-->
माओवादी केन्द्रमा वर्षमान र देव गुरुङ शक्तिशाली

काठमाडौं । सत्ता गठबन्धनमा चर्को असन्तुष्टि जनाइरहे पनि ठोस निर्णय गर्न नसकिरहेको नेकपा माओवादी केन्द्रमा वर्षमान पुन र देव गुरुङ शक्तिशाली देखिएका छन् ।
माओवादी केन्द्रले १४ सय ९९ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरे पनि पार्टी एकीकरणपछि १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाएको छ । पार्टीभित्र अहिले यतिसम्म गञ्जागोल छ कि को को केन्द्रीय सदस्य भए भन्ने कुरा कसैलाई थाहै छैन । केन्द्रीय सदस्यको नाम लिस्ट वर्षमान र देव गुरुङबाहेक अध्यक्ष पुष्पकमल दाहाललाई पनि थाहा छैन । पुनसँग एमाओवादी र गुरुङसँग क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरूको नाम लिस्ट गोजीमा हुन्छ । पुन र गुरुङपछि जनार्दन शर्मा बलिया छन् । उनले आफ्ना आसेपासे सबैलाई केन्द्रीय सदस्य बनाइसकेका छन् ।
प्रचण्डले त आधाभन्दा बढीलाई चिन्दैनन् । स्रोतका अनुसार एकता प्रक्रियामा गएका नेता बादल, हितमान शाक्यहरू अहिले वर्षमानको रवैयाबाट असन्तुष्ट छन् । ‘भर्खरै एकता गरेर आइयो, हाम्रा नेताहरूले वर्षमानहरूको रबैयाका बारेमा भन्न सक्नुभएको छैन, तर पार्टी संयन्त्रलाई आफ्नो खल्तीमा राखेर उनीहरूले चलाइरहेका छन्,’ एक केन्द्रीय सदस्यले सुनाए । अहिले वर्षमान हावी हुँदा उनीकहाँ चाकडी गर्नेहरूको ताँती निवासमा लाग्ने गरेको छ । वर्षमानले आफूकहाँ चाकडी गर्न गएकाहरूलाई लिस्टमा चढाएको छु, थाहा पाउनुहन्छ भनेर पठाउने गरेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.