वि. सं २०४० मा उनले सोल्टी होटलमा पहिलो पटक अरूण थापालाई भेटे । अरूण त्यही काम गर्थे। गीतकार सुवास चन्द्र ढुंगेलले एउटा एल्बमको तयारी गर्दै थिए। आफ्ना दाजुको सहयोगमा उनले थापालाई भेटेका थिए। उनले आफ्नो इच्छा व्यक्त गरेपछि अरूणले सुवासलाई भने, 'हुन्छ तिम्रा गीतहरु मलाई देऊ मलाई मनपर्यो भने गाँउछु।'
उनले दुई-तीन वटा गीत दिए। अरूणले दुई-तीन वटा हैन १२-१५ वटा गीत मागे। उनले सोधे, 'किन १२- १५ वटा दाइ?'
अरूणले जवाफ फर्काए, 'मेरो गीत गाउने बेग्लै तरिका छ। ती गीतबाट म आफूलाई मेल खाने र मेरो जीन्दगी मिल्ने गीत छानेर गाउँछु।' सुवासले अरूणको हातमा थमाएका गीतमध्ये 'चोट के हो, व्यथा के हो' बोल गीतलाई विशेष मनपराए। उनले भने, 'सुवास भाइ, यो गीत म गाँउछु, कसैलाई नदेऊ है।' आफ्नो जीवनमा असफल प्रेम भोगेका अरूणसँग मनमा प्रेम विछोडको गहिरो पीडा थियो। त्यो गीतमा उनले आफ्नो जीवनको पीडा पाए। त्यसैले उनले त्यो गीत आफ्ना लागि बुक गरे।
साउन ५ गते गायक अरूण थापाको १६ पुण्य तिथि हो। आफ्ना कालजयी पीडागीतका लागि ख्याती कमाएका थापाको सम्झनामा उनीसँग नजीकको सम्बन्ध भएका साथीहरुले अरूणको थातथलो रहेको झम्सिखेलमा एक कार्यक्रम गरे। असफल प्रेमपछि पीडा भुलाउन नशालाई साहारा मानेर दुरव्यसनको दलदलमा आफ्नो जीवन समाप्त पारेका थापाले २०५६ सालमा बागबजारको यात्री गेस्ट हाउसमा चोट र व्यथाले भरिएको जीवनको अन्तिम सास फेरेका थिए।
उनले आफ्नो जीवन बिसाए पछि उनलाई श्रद्धाञ्जलीका लागि एकेडेमीमा राखियो। त्यहाँ राखिएको व्यानरमा लेखिएको थियो 'चोट के हो? व्यथा के हो?'। त्यो प्रश्न आज पनि छ। धेरैले त्यसलाई उनको प्रेमवियोगले दिएको चोटको भुटभुटी ठान्छन तर त्यो चोट र व्यथालाई व्याख्या गर्ने उत्तर कोहीसँग छैन्। सायद तीनलाई भन्न सक्ने शब्द नै छैनन्। गीत लेखेका सुवाससँग पनि त्यसको ठोस उत्तर छैन्।
कार्यक्रमको सभापतित्व गरेका सुवासले कार्यक्रममा भने, 'त्यसको उत्तर मसँग पनि छैन्।' कार्यक्रममा उनले त्यसको उत्तर छैन भने कार्यक्रमपछिको कुराकानीमा नचाँहदा नचाहाँदै उनको मुखबाट खुस्क्यो, 'प्रेम'। उनले पनि जीवनमा कसैलाई प्रेम गरेका थिए तर तात्कालिन समाजको तल्लो जात र माथिल्लो जातको सामाजिक सिमारेखाले उनको प्रेमको पनि कित्ताकाट गरेको रहेछ। त्यो पीडालाई उनले गीतमा पोखे र जीवनमा अगाडी बढे तर त्यस्तै पीडाबाट गुज्रिएका थापाको हकमा त्यसो हुन सकेन्। उनी त्यसमै पिल्सिरहे ।
चोट के हो? व्यथा के हो?
म जस्तो घाइतेलाई सोध।
मिलन के हो ? खुसी के हो?
मसँग कहिल्यै सोध्दै नसोध।
यो गीत उनको हृदयको एकदम नजिक थियो। अरूणको अन्तिम भनिएको एक अन्तरवार्ता उनलाई आफूले गाएका गीत कुन गीत असाध्य मनपर्छ? भन्नेर सोध्दा दुईवटा गीतको नाम लिएका थिए। 'चोट के हो? व्यथा के हो?' र 'म रोएँ पनि तिमी हाँसी दिनु' गीत आफ्नो जीवनसँग नजिक रहेका र मेल खाने भएकाले मनपर्ने बताएका छन्। उक्त अन्तरवार्तामा उनले, 'मलाई मेरो सबै हिट गीतदेखी सन्तुष्टी छ। तैपनि प्राय: मलाई हृदय छोएको, हर्ट टच गरेको 'चोट के हो? व्यथा के हो? र 'म रोए पनि तिमी हाँसी दिनू' हो। यी दुईटाले चाँहि मलाई अलिकति हृदयलाई छोयो भनूँ न । एउटा कुरा त फिलिङ्स पनि राम्रो आँउछ भन्छन् अरू।'
उनलाई पनि त्यो फिलिङ्स गीतमा राम्रो आएको लाग्थ्यो। पहिल्यै देखि भावुक गीत मन पराउँने उनलाई ती गीत अरू भन्दा बढ्दै प्रिय लाग्थे।
सुवासले उक्त गीतसँग जोडिएको केही यादको सम्झना गरे।
'गीत रिलिज भएपछि ठिकठाकै चल्यो तर उहाँको निधनपछि चाँहि त्यो गीत बढी नै चल्यो।' उनले २०४५ निकालेको १० गीतको एल्बमको कभर गीत थियो त्यो गीत। उक्त एल्बममा अरूणले तीन वटा गीत गाएका छन्।
'उहाँले त्यो गीत बाहेक पारि गयौ किन अधुरो यो जीवन र अरूसँग नजोख मलाई बोलका गीत गाउँनु भएको छ। उहाँका लागि भनेर चौथो गीत पनि तयार पारिएको थियो शिलाबहादुर मोक्तानको संगीतमा तर बिग्रदो स्वास्थ्यका कारण दुई दिनसम्म कोशिस गर्दा पनि गाउन सक्नु भएन। पछि 'पिएर आँशु आफ्नै आँखाको प्यास म मेटूला' बोलको गीत उमेश पाण्डेको स्वरमा रेकर्ड गरियो।'
टुक्रिएको मनबाट जीवन्त संगीत निस्कन्छ भन्नेहरू थुप्रै छन्। अरूणको जीवनलाई नियाल्दा पनि त्यस्तै अनुभूति हुन्छ। पोखराको पि. एन क्याम्पस उनको लागि एउटा देखाउने बाहाना मात्र थियो। उनको मन संगीत तर्फ खिचिएको थियो। क्यामपसमा गीत गाएरै उनी प्रेममा परे। केटीको परिवारलाई त्यो स्वीकार्य थिएन। दुबै काठमाडौं भागे। प्लेनमा भाग्ने योजना बनाएका उनीहरू अन्तिम समयमा फ्लाइट क्यानसिल भएपछि ट्याक्सीमा काठमाडौं भागेका थिए।
पोखराकी नेवार परिवारकी विमलासँग उनको प्रेम गहिरो थियो। ६ महिना उनीहरूसँगै बसे तर परिवार पछि झुक्याएर अन्तै विवाह गरिदियो। त्यसपछि अरूण जीवन भताभुङ्ग भो। नशा उनको पीडा भुलाउने बाहाना बन्यो। तर छातिभित्र चोट बोकी बाँचेका अरूणले लिएको नशाको साहारा जीवन छोट्याउने माध्यम मात्र थियो। उनले दोस्रो विवाह पनि गरे तर त्यो पनि टिकेन। एउटी छोरी जन्मेको केही समयपछि त्यो पनि सकियो। उनीमाथि पिडाको अर्को खात थपियो।
अरूणले पनि आफू प्रेमकै कारण बिग्रिएको स्वीकार गरेका छन्। अन्तिम भनेको अन्तरवार्तामा त्यसको स्वीकारोक्ती रहेको छ। गीतका लागि प्रेम वियोगले प्रेरणा दिएको बताए पनि अरूण नशामा धुत हुँदा सुधारगृहसम्म पुगे तर त्यसलाई पनि सुधार्न सकेन। २०५५ सालको अन्त्य-अन्तयतीर सुवासको अरूणसँग भेट भएको थियो। भेटमा आफ्नो लापरवाहीले स्वास्थ्य बिगारे गीत गाँउन नसकेकोमा उनले अफशोस पोखेका थिए।
'सुवास राम्रो राम्रो गीत गाउने बेलामा गाउन सकिरहेको छैन्। ठिक भएपछि गाउनुपर्छ, राम्रो राम्रो गीत लेखिराख है।' अरूणले आफूलाई यत्रो माया गर्ने श्रोताका लागि अरू राम्रा गीत दिन सक्ने हुँदाहुँदै पनि त्यसो गर्न नसकेकोमा सुवाससँग दु:ख मनाउ गरेका थिए। त्यसको केही महिनापछि उनले उनको मृत्युको खबर सुने।
उनलाई नेपाली सागीतिक आकाशले एउटा नक्षत्र गुमाएको ठान्छन्। नेपाली संगीतले उनीबाट अझै धेरै पाउन सक्थ्यो जून केबल 'हाइपोथेसिस' मात्र बनेको छ।
जीवनको अन्तिम समयमा उनी रोगसँगै धनको अभावबाट पनि पिल्सिएका थिए। उनलाई सरकारले हेरोस् भन्ने चाहना थियो तर त्यसो हुन् सकेन्। उनी भन्थे, ' सहयोगको आशा त छ तर आफै गएर भन्न अफ्ठ्यारो हुन्छ। फेरि बिरामी भएर ओछ्यानमा थलिएको बेला कता जान सकिन्छ र?'
सुवास अरूण बिग्रनुमा कसैको अभिभावकत्व नपाउनुलाई मान्छन्। परिवारमा कोही बिग्रियो कुलतमा फस्यो भने उसलाई कि बाबु-आमा कि श्रीमतीले सुधार्न खोज्छन तर अरूणलाई सुधार्ने कोही भएनन् । उनी त्यो बाटोमा हराए जहाँ जान अत्यन्तै सजिलो थियो तर फिर्ता आउन उस्तै कठिन्। उनी फर्किन सकेनन्।
थापाले थौरै तर गुणस्तरिय गीत गाए। जम्मा ३६ वटा मात्र गीत गएर यस स्तरको प्रसिद्धि प्राप्त गर्ने उनी सम्भवत: एक्ला नेपाली गायक हुन्। उनी कतिसम्म चर्चित थिए भने सन् २००३ मा बिबिसीले गरेको संसारका उत्कृष्ट १० गीतको सूचिमा उनले गाएको 'ऋतुहरुमा तिमी हरियाली वसन्त हौ' बोलको गीतले सातौ स्थानमा आफूलाई अटाएको थियो। उनको यो सफलताबाट जोसिएका झम्सीखेलमा स्थानियले उनको सालिक बनाए जसलाई आज अरूण थापा चोकले चिनिन्छ।
उनले नेपाली गीतसँगै एउटा भजन र मगर भाषाको भाषिक गीत गाएको छन्। ती पनि उस्तै सुनु सुनु लाग्नेछन्। यी श्रष्टा बितेको डेढ दशक बितिसकेको छ तर उनका गीत अझै जीवन्त छन्। आज पनि उनलाई मनपराउनेहरुको जमात ठूलै छ।
४७ वर्षको उमेरमा नै अरूणले अलबिदा भने पनि ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ’, ‘जति माया लाए पनि’, ‘मेरो गीत सबै तिमीलाई’, ‘आँखाको गीत’, ‘साँझको जुन संगै’, 'यो मनको के भर हुन्छ', 'जीन्दगी के छ र आखिर' तथा 'भुलेका कथा' जस्ता कालजयी गीतले उनलाई अमर बनाइ राखेको छ र तीनले कहिले पनि बिदा माग्नेछैनन्।
(अर्काइभबाट: अरूण थापाको १७ ंऔं स्मृति दिवसमा सान्दर्भिक भएकाले पुन: प्रकाशित गरिएको हो)


0 comments
प्रतिक्रिया दिनुहोस्...