भैरहवा, १५ जेठ । जिल्ला अदाल रुपन्देहीले पेट्रोलियम पदार्थको चोरी प्रकरणका अभियुक्तहरुलाई सफाई दिएको छ ।
सबैको चासो र धरैको ध्यान आकृष्ट गरेको रहस्यमय तेल चोरी काण्डका अभियुक्तहरुलाई अदालतले सफाई दिएपछि आम नागरिक आश्चर्य चकित भएका छन् । गत वर्ष आयल निगमका कर्मचारी, टयांकर चालक र व्यवसायीको मिलोमतोमा वर्षौदेखी भइरहेको तेल चोरी काण्डको रुपन्देही प्रहरीले पर्दाफास गरेको थियो ।
राष्ट्रिय रुपमै अत्यन्तै तरंग उत्पन्न गदै बडो रहस्यमय ढंगले चोरीको पर्दाफास गरेको नेपाल प्रहरीलाई मात्रै होइन अदालतको फैसलाले न्यायलायप्रति विश्वास राख्नेहरुलाई पनि निराश बनाएको छ । अभियुक्तहरुले चोरी पैठारी गरेको, कालोबजारी गरेको प्रमाण मिडीयाहरुसंग छयाप्छप्ती रहेको छ । मिडीयाले सो प्रमाण सहित रहस्यमय पेट्रोल चोरी प्रकरणलाई सार्वजनिक समेत गरेको थियो ।
तत्कालिन रुपन्देहीका प्रहरी प्रमुख एसपी विक्रम सिंह थापा र राष्ट्रिय सर्तकता केन्द्रका सहसचिव कृष्ण पौडेलको संयुक्त विशेष टोलीले तेल चोरी प्रकरणको पर्दाफास गर्दै अभियुक्तहरुलाई पक्राउ समेत गरेको थियो । विशेष टोलीले तेल चोरी अभियोगमा व्यवसायी मात्रै होइन आयल निगमका उपनिर्देशक समेतको मिलोमतो प्रमाण सहित बाहिर ल्याएपछि तत्कालिन संविधान सभा र मन्त्री परिषदमा समेत तेल चोरी काण्डले प्रवेश पाएको थियो ।
यसरी वर्ष ०७२ को अत्यन्तै चर्चित तेल चोरी काण्डका अभियुक्तहरुलाई न्याधिस मुरारीबाबु श्रेष्ठ र न्याधिस बालचन्द्र शर्माको इजालसले सफाई दिएको छ ।
न्याधिस श्रेष्ठको इजालसले यहि जेठ १२ गते र न्याधिस शर्माको इजालासले ०७२ चैत्र २ गते गरी सफाई दिएको हो । न्यायधिस शर्माको इजालसबाट सफाई पाएका ३६ जना विरुद्ध पेट्रोलियम पदार्थ चोरी पैठारी अन्तरगतको मुद्धामा भैरहवा भन्सार कार्यलयले शुरुमा मुद्धा दायर गरेको थियो र पछि त्यो मुद्धा अदालत आएको थियो । यसैगरी न्यायधिस श्रेष्ठको इजालसबाट उन्मुक्ति पाएका ३८ जनालाई जिल्ला प्रसासन कार्यलय रुपन्देहीले कालो बजारी ऐन २०३२ अन्तरगत मुद्धा दायर गरेको थियो र पछि कानुन संशोधनको कारण सो मुद्धा पनि अदालत आएको थियो ।
नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रिय कार्यालय भलवारीका प्रमुख नागेन्द्र कुर्मी, अधिकृतहरु रविन कुमार रावत र दिपेन्द्र बस्नेत पनि चोरी प्रकरणमा प्रत्यक्ष संलग्न भएको दाबी सहित प्रहरीले कालोबजारी ऐन अन्तगरत मुद्धा दायर गरेको थियो । प्रहरीले आयल निगमका कर्मचारीका अतिरीक्त नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चोपनाराण श्रेष्ठ, ढुवानी व्यवसायी संघका तत्कालिन अध्यक्ष राकेशकुमार कशौधन, पश्चिमाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघका पूर्वअध्यक्ष हरिबहादुर कुवर, दयाशंकर कशौधन , प्रेमराज गैरे, पुर्वमन्त्री दानबहादु चौधरीका छोरा लप्पु चौधरी सहित ३८ जना विरुद्ध पनि चोरी पैठारी गरेको भन्दै मुद्धा दायर गरेको थियो । कालोबजारी तथा केही अन्य अपराध तथा सजाय ऐन २०३२ को दफा ९ को कसुर गरेकोले सोही अनुसार कारबाहिको मागसहित मुद्धा दायर भएको थियो । अभियोग अनुसार अभियुक्तहरुलाई ५ वर्ष जेल र विगो अनुसारको जरिबाना हुनुपर्नेमा सफाई पाउंदा सबै आश्चर्यचकित भएका छन् ।
अभियुक्तहरुलाई तीनवटा मुद्धा लगाइएको थियो । पेट्रोलियम पदार्थ चोरी, कालोबजारी र पेट्रोलियम पदार्थ चोरी पैठारी यी तीनै मुद्धामा अभियुक्तले सफाई पाएका छन् । सनसनीपूर्ण घटनामा एकाएक अदालतले सफाई दिएपछि अहिले रुपन्देहीमा सर्वसाधरणले न्यायलयप्रति आशंका व्यक्त गर्न थालेका छन् ।
यसरी चोर्थे तेल
भारतबाट नेपाल भित्रीने ट्यांकरहरु बेलहियाबाट पडसरीसम्म सुस्त गतिमा जाने गर्दथे । पडसरीमा रहेको एउटा पेट्रोल पम्पको नजिकै रहेको बाटोबाट भित्र छिर्ने ट्यांकरहरु केहीबेर सो गाऊमा गाडी रोकेर चिया नास्ता गर्दथे । त्यतिबेला सम्म त्यहा जेनेरेटरको सहयोगमा प्रत्येक ट्यांकरबाट झण्डै २ हजार लिटर डिजल निकालिन्थ्यो । यसरी निकालिएको तेल जमिन मुनी निर्माण गरिएको रहस्यमय टयांकमा जम्मा गरिन्थ्यो । निर्धक्क साथ निकालिएको तेल त्यहा भण्डारको लागी राखिएको ड्रम र जमिनमुनीको ट्यांकमा सोलीको माध्यमबाट खनाइन्थ्यो । त्यसपछि ट्यांकर भलबारी तिर लाग्दथ्यो । पडसरीबाट भलबारी पुग्दा सम्म चालकले ट्यांकरमा पचासौ पटक ब्रेक हान्दथे जसका कारण भित्र रहेको तेल छचलकिन्थ्यो अनि गाज आउंथ्यो । गांजको कारण ट्यांकर भरिएको हुन्थ्यो । निगममा छिर्ने वित्तिकै कर्मचारीले थाहा पाउछदथें की सो ट्यांकरबाट तेल निकालेको छ छैन भन्ने तर उनीहरु थप भत्ताको हिसाब जोड्दै तोडिएको शीललाई पनि कागजमा ठीक भनि प्रमाणित गर्दै खोल्दथे र तेल खन्याउंदथे । प्रत्येक दिन दर्जन बढी ट्यांकरले यसरी तेल चोरी गरिरहेका हुन्थे । चोरेको तेल निजी पम्प तथा स्थानियलाई व्यवसायीलाई बेच्ने गरिन्थ्यो । यो त व्यवसायीहरुले चोर्ने काइदा भयो । यसको अतिरिक्त चालकहरुले आफ्नै ढंगले बीच सडकमै गाडि रोकेर तेल चोर्ने गर्दथे । सडकको कुनै छेऊमा २, ३ वटा ट्यांकर एकैचोटी रोकेर उनीहरुले सानो पाइप मार्फत ड्रममा तेल चोर्ने गरेको पनि भेटिन्थ्यो । प्रत्येक टयांकरबाट तेल चोर्दा चोरलाई कम्तिमा २ लाख फाइदा हुने र सो रकमको आधा हिस्सा कर्मचारीलाई पुराउने गरेको चालकले नै प्रहरी समक्ष स्वीकारेका थिए । चोरीमा संलग्न भएका टयांकरहरुलाई नेपाल आयल निगमले निलम्बन समेत गरेको थियो । यसरी निलम्बीत हुने टयांकरहरुमा उद्योग व्यापारिका नेता भनेर परिचित चोपनारायण्ँ श्रेष्ठको ना ३ ख ९७८, लु १ ख ६६३४, लु १ ख ६५८१ र लु १ ख ६५०८ पशुपतिनाथ कसौधन र राजेशकुमार कसौधनको लु १ ख ८१०३, दयाशंकर कसौधनको लु १ ख ६४०४, पप्पुकुमार कसौधनको लु १ ख ६६१६, बालकृष्ण्ँ गैरेको लु १ ख ६६३२, प्रेमराज गैरेको लु १ ख २७९२, विनोद उप्रेतीको लु १ ख ६५७९, हरिबहादुर कुँवरको ना २ ख १८४४, रुपादेवी जयसवालको लु १ ख २२२९, सन्जु श्रेष्ठको लु १ ख ६४२३, विनोदकुमार चौधरीको लु १ ख ६६८३, रुद्रप्रसाद शर्माको लु १ ख ६४८८, प्रीया गरुंगको लु १ ख ६८९१ र चौधरी फिलिड सेन्टरको ट्रयाक्टर लु १ ख ६६०१ समेत रहेका छन् । कपिलवस्तु पकडीमा रहेको चौधरी आयल फिलिङ पूर्वमन्त्री दानबहादुर चौधरीका छोरा लप्पु चौधरीको थियो ।
यसरी भएको थियो चोरिको पर्दाफास
रुपन्देहीमा प्रहरी प्रमुख भएर आएका विक्रमसिंह थापाले चोरी तस्करी र अबैधानिक धन्दालाई निस्तेज पार्न विभिन्न अप्रेसन नै चलाएका थिए । उनको मिसन धेरैहदसम्म सफल पनि भएको थिए । टयांकरहरुले तेल चोर्ने गरेको सामन्य जानकारी पाएको रुपन्देही प्रहरीले अनुसन्धान अगडी बढाइरहेको थियो । त्यसै समय राष्ट्रिय सर्तकता केन्द्रका सहसचिव कृष्ण पौडेलको टोलिले भैरहवा बुटवल सडक खण्डमा योजनाबद्ध तेल चोरि भएको उजुरी परेको भन्दै रुपन्देही आएपछि अनुसन्धानले मुर्त रुप पाएको थियो । प्रहरी र केन्द्रको टोलि शंकास्पद ठाऊहरुमा अनुसन्धानमा हिड्यो । सादा पोसाकमा रहेको केन्द्रको टोलिले टयांकर भएको ठाऊहरुमा बुझ्दै अवलोकन गर्दै जादा पडसरी र मधवलियामा रंगेहात नै भेटाएको हो । अनुसन्धानका खटिएका केन्द्रका अधिकृतले भने “हामी सीविलमा जादा चोरी भइरहेको थियो । तत्पश्चात तत्काल टिमलाई खबर गरि पक्राउ गरियो ।” डिजल चोरलाई समात्न प्रहरी प्रमुख थापा र केन्द्रका प्रवक्ता समेत रहेका पौडेल २ दिनसम्म आफै फिल्डमा खटिएका थिए
डिजल चोरी प्रकरणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा र संसदको एक टोलि पनि क्षेत्रगत अध्ययनमा आएको थियो । तर त्यो रिर्पोट पनि कहां गयो अत्तोपत्तो छैन ।
अनुसन्धान अधिकृतमा निराशा
प्रमाण सहित अत्यन्तै चुनौतिका बाबजुद तेलको अबैध कारोबारमा संलग्नलाई पक्राउ गरि मुद्धा चलाउन सफल तत्कालि रुपन्देही प्रहरी प्रमुख एसपी विक्रम सिंह थापा जिल्ला अदालत रुपन्देहीको फैसला सुनेर निराश भएका छन् । उनले फोन सम्पर्कमा पत्रकारहरुको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिदै भनेका छन् “अभियुक्तहरुलाइ प्रमाण सहित अदालत पेश गरिएको थियो । तीनलाई सजायको भागीदार बनाईनुपर्दथ्यो । तर खै यो देशमा कहां के हुन्छ कसैलाई थाहै हुन्न ?”
त्यतिबेला नै त्यो केशमा अभियुक्तहरुले सामदाम दण्ड भेद नै अपनाएर उन्मुक्ति पाउन खोजेका थिए । करौडौंको अफर पनि गरेको सुन्नमा आएको थियो । अर्कोतिर आयल निगमको विभागीय मन्त्रालयले प्रहरी प्रमुख थापालाई सिधा निर्देशन दिदैं अभियुक्तहरुलाई छाडीदिन बारम्बार ताकेता गरेको त्यतिबेला नै प्रमाण सहित बाहिर आएको थियो । उद्योग वाणिज्य संघका केन्द्रिय तहका नेता र आयल निगमका उच्च अधिकारी नै चोरीमा संलग्न भएपछि राजनितीक दल, उद्योग वाणिज्य महासंघ र सरकारको एक तप्का अभियुक्तहरुलाई उन्मुक्त गराउन धेरै प्रयास गरेका थिए तर प्रहरी अधिकृत थापाले अडानका साथ मुद्धाको अनुसन्धानलाई जारी राखेपछि तत्कालिन समयमा त्यो प्रयास विफल भएको थियो । अहिले आएर प्रहरी, भन्सार र जिल्ला प्रशासन तथा सरकारी वकिलबाट हुन नसकेको काम न्यायीक निकायबाट हुदां अभियुक्तहरु खुसीले गदगद छन् । चोरी प्रकरणका नाइके र संरक्षणकर्ताहरु एक वर्ष सम्मको झन्झट र नोक्सानीको क्षतिपुर्ति अब अर्को कुन प्रकरण मच्चाएर गर्ने भनेर तानाबुना बुनिरहेको बुझिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...