-->
उपप्रधानमन्त्रीद्वय थापा र केसीलाई बर्खास्त गर्न कांग्रेसको माग

काठमाडौं, असार ७ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान विपरीत अभिव्यक्ति दिने उपप्रधानमन्त्री कमल थापा र चित्रबहादुर केसीलाई बर्खास्त गर्न माग गरेको छ ।
मंगलबारको संसद बैठकमा विशेष समय माग गर्दै कांग्रेसका तर्फबाट रामहरि खतिवडा र अर्जुनप्रसाद जोशीले संविधान कार्यान्वयन गर्नुपर्ने बेला त्यसका विरुद्ध अभियान चलाउने मन्त्रीलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गर्नुभएको हो ।
सांसद खतिवडाले भन्नुभयो ‘संविधानअनुसार सपथ खाने अनि त्यही संविधानविरुद्ध अभिव्यक्ति दिन मिल्छ ? प्रधानमन्त्रीले संविधान कार्यान्वयन गर्ने हो भने उपप्रधानमन्त्रीद्वयलाई तत्काल पदबाट मुक्त गर्नुपर्छ ।’
उपप्रधानमन्त्री कमल थापाको पार्टी राप्रपा नेपालले हिन्दु धर्म र राजसंस्था पुनस्थापित हुनुपर्ने र अर्का उपप्रधानमन्त्रीले चित्रबहादुर केसीको पार्टी राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध अभियान चलाइ रहेको छ ।
सरकारले संविधान जारी गर्ने पूर्वराष्ट्रपतिलाई अपहेलना गरेको तर, संविधान विरुद्ध अभियान चलाउने मन्त्रीलाई पक्षपोषण गरेको कांग्रेसको आरोप छ । संसदमा मंगलबार पनि मन्त्रालय गत रुपमा विनियोजन गरिएको बजेटमाथि छलफल भइरहेको छ ।
राप्रपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले पूर्व मुमाबडामहारानीलाई ‘श्री ५ मुमाबडामहारानी’ सम्बोधन गरेर ट्वीट समेत गर्नुभएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.