-->
कृषक जागरणमा ४ करोड घोटला गर्ने बस्नेत दम्पती फरार भएको संचालक समितिको भनाई, उनिहरु बिरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता

लमजुङ सदरमुकाम बेसिशहरमा रहेको कृषक जागरण बचत तथा ऋण सहकारी संस्थामा ३ करोड ९५ लाख घोटला गर्ने तत्कालिन कार्यकारी निर्देशक रामबहादुर बस्नेत आफ्नी श्रीमती चीजा बस्नेतसहित फरार भएको संचालक समितिले जनाएको छ । समितिले रकम असुल गरी पाउँ भन्दै प्रहरीमा उजुरी दिएपछि बस्नेत दम्पती रकम नतिरी फरार भएका हुन् ।
जिल्लामा सबैभन्दा बढि कारोबार गर्दै आइरहेको यस सहकारीमा बस्नेतले मनपरी तबरले रकम घोटला गरी सहकारीलाई कमजोर पारेको भन्दै कार्यरत कर्मचारीले संचालक समितिमा कुरा पु¥याएपछि रकम हिनामिना गरेको तथ्य सार्बजनिक भएको हो । ‘संस्थाको बार्षिक लेखापरीक्षणको क्रममा कार्यकारी निर्देशक बस्नेतले संस्थामा रहँदा ४ करोड रकम हिनामिना गरेको खुल्न आएपछि हामीले संस्थामा बढि निग्रानी राख्यौं ।’ कृषक जागरण सहकारीका अध्यक्ष प्रेम घलेले भने, ‘शुरुमा हामीले ११ महिनाको लेखापरीक्षण गर्दा ३ करोड ६९ लाख रकम घोटला भएको देख्यौं । त्यसपछि पुनः ५ बर्षको लेखापरीक्षण गर्दा ३ करोड ९५ लाख घोटला भएको रहेछ ।’
सोमबार सहकारीमा पत्रकार भेटघाटको आयोजना गरी संस्थाका अध्यक्ष घलेले बस्नेत दम्पतीबिरुद्ध बैशाख २४ गते प्रहरीमा मुद्धा दर्ता गरेको तर ३५ दिन बितिसक्दा पनि बस्नेत उपस्थित नभएपछि आफुहरुले बाध्य भएर जिल्ला अदालतमा मुद्धा दर्ता गर्नुपरेको बताए । ‘जनताले दुख गरेर जम्मा गरेको रकम हिनामिना गर्ने अधिकार कोही कसैलाई पनि छैन् ।’ अध्यक्ष घलेले भने, ‘हामीले उनिहरु बिरुद्ध अदालतमा ठगी मुद्धा हालेका छौं । अब जे जे गरेपनि अदालतले नै गर्छ ।’ पटक पटक रकम तिर्न संस्थाले पत्राचार गरेपनि बस्नेतले अटेर गरेपछि बाध्य भएर कानुनी बाटो अपनाएको अध्यक्ष घलेको भनाई छ ।
बस्नेतले आफ्नो कार्यकालमा सहकारीलाई ५ जिल्लमा आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा सहकारी विभाग र डिभिजन सहकारी कार्यालय दमौलीलाई ४७ लाख अनियमित तवरले रकम खर्च गरेको सहकारीका सिइओ राम दिक्षित बताउँछन् । उनका अनुसार यो रकम संचालक समितिबाट पास भएको छैन् । यस्तै विभागको टोली सहकारीको अनुगमन गर्न आउँदा ५० हजार रकम खर्च भएको भनि देखाएको तर त्यो रकम पनि बस्नेतले दुरुपयोग गरेको समितिको ठहर छ । ‘बस्नेतले सहकारीमा बसेर आफुखुशी रकम खर्च गरेको लेखापरिक्षणले देखाएको छ ।’ अध्यक्ष घलेले भने, ‘विभागमा घुस खाएको रकमबारे गएर बुझ्दा कर्मचारीहरु मुख हेराहेर गर्छन् । तर बस्नेतले विभागबाट सफाई पाएको भन्दै ल्याएको सफाई पत्रमा भने विभागलाई दिएको भन्दै उल्लेख गरेको रकम हामीसँग प्रमाण छ ।’
यता बस्नेतले २०६० सालबाट रेमिट सहकारी र आफ्नो ब्यक्तिगत फर्मबाट कारोबार गर्दै आएकोले रेमिटबाट आएको मुनाफा बस्नेतले लिदै आएको पनि समितिको भनाई छ । बस्नेतले आफ्नी श्रीमती चीजा बस्नेतलाई आर्थिक विभाग प्रमुख बनाएर रकम हिनामिना गर्दै आएको समितिको दावी छ ।
लेखापरिक्षणका आधारमा बस्नेतले आर्थिक बर्ष ०७१÷७२ को जेठ मसान्तसम्म ८४ लाख १८ हजार ८ सय ३० रुपैयाँ रेमिट पेश्की बेरुजु छ ।
लेखापरीक्षणले सहकारीको हिसाव किताब माग गर्दा असहयोग गरेको तथा संस्थामा व्यापक आर्थिक हिनामिना भएको पाइएपछि संस्थाका सञ्चालक समितिले बस्नेतलाई १५ दिनसम्म बाहिर राखेर संस्थाको लेखापरीक्षणको कार्य गरेको थियो । तर बस्नेतले ब्यापक रुपमा पदको दुरुपयोग तथा आर्थिक हिनामिना गरेको पुष्टी भएपछि संचालक समितिले बस्नेतलाई गत असारबाट हटाइएको थियो ।
बस्नेतले आफू कार्यकारी निर्देशक हुदाँ व्यापक आर्थिक अनियमितता गरेको, आफूखुशी आफ्ना नातेदारलाई जागिर खुवाएको, आफ्ना दुई श्रीमतीलाई आफू खुशी वढी तलव दिने गरेको, आफ्नो नाममा एकल खाता सञ्चालन गरि संस्थाको रकम हिनामिना गरेको, सञ्चालक समितिले नदिएको सेवा सुविधा लिने गरेकोे संस्थाको आरोप छ । सञ्चालक समितिले बस्नेतको मासिक तलव ६५ हजार तोकेकोमा आफूखुशी १ लाख १२ हजार रुपैया बुझ्ने गरेका थिए ।
त्यसअघि पनि संस्थामा पटक पटक व्यापक आर्थिक अनियमितता गरेको भन्दै बस्नेत विवादमा तानिएका थिए । संस्थामा आर्थिक हिनामिना भएको भन्दै असन्तुष्ट पक्षले कृषक जागरण बचत तथा ऋण सहकारी संस्था छाडेर ५ बर्ष अघि सोही संस्थाका एक समुहले हातेमालो बचत तथा ऋण सहकारी सञ्चालन गर्दै आएका छन् ।
लद्युुवित्ततर्फ नेपालकै उत्कृष्ट सहकारीको रुपमा ख्याती कमाएको यस सहकारीले गत जेठ मसान्तसम्म १ अर्ब १२ करोड ४४ लाख १८ हजार ३ सय ८१ रुपैया कारोबार गरिसकेको संचालक समितिका अध्यक्ष प्रेम घलेले बताए । सहकारीको शेयर पुंजी १२ करोड २८ लाख २७ हजार ४ सय, बचत तथा निक्षेपतर्फ ७६ करोड २० लाख ४५ हजार ६ सय, ऋण लगानी ९८ करोड ८५ लाख ४५ हजार ६ सय ५२ रुपैयाँ रहेको छ ।
२०५६ सालमा स्थापना भई सहकारी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्न सफल यस सहकारीले हालसम्म मुख्य कार्यालय वेसीशहर लगायत १२ वटा विभिन्न सेवा केन्द्रहरुमार्फत वित्तिय सेवा दिदै आइरहेको छ । संस्थाले संस्थाको संस्थागत शुसासन एवं अन्य पक्षहरुको सुधारका लागि संस्थाले विभिन्न निति तथा कार्यक्रमहरु तय गर्दै आफुलाई अगाडि बढाइरहेको छ । संस्थामा हाल २५ हजार शेयर सदस्य र १ सय १६ जना कर्मचारी रहेको यस संस्थाको वित्तिय अवस्था अत्यन्तै मजबुत र राम्रो रहेको छ ।
यता बस्नेतले भने सहकारीका संचालकहरुले आफुँमाथि लगाएको आरोप झुटो भएको बताउँदै आएका छन् । उनले यसअघि सहकारीको नियमनकारी निकाय डिभिजन सहकारी कार्यालय र सहकारी विभागबाट सफाई पाएको बताउँदै आएका छन् । तर सो संस्थाहरुले भने कसैलाई पनि सफाई नदिएको बताएका छन् । उनले यसअघि पत्रकार भेटघाटको आयोजना गर्दै आफुँमाथि लागेको आरोपका बारेमा सहकारी डिभिजन र सहकारी विभागको लामो समयको अनुगमन, छानविन र अध्ययनपछि सहकारी विभागले माघ २९ गते जारी गरेको प्रतिवेदन अनुसार आफुले सफाई पाएको बताएका थिए ।
बस्नेत कृषक जागरणबाट हटाइएपछि सम्पदा सहकारीको कार्यकारी निर्देशक भएर काम गरेका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.