जेठ ३१ – अमेरिकाको फ्लोरिडा राज्यको ओरल्याण्डमा ५० जनाको ज्यान जाने गरी अन्धाधुन्ध गोली चलाउने व्यक्ति मानसिक रुपले अस्थिर रहेको परिवारका सदस्यले बताएका छन् ।
ओरल्याण्डको एक पुरुष समलिंगी रात्री क्लबमा आइतबार अन्धाधुन्ध गोली चलाउँदा ५० जनाको ज्यान गएको थियो भने ५३ जना घाइते भएका छन् । आक्रमण गर्ने २९ वर्षका उमर मतिनकी पूर्व श्रीमती सताराले मतिन भावनात्मक रुपले अस्थिर तथा मानसिक रुपले बिरामीरहेको बताएकी छन् । उनले भनिन् ‘उसको बारेमा म अहिले यत्ति मात्रै भन्न सक्छुकी, उ वास्तवमा विक्षुब्ध थियो ।’
पूर्व श्रीमानले गरेको आक्रमणबाट आफू स्तब्ध भएको उनले बताएकी छन् । उनले भनिन् ‘म स्तब्ध छु, घटना थाहा पाएलगतै म काम्न र रुन थालेँ, किनकी यो घटनामा जसले आफ्ना प्रियजन गुमाए, उनीहरुप्रति म निकै दुखी छु । जुन व्यक्तिसँग मैले जीवनको केही समय सँगै बिताएँ, त्यो व्यक्ति त्रासदीको कारण बनेको थाहा पाउँदा म व्यथित छु ।’ आफ्नो श्रीमान रहेको व्यत्तिले यस्तो गर्ला भन्ने कहिले नलागेको उनको भनाई छ ।
उमर ओरल्याण्डको दक्षिणीमा रहेको सेन्ट लुसी काउन्टीका बासिन्दा भएको सरकारी अधिकारीले बताएका छन् । आक्रमणकारी उमर कट्टरपन्थी इस्लामिक विचारधारसँग जोडिएको अनुमान लगाएको एफबिआईका एक प्रवक्ताले बताएका छन् । तर अहिलेसम्म यो आक्रमण आन्तरिक चरमपंथी वा अन्तर्राष्ट्रिय चरमपन्थी आक्रमण हो भन्ने खुलेको छैन । उमरले आक्रमण अघि इमजेन्सी नम्बर ९१९ मा फोन गरेर इस्लामिक स्टेटका बारेमा कुरा गरेको एफबिआईले पुष्टी गरेको छ ।
– एजेन्सीको सहयोगमा


0 comments
प्रतिक्रिया दिनुहोस्...