नवलपरासी–मनीषाका छिमेकी, आफन्त र साथीहरुले उनको आत्महत्या नभएर हत्या भएको दावी गरेका छन्। मनीषालाई कोठामा मृत देखेका उनीहरुले शवको अवस्थाले उनको हत्या गरिएको भन्ने धेरै आधारहरु रहेका बताउँछन्।
घाँटी, ढाड र खुट्टाको तिघ्रामा निल डाम र चोट थियो। कोठामा रगत थियो, झ्याल फुटेको र भद्रगोल अवस्था थियो। यो सबै दृश्यले कोठामा तनाव भएको उनीहरुको ठहर छ।
मनीषाकी फुपुु मायाँ घर्तीमगर भन्छिन् 'कसैले आत्महत्या गरेको खबर सुन्दा उ तर्सन्थी,' उनले पुराना दिन सम्झिइन् 'आत्महत्या गरेको कुरा सुनेर उस्ले भन्थी मान्छे आँफै कसरी मर्न सकेको होलान्?'
मनीषाबारे धेरैको एउटै खाले भनाई छ– 'उ कम बोल्थी, लजालु थिइ।' उनका साथीहरु भन्छन् 'उ आफै केही निर्णय लिन सक्थिन, मनको कुरा भन्न साह्रै हच्किन्थि।'
मनीषाका हजुरबुबा ७३ बर्षीय नरबहादुर घर्तीमगर नातिनीको हत्या भएको बताउँछन्। स्याहार गर्ने प्यारी नातिनी गुमाएपछि उनका आँखा ओभाएका छैनन्। उनी झलझली सम्झन्छन् 'अस्ति चितवन जाँदा मेरा कपडा मिलाएर झोलामा राखिदिइ, चप्पल लाउन दिइन विमलका जुत्ता झिकेर लगाउन दिएकी थिइ।'
सोना पटेल मनीषाकी सहपाठी हुन्। दुबैजना न्यु लाइफ उच्च माविमा पढ्थे। परीक्षा सकेर दुबैजना फुर्सदमा थिए। सोना भन्छिन् 'मनीषाले कहिल्यै गलत निर्णय लिनेबारे सोँच्थिन/भन्थिन, त्यो दिन पनि कुनै संकेत गरेकी थिइन्।' सोनाले थपिन् 'मनीषा र आशिषको प्रेम बसेको तीनबर्ष भैसकेको थियो, उनीहरुको सम्बन्धबारे सबैलाई थाहा थियो, आशिष भेट्न क्याम्पसको क्यानटिनमै आउँथ्यो, उनीहरु गफिन्थे।'
मनीषाकी अर्की साथी शिलु विक पनि त्यो दिन मनीषा फ्रेस मुडमै रहेको बताउँछिन्। उनीहरु घर नजिकै भगजनी भन्ने ठाउँमा घुम्न गएका थिए। शिलुले खुलाईन 'अघिल्लो दिन मनीषाले फोन गरेर घुम्न जानेबारे आशिषसँग अनुमति पनि लिएकी थिइ।' आशिषले फोनमा घुम्न जाने कुरा इन्कार गर्दै हप्काएका थिए।
आशिषले धम्क्याए पछि मनीषा डराएकी थिइन्
घटनाकै दिन बुधबार परीक्षा सकेर मिल्ने चारजना साथीहरु घुम्न गएका थिए। सोही क्षणमा आशिषले फोनमा मनीषा माथि रिस पोखेका शिलुले बताइन्।
परीक्षा पछि धेरै दिनमा फेसबुक चलाउन पाउँदा मनीषा घुम्न निस्कने बेला खुसी नै थिइन्। त्यसअघि परीक्षा बिग्रने भन्दै आशिषले मनीषाको फेसबुकको पासवर्ड चेन्ज गरेर चलाउन नमिल्ने बनाइदिएका थिए।
मनीषामाथि आशिष निकै निगरानी राख्थे र घुम्न निस्केको वा अरु केटाहरुसँग बोलेको देखे रिसले आगो हुन्थे। घुमेर फर्कने बेलामा मनीषाले मोवाईल अफ गरेपछि आशिषले सँगै रहेका साथीको मोवाइलमा फोन गरेर रिस पोखेका थिए। 'आज जे पनि हुनसक्छ म त्यहाँ आउँदैछु, मनीषालाई भनिदिनु।' उनले फोनमै आक्रोश पोखेका थिए। साथीको मोवाईलको लाउड स्पिकरमा मनीषाले त्यो सुनेकी थिइन्।
आशिषको रिसाहा व्यवहार देखे/भोगेका मनीषाका साथीहरु उसले नै हत्या गरेको शंका गर्छन्।
'फोनमा धम्क्याएपछि मनीषा डराएकी थिइ,' साथी शिलुले भिनन् 'राती घरमा आउँछु भन्दै जे पनि गर्ने धम्की दिएको थियो त्यसैले मनीषा डराइकी थिइ।' रमाएर घुम्न निस्केकी मनीषाले घर फर्केपछि साथीहरुसँग भनेकी थिइन् 'आज घरमा बस्न डर लागेको छ।'
घटना पछि शिलुलाई नै फोन गरेर आशिषले मनीषाको फोन नउठेको भन्दै फोन उठाउन भनिदिन सन्देश छाडेका थिए। तर प्रहरीमा अशिषले मनीषाको मृत्यु भएकोबारे आमालाई तत्कालै जानकारी गराएको वयान दिएका छन्। उनले घटनाको अर्को दिन मनीषाका साथिलाई बिहानै फोन गरेर घटनाबारे अनभिज्ञता दर्शाउनु र प्रहरीमा अर्कै वयान दिनु नै उसले झुठ बोलेको प्रष्ट भएको साथीहरुको भनाई छ।
आशिष यतिसम्म संकालु थिए मनीषाको फेसबुकमा केटा साथी बनाउनै दिँदैन थिए। मनीषाको फेसबुक उनी आँफै चलाउँथे। कोही केटा साथी फेसबुकमा एड भयो भने उसलाई आशिषले ब्लक गरिदिन्थे। मनीषाको फेसबुक र मोवाईल पनि उनले बारम्बार चेक गर्थे।


0 comments
प्रतिक्रिया दिनुहोस्...