एजेन्सी– भारतसँग निकै नजिक मानिने नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले अबको नेपालको राजनीतिक परिदृष्य निकै अराजक ढंगले अघि बढ्ने खुलासा गरेका छन् ।
नेता सिंहले नेपालमा जारी गरिएको नयाँ संविधानमा व्यवस्था भएको संघीय ढाँचाअनुसार मुलुक अघि बढे त्यसले निकै ठूलो अराजकता निम्त्याउने बताउँदै सो खुलासा गरेका हुन् ।
बीबीसी नेपालीसँगको अन्तरवार्तामा उनले भनेका छन, ‘नेपालको नयाँ संविधानमा व्यवस्था भएअनुसारको संघीय ढाँचामा मुलुक गए त्यो भारत र चीन दुबै छिमेकीलाई समेत अमान्य हुनेछ ।’
एउटा सिंगो देशको(नेपालको)एकल नेतृत्वसँग छलफल गर्न समेत छिमेकी भारतलाई टाउको दुखिरहेको बेला संघीय राज्यका थुप्रै राज्य प्रमुखहरुसँग छलफल गर्ने फुर्सद छिमेकीहरुलाई नभएकोले उनीहरुले नयाँ संविधानको संघीय ढाँचालाई नरुचाएको समेत उनले स्पष्ट पारे ।
संघीय संरचनालाई नेपालको अर्थतन्त्रले धान्न नसक्ने बताउँदै उनले नेपालको राजनीतिक संरचना पिरामिडजस्तो हुनुपर्ने बताए । उनले नेपालको जनसंख्या अनुसार सानो राजनीतिक संरचना भए उपयुक्त हुने बताए ।
सिंहले अन्तरवार्तामा भनेका छन्, ‘विहारको जनसंख्या १४ करोड छ र त्यहाँ ४५ सांसद भए पुग्छ। उत्तर प्रदेशमा पनि १८ करोड जनसंख्या छ र त्यहाँ ८० जना सांसद भए पुग्छ। तर हाम्रो २ करोड ८० लाख जनसंख्या छ अझ बास्तविक जनसंख्या त २ करोड मात्रै छ। हामीलाई त ५० जना सांसद भए पुग्थ्यो ।’
नेता सिंहले छिमेकी मुलुकहरुले नेपालमा सुरक्षा चासो ह्वात्तै बढाएको स्पष्ट पार्दै संघीय ढाँचामा मुलुक गए उनीहरुलाई पनि असर पुग्ने आंकलन गरिरहेको खुलासा गरे । उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय रुपले पनि किन सम्भव छैन भने भारत र चीनको नेपालमा असाध्यै सुरक्षा चासो छ।
भारतलाई खुल्ला सिमानाका कारण ७ जना मुख्यमन्त्रीसँग कुरा गर्नुपर्छ, किनभने शान्ति(सुव्यवस्था कायम गर्ने विषयमा प्रदेशको अधिकार हुन्छ, केन्द्रको हुँदैन। ठ्याक्कै त्यसैगरी तिब्बत सीमामा अस्थीरता भयो भने चीनलाई प्रभाव पर्छ।
त्यसैले संघीयताका लागि जुन खालको समर्थन पाउनुपर्ने हो, त्यस्तो अन्तर्राष्ट्रिय सदभाव पनि हुँदैन। अहिले संविधानले व्यवस्था गरेको जस्तो राजनीतिक संरचना लागू भयो भने नेपाल अराजक हुन्छ ।’ नेता सिंहले नेपालको जनसंख्या अनुसार करिब ५० जना सांसद भए पुग्ने समेत बताएका छन् ।
नेता सिंहले प्रश्न गरेका छन्, ‘एउटा चुनाव गराउन भारतसँग एक हजार गाडी मागेर काम सम्पन्न गर्ने नेपालले संघीय राज्यहरुको निर्वाचन गर्ने खर्च कहाँबाट ल्याउन सक्छ ?’ उनले अवधारणा फेर्नुपर्ने समेत सल्लाह दिएका छन् ।
अमरेशकुमार सिंह एक दशक भन्दा बढी समयदेखि संघीयता र गणतन्त्रको सवालमा वकालत गर्दै आएको कांग्रेस नेता हुन्, उनले पछिल्लो समयमा नयाँ संविधानमा जारी भएको संघीयताका सवालमा असन्तुष्टी जनाउँदै आएका छन् ।
kathmandutoday


0 comments
प्रतिक्रिया दिनुहोस्...