-->
ब्यापारीद्वारा अनुगमन गर्न गएका आपूर्ति मन्त्रीमाथि नै आक्रमण

असार २१, काठमाडौं । तरकारी बजारको अनुगमन गर्न बल्खु पुगेका आपूर्तिमन्त्री गणेशमान पुनमाथि नै ब्यापारीहरुले आक्रमण गरेका छन् । आपूर्ति मन्त्री पुन मंगलबार विहान टोलीसहित अनुगमन गर्न बल्खु पुगेका थिए ।
व्यापारीहरुले पटक–पटक अनुगमनको नाम दुःख दिइएको भन्दै मन्त्रीसहितको अनुगमन टोलीमाथि आक्रमण गरेका हुन् ।व्यापारीहरुले प्रयोग गरेको ढकतराजुबारे अनुगमन गर्न टोली बल्खु तरकारी बजार पुगेको थियो । दैनिक उपभाेग्य वस्तु तथा तरकारीमा मनपरी मूल्यवृद्धि गरिएकाे गुनासाे बढेपछि मन्त्री पुन टाेली लिएर तरकारी बजार कालीमाटी पुगेका थिए ।
अनुगमन टोलीले नापतौल विभागबाट प्रमाणित नगरिएका ढक तराजु उठाएपछि बल्खुको थोक तथा तरकारी बजारका व्यापारीहरुले पानीको बोतलले आक्रमण गरेका थिए । तनावको स्थिति सिर्जना भएपछि उल्लेख्य संख्यामा प्रहरी टोली परिचालन गरिएको थियो ।
अनुगमन टोलीले मापदण्ड पूरा नगरेका पसलहरुमा सिलबन्दी गरेको आपूर्ति मन्त्री गणेशमान पुनका स्वकीय सचिव अर्जुन पाठकले जानकारी दिए ।
मन्त्री पुन बल्खुको फलफूल बजारमात्र अनुगमन गरी कालीमाटी तरकारी बजारको अनुगमनमा गएका थिए । अरु सरकारी अधिकारीहरुको टोली बल्खुको तरकारी बजार अनुगमनमा गएको थियो । उनीहरुमाथि व्यापारीहरुले आक्रमण गरेका थिए । मन्त्री पुनका अनुसार कालीमाटी तरकारी बजारमा एउटा तराजुमा मात्रै कैफियत भेटिएको छ र त्यसलाई जफत गरिएको छ ।
मन्त्री पुनले भने, ‘कालिमाटीमा फोहोर र व्यवस्थापनको अलि समस्या देखियो, नत्र अरु सामान्य नै छ । एउटामामात्र कैफियत देखिएकाले जफत गरेका छौं ।’ उनले तरकारीमा विषादीको मात्रा छ कि छैन भनेर केही नमूना संकलन गरी परीक्षण गर्न पठाइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.