-->
ओली सरकारको बजेटमा कांग्रेस नेताहरु आक्रोशित, अराजकता ल्याउने चिन्ता

काठमाडौं, १५ जेठ । केपी शर्मा ओली नेतृत्वको सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७३/०७४ को बार्षिक बजेटको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले कडा आलोचना गरेका छन् ।
व्यवस्थापिका संसदमा अर्थमन्त्री विष्णु पौडेलको बजेट भाषण सुनेर बाहिरिने क्रममा निकै आक्रोशित देखिएका कांग्रेस नेताहरुले यो बजेटले देशमा वित्तिय अराजकता ल्याउने दाबी गरे ।
विश्वकै उत्कृष्ठ ठहरिएका पूर्व अर्थमन्त्री रामशरण महतले सरकारले ल्याएको बजेटले देशमा वित्तिय अराजकता ल्याउने दाबी गरे । पूँजीगत खर्च हुन नसक्ने बताउँदै यसले उपभोग र वितरणमा मात्र धेरै खर्च हुने उनको अनुमान छ ।
‘यसले बित्तिय अराजकता ल्याउँछ, यो देशको हितमा छैन्’ बजेटको कडा आलोचना गर्दै उनले भने ।
बजेट पछि एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने हल्ला रहेको कारण सबैलाई खुसी पार्न राजनीतिक अभिप्रायले बजेट ल्याएको उनको आरोप थियो ।
त्यस्तै नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री महेश आचार्यले अर्को सरकार आउनेवित्तिकै यो बजेट कार्यान्यवन गर्न भद्रगोल हुने बताए । ‘सरकार परिवर्तनको मिति नै फिक्स गरिसकिएको छ । यस्तो अवस्थामा यो सरकारले ल्याएको बजेट कार्यान्वयन हुने सम्भावना म देख्दिन’ उनले भने ।
यो बजेटले मुद्रा स्फ्रीतिमा चाप पर्ने बताउँदै उनले भने– ‘अहिले १ सय अर्ब विदेशी ऋण र अनुदान ल्याउन नसकिरहेकोमा ३ अर्बको आशा गर्नु हास्यास्पद छ ।’
यसअघि सरकारले नीति तथा कार्यक्रम पेस गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले कडा आलोचना गरेका थिए । उनले नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने ठोकुवा गरेका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.