नेतृत्व गर्ने अवसर पाए । उनी (२०५५–२०५५) र (०५५–०५६) मा पनि प्रधानमन्त्री भएका थिए । ०५६ सालको संसदीय निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई आगामी प्रधानमन्त्री घोषणा गरी चुनावी अभियान थाल्यो । त्यसपछि काँग्रेसले चुनाव जितेपछि कोइरलाले राजीनामा गरेर भट्टराईलाई प्रधानमन्त्री सुम्पेका थिए ।
कृष्णप्रसाद भट्टराई (०५६–०५६)
०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले १ सय १४ सीटसहित स्पष्ट बहूमत ल्यायो । भट्टराईको नाममा चुनाव प्रचार गरिएको हुनाले उनकै नेतृत्वमा सरकार गठन भयो । तर सरकार जम्मा छ महिना भन्दा बढी टिक्न सकेन, आफ्नै पार्टीको आन्तरिक गुटबन्दीको कारण । भट्टराईलाई माआेवादी समस्या समाधान गर्न नसकेको, सुशासन दिन र भ्रष्टचार रोक्न नसकेको आरोप लगाएर गिरिजाबाबुको नेतृत्वमा अविश्वासको प्रस्तावमार्फत राजीनामा दिन बाध्य पारियो । भट्टराईले रोष्ट्रप्रेममा उभ्भिएर आफ्नै सांसद र नेतालाई गाली गर्दै राजीनामा दिएका थिए । त्यसपछि त भट्टराईले काँग्रेस पार्टी नै परित्याग गरे ।
गिरिजाप्रसाद कोइराला (०५६–०५८)
०५६ सालको निर्वाचनपछि नेकपा माले पार्टी अस्तित्वमा आएन । काँग्रेसको बहुमत आएपछि एमाले प्रतिपक्षमा बन्यो । कोइराला सरकार लगभग दुई वर्ष टिकेको थियो । रोल्पाको होलेरी प्रहरी चौकीका ठूलो संख्यामा प्रहरीहरु माओवादी कब्जामा परेपछि कोइरालाले सेना परिचालन गर्न खोजेका थिए । दरबार र सेनासँग कुरा नमिलेपछि उनले राजीनामा दिएका थिए ।
शेरबहादुर देउवा (०५८–०५९)
कोइरालापछि प्रधानमन्त्री बनेका देउवाले ०५९ जेठमा संसद विघटन गरी मंसिरमा निर्वाचन घोषणा गरेका थिए । तर असोजमा निर्वाचन अर्को वर्षका लागि सारेपछि उनलाई राजा ज्ञानेन्द्रले असोज १८ गते निर्वाचन गर्न असक्षम प्रधानमन्त्री भनी पदच्युत गरेका थिए र राजाले तत्कालका लागि आफैले अध्यक्षता गरेका थिए ।
लोकेन्द्रबहादुर चन्द (०५९–०६०)
राजा ज्ञानेन्द्रकै इच्छामा छ महिनामा राजीनामा ।
सूर्यबहादुर थापा (०६०–०६१)
राजा ज्ञानेन्द्रकै इच्छामा प्रधानमन्त्री भएका थापाले पनि छ महिनामै राजा ज्ञानेन्द्रको इच्छामा राजीनामा दिएका थिए ।
शेरबहादुर देउवा (०६१–०६१)
थापापछि प्रधानमन्त्री बनाइएका देउवालाई ०६१, माघ १९ गते राजा ज्ञानेन्द्रले दोश्रोपटक अक्षम घोषणा गरी बर्खास्त गरेका थिए ।
राजा ज्ञानेन्द्र ( ०६१–०६३)
०६१ सालको माघ १९ मा शक्ति हत्याएका राजा ज्ञानेन्द्र आफै ०६३ वैशाख ११ गतेसम्म मन्त्रीपरिषद्को अध्यक्ष रहे । ०६२–०६३ सालको जनआन्दोलबाट संसद पुर्नस्थापना गरेपछि ज्ञानेन्द्रको शासन अन्त्य भएको थियो ।
गिरिजाप्रसाद कोइराला (०६३–०६५)
संसद पुर्नस्थापना पछि काँग्रेस, माओवादी, एमाले र साना दलसहित आन्दोलनरत सात दलको संयुक्त सरकारको नेतृत्व कोइरालाले गरेका थिए । कोइरालाले ०६४ सालको पहिलो संविधानसभाको चुनाव सम्पन्न भएको ४ महिनापछि राजीनामा दिएका थिए । संविधानसभामा सबैभन्दा ठूलो दलको रुपमा तत्कालीन नेकपा (माओवादी) बनेपछि उनले राजीनामा दिएका हुन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ (०६५–०६६)
पहिलो संविधानसभाबाट माओवादी पहिलो दल बनेपछि दाहाल प्रधानमन्त्री बनेका हुन । दाहालको सरकार बर्हिगमनलाई ०४८ साल यताका प्रधानमन्त्रीहरुमा सबैभन्दा चर्चित ‘राजीनामा काण्ड’का रुपमा चिनिन्छ । प्रधानसेनापति रुक्माङगत कटवालमाथि उनले चलाएको कारवाही प्रक्रिया २२ दलसहित राष्ट्रपति रामवरण यादवले उल्टाइदिएपछि दाहालले पार्टी्भित्र समेत छलफल नगरी प्रधानमन्त्रीबाट राजीनामा गरेका थिए ।
माधवकुमार नेपाल (०६६–०६७)
२२ दलको संयुक्त सरकारको नेतृत्व गरेका नेपालले भने आफ्नै पार्टीभित्रको मतभेदका कारण सरकारबाट राजीनामा दिनु परेको थियो । अध्यक्ष झलनाथ खनालको समूहले सरकार ढाली माओवादीको समर्थनमा आफ्नै नेतृत्वमा सरकार निर्माण गरेको थियो ।
झलनाथ खनाल (०६७–०६८)
छ महिना मात्र टिकेको खनाल नेतृत्वको सरकार पनि आफ्नै पार्टीभित्रको अन्तरद्वन्द्वले नै चाँडै ढल्न पुगेको हो । यद्यपी प्रतिपक्ष काँग्रेसले राष्ट्रिय सहमतिको सरकारको लागि पहल नगरेको भने होइन । काँग्रेससँग मिलेर एमाले नेता माधवकुमार नेपाल र केपी ओली नै खनाल सरकार ढाल्न लागि परेका थिए ।
बाबुराम भट्टराई (०६८–०६९)
मधेसवादी दलको समर्थनमा बनेको सरकारको नेतृत्वकर्ता भट्टराईले पहिलो संविधानसभा आफैले विघटन गरेका थिए । दोस्रो संविधानसभाको निर्वाचन तत्कालीन प्रधानन्याधीश खिलराज रेग्मीको नेतृत्वमा गराउने दलीय सहमति भएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।
खिलराज रेग्मी (०६९–०७०)
मन्त्रीपरिषद्का अध्यक्ष रेग्मी दोस्रो संविधानसभाको चुनाव गराउँदासम्मको सरकार प्रमुखको हैसियतमा रहे । ०७० साल मंसीरमा चुनाव सम्पन्न गराएर उनले दलहरुलाई सरकारको साँचो सुम्पे ।
सुशिल कोइराला (०७०–०७२)
कोइरालाले एमालेसँग मिलेर सरकार बनाए । माओवादी प्रतिपक्षमा बसेको थियो । ०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प आएपछि भने काँग्रेस, एमाले, माओवादी र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का बीचमा १६ बुँदे सहमति भयो । सो सहमति अनुसार कोइरालाको नेतृत्वमा संविधान जारी गर्ने र त्यसपछि एमालेको नेतृत्वमा संविधान कार्यान्वयन गर्ने दलहरु बीचमा सहमति भएको थियो । संविधान जारी भएपछि कोइरालाले समझदारी अनुसार ओलीलाई नेतृत्व दिएनन् । सदनमा भएको प्रधानमन्त्रीको चुनावमा आफै उमेद्वार बने र पराजित भए। माओवादी र राप्रपा नेपालसहितका अन्य केही दलले एमालेलाई साथ दिएपछि कोइराला पराजित भए ।
केपी शर्मा ओली (०७२–अहिलेसम्म)
प्रधानमन्त्री ओली बन्नु अघि एमाले र माओवादी बीचमा १४ बुँदे सहमति भएको थियो । सो सहमति लागू नभएको भन्दै जेठमा बजेट ल्याउनु अगाडि नै माओवादीले सरकारबाट फिर्ता हुने जनाउ दिएपछि एमाले र माओवादीका बीचमा ९ बुँदे समझदारी भएको थियो । ९ बुँदे समझदारी अनुसार युद्धकालीन मुद्दाहरु हल गर्न एमाले तयार नभएको माओवादीको आरोप छ । तीन बुँदे भद्र सहमति अनुसार बजेट पारित भएपछि प्रचण्डलाई सत्ता हस्तान्तरण गर्न ओली तयार नभएको जनाएर माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली सरकार अल्पमत परेको छ । तर, प्रधानमन्त्री ओलीले राजीनामा नदिइ संसदको सामना गर्ने बताइरहेका छन् ।
साभार नेपालआज


0 comments
प्रतिक्रिया दिनुहोस्...