काठमाण्डु,३ असार– नेपाल–भारतबीच पछिल्लो समयमा थप कटुता चर्किदै गएको देखिएतापनि काठमाण्डुस्थित भारतीय राजदूतावासले शुक्रबार साँझ एक विशेष रात्रीभभोजको आयोजना गर्दै नेपालका सबै दलका नेताहरुलाई जमघट गराउने भएको छ ।
भारतीय राजदूतावासको हरेक शुक्रबार हुने रात्रीभोजभन्दा शुक्रबारको यो कार्यक्रम विशेष हुने श्रोतले बताएको छ ।
काठमाण्डुस्थित भारतीय राजदूतावास परिसरमै आयोजना हुने भव्य रात्रीभोजमा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि आन्दोलनरत मधेसी मोर्चाका नेताहरुसमेत एकै ठाउँमा भेटिने बताइएको छ ।
उपस्थित हुने प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरुको नाम समेत टुंगो लागिसकेको बताइएको छ ।
भोजमा नेपाली कांग्रेसका कृष्ण सिटौला, विमलेन्द्र निधि, रामशरण महत, मिनेन्द्र रिजाल, नेकपा एमालेको तर्फबाट सरकारमा प्रतिनिधित्व गरिरहेका अर्थमन्त्री विष्णु पौडेल, प्रदिप ज्ञवाली, राजन भट्टराई, माओवादी केन्द्रका कृष्णबहादुर महरा, वर्षमान पुन, दिनानाथ शर्मा र मधेसी मोर्चामा आबद्ध सातवटै दलका अध्यक्ष लगायत अन्य प्रभवशाली नेताहरुको सहभागीता रहने कुरा बाहिर आएको छ ।
नेपालमा नयाँ संविधान जारी भएसँगै चिसिएको नेपाल–भारत सम्बन्ध पछिल्ला दिन थप उत्कर्षमा पुगिरहेको अवस्था छ ।
सरकार र मधेसी मोर्चा सम्बद्ध दलहरुबीच वार्ताको वातावरण नबन्नु, सरकारको गठबन्धनसँग जोडिएका दलहरु र प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेसबीच सार्थक बहस र सहमति नभैरहेको बेला सबै दलहरुलाई निमन्त्रण गरेर भारतीय राजदूतावासले रात्रीभोजको आयोजना गर्नुले निकै ठूलो अर्थ र महत्व राखेको जानकारहरु बताउछन् ।
श्रोतका अनुसार शुक्रबारको रात्रीभोजमा एक सयभन्दा बढी नेताहरु सहभागी हुने बताइएको छ । यद्यपि, प्रमुख राजनीतिक दलका कुन–कुन शीर्ष नेताहरु उपस्थित हुँदैछन् भन्ने कुरा भने बाहिर आइसकेको छैन ।


0 comments
प्रतिक्रिया दिनुहोस्...