-->
प्रधानसेनापतिसँगको भेटपछि यसरी गले प्रधानमन्त्री ओली

काठमाडौं, ५ असार । मुलुकमा सरकार परिवर्तनको खेल चरमोत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी ओली र प्रधानसेनापति राजेन्द्र क्षेत्रीबीच भेटघाट भएको छ । तीन दिनअघि प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेटघाट भए पनि त्यसलाई ‘गोप्य’ रूपमै राखिएको छ ।
राजनीतिक उतार–चढाव आएका बेला प्रधानमन्त्री र प्रधानसेनापतिबीच भएको भेटघाटलाई ‘गोप्य’ राखिनुलाई धेरैले अर्थपूर्ण रूपमा लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटघाटमा मुलुकको सुरक्षा अवस्था र नेपाली सेनाको भूमिकाको विषयमा छलफल भएको सैनिक उच्च स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले तीनवटै सुरक्षा प्रमुखलाई भेट्न चाहेको भए पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भने भेटघाट भएको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसँगको भेटवार्ताको सूचना बाहिर जान सक्ने भएकाले प्रधानमन्त्री ओलीले प्रधानसेनापति क्षेत्रीसँग मात्र छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ ।
के के विषयमा भयो छलफल ?
‘मधेस केन्द्रीत दलहरूले गरेको आन्दोलन र सम्भावित तराई केन्द्रित सुरक्षाको अवस्था तथा नेपाली सेनाले गर्दै आएको कामकारवाहीको बारेमा प्रधानमन्त्री ओलीले जानकारी लिएका हुन्,’ स्रोतले सो भेटबारे भन्यो ।
सो अवसरमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि सामान्य छलफल भएको थियो । अघिल्लो पटक नेकपा माओवादीले सरकारको नेतृत्व गर्दा सेना र पार्टीबीच उत्पन्न भएको खटपट र अब पनि सरकारको नेतृत्व गर्न चाहेको माओवादीका कारण नेपाली सेनालाई के कस्तो असर गर्छ र सेनालाई सरकारी तहबाट कसरी सहयोग हुन सक्छ भन्ने विषयमा पनि प्रधानमन्त्री ओली र सेनापति क्षेत्रीबीच कुराकानी भएको सैनिक स्रोतले दाबी गरेको छ ।
प्रधानमन्त्री ओली सुरुमा आफूविरुद्ध कांग्रेस–माओवादीले संसद्मा पेस गरेको अविश्वासको प्रस्तावको डटेर सामना गर्ने पक्षमा थिए । त्यसैका लागि उनले आफूले राजीनामा नदिने बताउँदै आएका पनि हुन् । तर, अत्यन्तै गोप्य राखिएको सो भेटघाटपछि प्रधानमन्त्री ओलीको ‘टोन’ मा परिवर्तन आएको छ ।एमाले स्थायी समितिको बैठकमा समेत मुठभेड र द्वन्द्व नचर्काउने गरी जान प्रधानमन्त्रीलाई सुझाव दिइएको छ । प्रधानमन्त्री ओलीले पनि सके फकाउने नसके राजीनामा दिने मनस्थिति बनाएको एमालेका नेताहरू बताउँछन् ।
प्रधानमन्त्री ओलीले प्रधानसेनापति क्षेत्रीसँग अविश्वास प्रस्ताव संसद्मा पेस भएपछिको प्रतिक्रिया, केही दिन टर्कीमा विद्रोही सेनाले गरेको ‘कू’ को प्रयास, पूर्वराजा र उनका समर्थकले गरेको चलखेल, हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि मुलुकमा भइरहेको गतिविधिबारे जिज्ञासा राखेको सैनिक स्रोतले बतायो । प्रधानमन्त्री ओलीले भारत सरकारको आफूप्रतिको के कस्तो धारणा रहेको छ, त्यसबारे समेत प्रधानसेनापतिसँग जिज्ञासा राखेका थिए । ‘भारतीय संस्थापन पक्ष आफ्नो विपक्षमा भएको जानकारीपछि गले प्रधानमन्त्री ओलीको विचार बदलिएको छ,’ स्रोतले भन्यो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.