काठमाडौं, साउन ५ – गर्मी सुरु भएसँगै सर्पको बिगबिगी हुन्छ । खासगरी तराई क्षेत्रँमा सर्पको डर धेरै हुन्छ । सर्पको टोकाइबाट कतिको ज्यानै समेत जान्छ । नेपालमा करेत, गोमन, भाईपर, लम्बा, धामन, पानी सर्पले बढी टोक्ने गरेको छ । तत्काल उपचार नपाएमा यस्ता सर्पले टोकेको एक डेढ घण्टामै ज्यान जान सक्छ । विषालु सर्पले टोकेका बिरामीको ज्यान जोगाउन जति सक्दो छिटो दिनुपर्ने औषधि एन्टी स्नेक भेनम हो । सर्पदंशको मुख्य औषधि एन्टी स्नेक भेनम सेरम (एएसभिएस) अत्यन्त महंगो र दुर्लभ भएपनि सरकारी सहयोगमा निःशुल्क प्राप्त भईरहेको छ । एन्टी स्नेक भेनम सेरम आफैंमा सर्पकै विषबाट बनाइएको औषधि हो । तर यो औषधिको सधैँ अभाव हुन्छ ।
सधैँ किन हुन्छ औषधि अभाव ?
नेपालमा सर्पदंश विरुद्धको औषधि एन्टी स्नेक भेनम भारतबाट आउँछ । तर चार वर्ष यता भारतले पनि औषधि उत्पादनको मात्रा घटाएको छ । सन् २०१२ अगाडि भारतमा एन्टी स्नेक भेनम उत्पादन गर्ने आधा दर्जन भन्दा धेरै कम्पनी थिए । तर अहिले ३/४ वटा मात्रै छन् । घोडा र सर्पबाटै औषधि बन्ने भएकाले जनावरमाथि अन्याय भएको भनेर भारतको एक गैरसरकारी संस्थाले सर्बोच्च अदालतमा मुद्दा दायर गर्यो ।
अदालतले जनावरको अधिकारलाई हनन् गर्न नहुने पक्षमा फैसला गरेपछि एन्टी सिरमको उत्पादन भारतमा चाहिनेजति मात्र हुँदै आएको छ । त्यसैले पर्याप्त औषधि नआउँदा नेपालमा ‘एन्टी स्नेक भेनम’ को अभाव हुँदै आएको हो । आफै उत्पादन सुरु नगर्दासम्म यसको सहज आपूर्ति सम्भव नहुने विज्ञले बताउँदै आएका छन् ।
अभाव हटाउने विकल्प के ?
सरकारले निःशुल्क दिने यो औषधि अहिले पनि भारतबाटै आउने गरेको छ । नेपालको परराष्ट्र मन्त्रालयमार्फत भारतको स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेर १० हजार भाइल मात्र नेपाल ल्याउने गरिएको छ । तर अदालतको आदेशपछि भारतले कडाइ गर्दा नेपालमा औषधि आउँदैन ।
‘स्वदेशमै औषधि उत्पादन हुन नसक्दा भारतसँग हारगुहार गरेर ल्याउनुपरेको हो’ इपिडिमीयोलजी तथा रोग नियन्त्रण विभागका निर्देशक डाक्टर बाबुराम मरासिनीले भन्नुभयो ‘भारत बाहेकको अरु विकल्प खासै छैन ।’
भारतमा बन्ने औषधि नै नेपालका लागि उपयुक्त किन ?
नेपाल र भारतमा पाइने सर्प उस्तै उस्तै प्रकृतिका भएकाले औषधि पनि सहज छ । अरु नै देशबाट ल्याउने विकल्प खोज्ने हो भने औषधि भिन्न भिन्न हुन्छ । हावापानी र ठाउँ अनुसार सर्पको विष पनि फरक फरक हुन सक्छ ।
पोली भेलेन्ट एन्टी स्नेक भेनम चारथरीको विषालु सर्पका लागि दिइने एउटै विष प्रतिरोधक औषधि हो । यो विष प्रतिरोधक एक जनामा अधिकतम उपयोग ३० भाइल सम्म हुने गरेकोे छ । नेपालका लागि पनि उपयुक्त पोलीभेनमको उत्पादन भारत बाहेक अन्त छैन ।
त्यसैले अमेरिका, अष्ट्रेलियाको औषधि नेपालमा मिल्दैन । भारतबाट औषधि जान छोडेपछि पाकिस्तानले आफैं उत्पादन सुरु गरेको छ, तर पर्याप्त भने छैन । त्यस्तै म्यानमारमा पनि औषधि उत्पादन सुरु भएको छ ।
स्वदेशमै औषधि उत्पादन गर्ने घोषणा अनुसार काम भएन
पूर्व अर्थमन्त्री डा.रामशरण महतले सर्पदंशका बिरामीका लागि ‘एन्टी–भेनम भ्याक्सिन’ को उत्पादन देशभित्रै सुरु गर्ने घोषणा गरे पनि अहिलेसम्म काम सुरु भएको छैन । नेपालमा बार्षिक झण्डै ४०हजार भाइल ‘एन्टी स्नेक भेनम’ आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।
एन्टी स्नेक भेनम नेपालमै उत्पादन गर्ने घोषणा सरकारले गरेपनि यो सहज भने छैन । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. मरासिनीका अनुसार अझै ८/१० बर्ष भारतबाट ल्याउनुको विकल्प छैन । औषधि उत्पादन गर्न कम्तिमा २० बिघा जमिन चाहिने र जग्गा बाहेक कम्तिमा एक अर्ब रकम लगानी लाग्ने अनुमान गरिएको छ ।
कसरी बनाइन्छ एन्टी स्नेक भेनम ?
सर्पको विष प्रतिरोधक (एन्टी स्नेक भेनम) एउटा जैविक उत्पादन हो । विष प्रतिरोधक तयार गर्न वैज्ञानिकहरूले घोडालाई सबैभन्दा उपयुक्त मानेका छन् । यो घोडाको शरीरमा बन्ने प्रतिरक्षात्मक पदार्थ (एन्टी बडी) हो । भेनम उत्पादनका लागि सबभन्दा पहिले घोडाको शरीरमा वैज्ञानिक प्रक्रिया अनुसार सर्पको विषको सामान्य मात्रा प्रवेश गराइन्छ ।
त्यसपछि घोडाको शरीरले त्यो विषबाट आफूलाई जोगाउन एउटा सिरम उत्पादन गर्छ । त्यसलाई घोडाको रगतबाट छुट्याएर एन्टी स्नेक भेनम बनाइन्छ । सबै स्थिति अनुकूल रहे एउटा घोडाबाट एक पटकमा झण्डै १६ सय भाइल औषधि निर्माण गर्न सकिन्छ ।
तर घोडा पाल्न पनि सहज छैन । नेपालका उत्तरी भेग मनाङ्ग, डोल्पा जस्ता क्षेत्रमा घोडा फार्म राख्न सकिने भएपनि सबैभन्दा पहिला नेपालभरी घोडा कति छन् सँख्या महत्वपूर्ण छ । त्यसपछि घोडाबाट बच्चा जन्माएर सँख्या बढाउनुपर्छ ।
त्यतिमात्र होइन साना बढ्दै गरेका र बुढा घोडाबाट सिरम निकाल्न मिल्दैन । विषालु सर्पको विष घोडामा लगाउनुपर्ने भएकाले थाम्न नसके घोडा मर्छ पनि सक्छ । यो बेला मुख्यतया दुईपटक घोडालाई सकस हुन्छ, पहिलो पटक इन्जेक्सन लगाउँदा र अर्को पटक फेरि रगत झिक्दा ।
सर्प पनि उत्तिकै आवश्यक
‘नेपालमा एन्टी स्नेक भेनम निकाल्न हजारौं सर्प पाल्नुपर्छ, त्यो भन्दा पहिले सर्पको विस्तृत अध्ययन गर्न जरुरी छ’ महाशाखाका निर्देशक डा.मरासिनीले भन्नुभयो, ‘एन्टी स्नेक भेनम नेपालमै निकाल्न अहिलेसम्म कुनै तयारी छैन ।’ एन्टी स्नेक भेनम बनाउन विषालु सर्पको विष अलग अलग निकाल्नुपर्छ ।
कोब्राले टोकेको औषधिका रुपमा कोब्राकै एन्टी स्नेक भेनम प्रयोग गर्नुपर्छ । नेपालमा पनि चार प्रकारका बिषालु सर्पको विष एकै ठाउँमा मिसाएर बनाउन सकिन्छ । विज्ञहरुका अनुसार, सर्पले टोकेको बिरामीलाई आठदेखि १० वटा एन्टी स्नेक भेनम दिँदा बाँच्ने संभावना हुन्छ ।
गम्भीर बिरामीलाई भने सुरुमै दुई तीनवटा भेनम सिधै नसामा दिइन्छ । एन्टी स्नेक भेनम उत्पादन थाल्नु पहिले नेपालमा सर्पका प्रजाति र अनुमानित संख्या पत्ता लगाउन आवश्यक छ । घोडालाई सर्पबाट निकालेको विष दिएपछि एन्टीबोडि (रगत) निकाल्छ र त्यसैलाई औषधि बनाउन उपयोग गरिन्छ ।
नेपालमा पाइने १७ प्रजातिका सर्प खतरनाक
आवश्यक उपचारका लागि अस्पतालसम्म पुर्याउन नसक्दा ज्यान गुमाउनुको पीडा एक ठाउँमा छ, तर पछिल्लो समय अस्पतालको पहुँच भएर पनि सर्पदंशको औषधि नहुँदा बिरामीको ज्यान जाने गरेको छ । नेपालको तराईका २६ जिल्ला सर्पको डसाईबाट बढी प्रभावित छन् ।
तराईका जिल्लामा वर्षमा झण्डै २० हजारलाई सर्पले टोक्ने गरेकोमा १ हजारको ज्यान जाने गरेको तथ्याङ्क छ । करेत, कोब्रा, गोमन लगायतका बिषालु सर्पले टोकेका मानिसको स्नायु प्रणालीमा प्रत्यक्ष असर गर्छ । जमिनमा घर्षने, पानीमा बस्नेदेखि उड्ने समेत सर्पहरु हुन्छन् ।
सर्पले खेतबारीमा काम गर्ने, घाँस दाउरा गर्न जंगल जाने, घाँसेमैदान र झाडीमा हिँडडुल गर्नेलाई बढी टोकेको भेटिन्छ । भुँइमा सुत्नेहरु पनि सर्पको शिकार बन्न सक्छन् ।
सर्पलाई छोए, जिस्क्याएमा र कुल्चिएमा यसले टोक्छ । तराईमा सर्पले खासगरी आफ्नो आहारा खोज्ने रातको समय त्यसमा पनि बिहान ३ बजेदेखि ५ बजेको बिचमा बढी टोकेका घटना छन् । किनभने तराईका नागरिक यो समयमा शौचालय निस्कने गर्छन् ।
विश्वभर ३ हजार ४ सय प्रजातिका सर्प भए पनि नेपालमा झण्डै ८९ प्रजातिका पाइएको तथ्यांक छ । यसमध्ये करिब १७ प्रजातिका सर्प खतरनाक मानिएका छन् ।
त्यसैले सबै सर्प बिषालु हुँदैनन् र टोक्नासाथ व्यक्तिको ज्यानै जाने भन्ने पनि हुँदैन । धारिलो हतियारले चिर्ने, अंग नै काट्ने, डढाउने, धामीझाँक्रीको भर पनि गर्नु हुँदैन । सर्पले टोके लगत्तै कतिपयले टनटनी बाँध्ने गरेकाले उपचार पछि निको भएपनि अपाङ्गता हुने समस्या बढी हुने गरेको डाक्टरहरु बताउँछन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...