काठमाडौं, २२ वैशाख । सत्ता साझेदार दल राप्रपा नेपालले एमाले नेतृत्वको सरकारको प्रतिरक्षामा खडा रहने निर्णय गरेको छ ।
राजधानीमा बुधबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सरकार परिवर्तनको खेल उपयुक्त नभएको निष्कर्ष निकाल्दै सरकार ढल्न नदिने र प्रतिरक्षामा खडा हुने निर्णय गरेको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
‘नेपालको संविधान जारी भै कार्यान्वयनको चरणमा रहेको र मुलुक राजनैतिक स्थिरता तर्फ उन्मुख रही प्रतिकुल अवस्थाको अन्त्य गर्दै आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको सन्दर्भमा सुरु भएको सत्ता परिवर्तनको खेल उपयुक्त हैन’ प्रवक्ता श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘यस्तो क्रियाले संविधान कार्यान्वयनलाई थप जटिल बनाउने र पुनर्निमार्णको काममा नकारात्मक प्रभाव पार्ने मात्र हैन राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता समेतलाई कमजोर बनाउने भएकोले सरकार परिवर्तनको निर्णयलाई पुनर्विचार गर्न एकिकृत नेकपा माओवादीसँग हार्दिक आग्रह गर्दछौं ।’
राप्रपाले सरकार छाड्ने निर्णयमा पुनर्विचार गर्न एमाओवादीलाई आग्रह समेत गरेको छ । ‘वर्तमान सरकारमा राप्रपा नेपालको समेत जिम्मेवारीपूर्ण उपस्थिति रहेकोले वर्तमान सरकारको प्रतिरक्षामा खडा रहने प्रतिवद्धता राप्रपा नेपाल व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...