-->
ओलीलाई प्रचण्डको तीन प्रपोज

१. भद्र सहमतिअनुसार सत्ता हस्तान्तरण
एमालेले सरकार गठनका वेलादेखि भएका सहमति कार्यान्वयन नगरेको आरोप माओवादी केन्द्रले लगाउँदै आएको छ । गत २४ असोजमा ओली प्रधानमन्त्री चयन हुँदै गर्दा भएको आठबुँदे सहमति, २३ वैशाखमा भएको नौबुँदे लिखित र त्यससँगै भएको भद्र सहमति कार्यान्वयन हुनुपर्ने उसको माग छ ।
अहिलेको सत्ता गठबन्धनको निरन्तरताका लागि भद्र सहमतिअनुसार सरकारको नेतृत्व माओवादीलाई हस्तान्तरण गर्नुपर्ने उसको पहिलो माग छ । ओलीको नेतृत्वमा मधेस समस्याको समाधान ननिस्कने माओवादीको निष्कर्ष छ । त्यसैले भद्र सहमतिअनुसार आफूलाई नेतृत्व हस्तान्तरण गर्न प्रधानमन्त्री ओलीसमक्ष माओवादीको पहिलो प्रस्ताव छ ।
२. ओलीलाई नै राष्ट्रिय सहमति जुटाउन मौका दिने
प्रधानमन्त्री ओलीलाई आफ्नै नेतृत्वमा राष्ट्रिय सहमति जुटाउने पनि माओवादीले विकल्प दिएको छ । अहिलेका राष्ट्रिय समस्याको समाधान कांग्रेससहित मधेसकेन्द्रित दलहरूसँगको सहकार्य र सहमतिमा बन्ने सरकारले मात्रै गर्नसक्ने उसको निष्कर्ष छ ।
राष्ट्रिय सहमति जुटाउन नसके नेतृत्व छाडेर मार्गप्रशस्त गर्न माओवादीले तेस्रो विकल्प प्रस्ताव गरेको छ । ‘सहमति–सम्झौता पनि कार्यान्वयन नगर्ने, राष्ट्रिय सहमति पनि जुटाउन नसक्ने हो भने प्रधानमन्त्रीले हात उठाउनुप¥यो,’ माओवादी नेता देव गुरुङले नयाँ पत्रिकासँग भने, ‘त्यसपछि जसले सक्छ, उसैले सरकार निर्माणको पहलकदमी लिनेछ । त्यस्तो वेला नेतृत्वको विषयमा भने माओवादी खुला छ ।’
३. विकल्पमा अर्को बहुमतीय सरकार
सोमबार प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवाले उनको नेतृत्वमा कुनै हालतमा सम्भव नभएको बताएपछि वर्तमान गठबन्धनलाई निरन्तरता दिने या कांग्रेससँग मिलेर बहुमतीय सरकार बनाउने विकल्प मात्र माओवादीसामु रहेको एमालेको बुझाइ छ ।
‘देउवाको जवाफपछि सहमतिको सरकार बन्दैन भन्ने स्पष्ट भइसकेकाले उहाँहरूसँग एउटा मात्र विकल्प छ, त्यो कांग्रेससँग मिलेर बहुमतको सरकार बनाउने,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘सहमतिका नाममा त्यो बाटोमा जान उहाँहरू स्वतन्त्र हुनुहुन्छ, तर त्यसो हुँदा मुलुकका लागि दुर्भाग्य हुनेछ भन्ने हाम्रो भनाइ हो ।’
कांग्रेस राष्ट्रिय सहमतिको सरकार गठनका लागि तयार नभएसम्म प्रचण्डको नेतृत्वमा त्यस्तो सरकार गठन नै असम्भव भएको एमालेको ठम्याइ छ । प्रमुख तीन दल सँगै बसेर संविधान कार्यान्वयनको प्रस्ट खाकामा सहमति गरेपछि कांग्रेसले प्रचण्डलाई लिखित समझदारीका साथ स्वीकार गर्नुपर्ने एमालेको भनाइ छ ।
तर, त्यो संसदीय प्रणालीविपरीत हुने अडान राख्दै आएकाले तत्कालका लागि उनको नेतृत्वमा सहमतीय सरकार बनाउने कुरा सम्भव नै नभएको एमाले नेताहरू बताउँछन् । ‘यो स्थितिमा अहिलेको गठबन्धनको विकल्प अर्को बहुमतको सरकार नै हो भन्ने माओवादीले नयाँ निष्कर्ष निकालेको हो भने ऊ त्यसअनुसार अघि बढ्दा हामीलाई आपत्ति छैन,’ ज्ञवालीले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.