
धनगढीः सैनिक जवानको प्रेम प्रस्ताव अस्वीकार गर्दा धनगढीमा २० वर्षीया युवतीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पचनाली गाविस-६ की २० वर्षीया युवती मीना साउदलाई शुक्रबार राती साढे ८ बजेतिर भान्सामा चाउचाउ पकाइ रहेका बेला गोली लागेको थियो । गोली लागेर गम्भीर घाइते मीनाको अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
मीनाको हत्या विषयमा भएको अनुसन्धानमा मीनालाई लागेको गोली सेना वा प्रहरीको पेस्तोलबाट हानिएको आशंका प्रहरीको छ । आमा, धारामा पानी भर्न गएकी र हजुरआमासँगै भान्सामा चाउचाउ पकाईरहेका बेला मीनामाथि गोली प्रहार भएको आफन्तले बताएका छन् । गोली लागे लगत्तै भान्सामै ढलेकी मीनालाई उपचारका लागि दिपायलको सुजंग अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । धनगढीको चौराहामा फुपुको घरमा बसेर सुदूरपश्चिमाञ्चल एकेडेमीमा बिएड प्रथम वर्षमा पढ्दै गरेकी मीना गर्मी बिदा कटाउन जेठ १६ गते डोटीको पचनीस्थित आफ्नो घर गएकी थिइन् ।
मीनाकी फुपू दुर्गा साउदका अनुसार मीनालाई नेपाल प्रहरीका एक जवानले फोन गरिराख्ने गरेको बताएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीले मीनाको शरीरबाट पेस्तोलको गोली फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले त्यो गोलीको विषयमा अनुसन्धान भइरहेको बताए । उनले, मीनाको हत्या संगठित अपराध नभएर प्रतिसोधका आधारमा गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बिष्टले बताए । स्रोतका अनुसार, मीनासँग नेपाली सेनामा कार्यरत एकजनाको प्रेम सम्बन्ध रहेको तर मीनाले उनीसँग विवाह गर्न नमानेपछि, गोली हानिएको आशंका छ । प्रहरीले भने यो कुरा स्वीकार गरेको छैन । ‘हामी अनुसन्धानको नजिक पुगेका छौं, हत्याको कारण खुल्दै जानेछ’ डोटीका प्रहरी उपरीक्षक विष्टले भने । यता, जिल्ला प्रहरी कार्यालय कैलालीले पनि मीनाका अर्का प्रेमी सन्तोषी टोलका करनलाई पनि सोधपुछ गरेको छ । करनले, दुबै जनाले विवाह गर्ने सल्लाह गरेको बयान दिएका छन् ।
करनको बयानका आधारमा पनि एकतर्फी रुपमा मीनासँग विवाह गर्ने चाहना भएका नेपाल प्रहरी र नेपाली सेनाका जवानले उनको हत्या गरेको हुनसक्ने परिवारका सदस्यको अनुमान छ । प्रहरीले, स्वीकार नगरेपनि अनुसन्धान त्यतै केन्द्रित भएको स्रोतको दाबी छ । परिवारमा मीना एक्ली छोरी हुन् । मीनाको बुवाको मृत्यु भइसकेको छ भने परिवारमा आमा, प्यारालाइसिस भएका बाजे र बज्यै मात्र छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...