-->
वर्षमान पुनले प्रधानमन्त्री ओलीलाई दिए कडा चेतावनी

काठमाण्डु, २ साउन– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एमालेले आफूहरुलाई राष्ट्रवादको कुरा नसिकाउन चेतावनी दिएका छन् ।
आइतबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पुनले सो चेतावनी दिएका हुन् ।
कार्यक्रममा उनले भने, ‘हामीलाई एमालेले राष्ट्रियताको कुरा सिकाउनुपर्दैन, हिजोका दिनमा राष्ट्रवादको पक्षमा सुरुङ युद्धको उद्घोष गर्ने हामीनै हौं, हस्तक्षेप भयो भन्दै सरकारबाट राजीनामा दिनेपनि हामीनै हौं, त्यसैले हामीलाई कसैले राष्ट्रवादको पाठ नपढाए हुन्छ ।’ उनले एमालेको राष्ट्रवादमा नेपालकै मधेशी, आदिवासी, जनजाति, पिछडिएका वर्गहरु नअटाएको आरोप लगाए ।
साक्षात्कारमा पुनले भने, ‘आजको भू–मण्डलीय विश्वमा आफ्नो मुलुकको राष्ट्रियता जोगाउन हामी कटिबद्ध छौं, कसैले विदेशीको पछि लाग्यो भन्छ भने त्यो भावनामा बग्ने काम मात्रै हो, त्यो हल्लाको पछि लाग्नु जरुरी छैन ।’
एमालेले आफ्नो पार्टीसँग गरेका १४ बुँदे, ९ बुँदे र ३ बुँदे भद्र सहमति कार्यान्वयन नगरेको गुनासो गर्दै भने, ‘हामीले सँधैभरि केपी ओलीलाई प्रधानमन्त्री बनाउन भोट मागेका होइनौं, हाम्रा केही साथीहरुलाई झण्डा नपाएर सरकारमा पठाएका होइनौं ।’
उनले आफूलाई लोकतन्त्रवादी ठान्ने प्रधानमन्त्रीले नैतिकता प्रर्दशन नगरेपछि बाध्य भएर अविश्वासको प्रस्ताव पेश गरेको स्पष्ट पारे । उनले थपे, ‘प्रधानमन्त्रीले लोकतान्त्रिक मुल्य र मान्यता र सामान्य राजनीतिक नैतिकता समेत देखाउनुभएन् ।’
प्रधानमन्त्रीले संसद विघटन गर्ने हल्ला छ नि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘अहिलेको संविधानले संसद विघटनको कल्पना समेत गर्दैन, अहिले कुनै अधिनायकवाद र निरंकुशतन्त्र व्यवस्था होइन् ।’ उनले एमालेलाई सरकार बनाउन समर्थन गर्दा आफ्नो पार्टीलाई राम्रो देख्ने तर अहिले समर्थन फिर्ता लिँदा विदेशीको ईशारामा चलेको भन्ने आरोप लगाउनु लज्जास्पद भएको टिप्पणी गरे ।
प्रधानमन्त्रीको विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव पेु भैसकेकाले सडकमा युवाहरु उतारेर तमासा देखाउनु हाँस्यास्पद भएको टिप्पणी गर्दै उनले भने, ‘सक्नुहुन्छ भने नैतिकता आधारमा राजीनामा दिनुहोस्, नसके संसद फेस गर्नुहोस, सडकमा प्लेकार्ड बोकेर स्वतन्त्र युवाहरुको नाममा सडकमा तमासा नदेखाउनुहोस् ।’ सडकबाट आन्दोलन गर्दैमा प्रधानमन्त्री थामिँदैन भन्ने एमालेलाई राम्रो हेक्का भएको भन्दै उनले व्यंग्य गरे ।
उनले स्वतन्त्र युवाहरुको नाममा ओलीको पक्षमा भएको नारावाजीलाई आफूहरुले राम्रोसँग बुझेको स्पष्ट पारे । उनले थपे, ‘यो सानो मुलुकमा कसको कार्यकर्ता कति छन्, हामीलाई राम्रोसँग थाहा छ ।’ उनले ओली खरो बोल्ने नेता भएकाले सोही अनुरुप आफ्नो भूमिका प्रदर्शन गर्नुपर्ने बताए । उनले थपे, ‘चोर बाटो वा झ्यालबाट नहिँडौ, मुल ढोकाबाटै अघि बढौं ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.