गाउँकै एकजनाले रक्सी खाएर मातेपछि घरपरिवारसँगको झगडामा आफ्नै घरमा आगो लगाए । घर डढ्यो । यो दशकअघिको घटना हो । यसलाई स्थानीय अझै पनि सम्झन्छन् । अन्नपात, लत्तकपडा सबै पोलिए पनि स्थानीय बासिन्दाले ती परिवारलाई भने जोगाउन सफल भए ।
तिहारको समय थियो । चाडपर्व आउँदा मात्रै होइन, अन्य समयमा पनि जाँडरक्सी खाने र जुवातास खेल्ने गरेपछि घरका आमाहरू आजित भए । परिवार बिग्रने डरले आमा समूह एकजुट भए । गाउँमा जाँडरक्सीको बिक्री, वितरण गर्ने र जुवातास खेल्ने खेलाउनेलाई कारबाही गर्ने अभियान चलाए ।
‘जाँडरक्सी खाने, छोराछोरी र बुढीलाई पिट्ने । रक्सी र जुवातास रोक्नुपर्छ भन्नेमा मत मिल्यो,’ प्यारजुङस्थित सिर्जनशीलता आमा समूहकी अध्यक्ष कास्मिरी गुरुङले भनिन्, ‘हामी एकजुट भयौं । जाँडरक्सीको बेचबिखन गर्ने र जुवातास खेल्ने खेलाउनेलाई कारबाही गर्ने निर्णय गर्यौं ।’ उनका अनुसार आमा समूहले निर्णय गरेको ९ वर्ष भयो । त्यतिबेला लक्ष्मी आमा समूहमा आबद्ध उनीहरूले गत वर्ष सिर्जनशीलता आमा समूह नाममा दर्ता गराए । आमा समूहको जाँडरक्सी र जुवातास प्रतिबन्ध अभियानपछि पुरुषले खर्चसमेत जोगाएको उनले बताइन् ।
आमा समूहकी सदस्य मनकुमारी गुरुङका अनुसार अहिले जाँडरक्सीको बिक्री, वितरण र जुवातास खेल्ने/खेलाउने कार्य बन्द छ । ‘पहिले रक्सी र तास राख्ने पसलमा समेत अहिले राखिएको छैन । जुवातास पनि खेल्दैनन् । बिक्री, वितरण ठप्प छ,’ उनले भनिन् । समूहकी पूर्वअध्यक्ष आइतीमाया गुरुङका अनुसार समूहले कारबाही गर्ने निर्णय गरेपछि पुरुषले अन्तैबाट जाँडारक्सी ल्याएर वन, जंगलतिर गएर खाने र तास खेल्ने गरे । ‘हामीले जंगलमै गएर लखेट्यौं । त्यसपछि नियन्त्रणमा आयो ।’
उनका अनुसार जाँड, रक्सी खान र
जुवातास खेल्न नदिएपछि पुरुषहरूले गाउँमा कसैको निधन भए शव नउठाउने चेतावनी दिए । ‘हामी अलमलमा पर्यौं । के गर्ने, के नगर्ने,’ उनले भनिन्, ‘त्यसो भए हामी बच्चा पाउँदैनौं, आफैं पाउनुपर्छ भनेपछि बाउ समूहले जवाफ
फर्काउन सकेनन् ।’
प्यारजुङकै लामागाउँस्थित आमा समूहले पनि गाउँमा जुवातास र जाँडरक्सी प्रतिबन्ध गर्यो । ‘गुरुङ समुदायमा मर्दापर्दा जाँडरक्सी नभइ नहुने भएकाले केही खुला गर्यौं । मर्दापर्दा एक गिलासबाहेक धेरै खान नपाउने र बिक्री, वितरण गर्न नपाउने नियम बनायौं,’ सिर्जनशील आमा समूहकी अध्यक्ष सानुमाया गुरुङले भनिन्, ‘त्यसमा बाउपाटी पनि सहमत भए ।’ जथाभावी जाँड, रक्सी बिक्री, वितरण गर्ने, खाने र जुवातास खेल्ने/खेलाउनेलाई पहिलोपटक ५ सय र दोस्रोपटक १ हजार रुपैयाँ जरिवाना गर्न सुरु गरेको उनले बताइन् । ‘तेस्रोपटक गल्ती गरे पुलिसलाई खबर गर्ने भनेका थियौं । तेस्रोपटक कसैले दोहोर्याएनन्,’ सानुमायाले भनिन् ।
प्यारजुङ गाविस १ र २ को प्यारजुङ गाउँ अहिले राइनास नगरपालिका १२ मा पर्छ । लामागाउँ ११ मा पर्छ । आमा समूहको अभियानलाई पछिल्लो समय पुरुषले पनि साथ दिएका छन् । वडा नं. ११ का संयोजक चोकबहादुर गुरुङका अनुसार जाँड, रक्सी र जुवातासले समाजमा विकृति विसंगति फैलिँदै गएपछि पुरुषले पनि आमा समूहलाई साथ दिएका हुन् ।
लमजुङ प्यारजुङ लामागाउँका आमा समूह छलफल गर्दै । तस्बिर : आश/कान्तिपु


0 comments
प्रतिक्रिया दिनुहोस्...