काठमाडौं, वैशाख २३ – केपी ओली नेतृत्वको सरकार असफल भएको भन्दै कांग्रसले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै नयाँ सरकार बनाउने तयारी गरेको छ ।
कांग्रेसको आश्वासन पाएलगत्तै प्रचण्ड वर्तमान गठबन्धनबाट अलग भएर आप्mनो नेतृत्वमा सरकार गठन गर्न दौडधूपमा लाग्नुभएको छ ।
अहिले सरकार ढाल्ने र गठन हुने प्रक्रियाले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ । एकातिर सरकार ढाल्ने कसरत हुन थालेको छ भने अर्कोतर्फ नयाँ सरकारमा को को आउने भन्ने बारेमा दलहरुबिच छलफल हुन थालेको छ ।
कांग्रसले अब बन्ने नयाँ सरकारमा मधेसी मोर्चालाई सहभागी गराउने भन्दै मोर्चासँग छलफल गरेको छ । कांग्रेस सकेसम्म मोर्चालाई सरकारमा लयाएर मधेसको समस्या समाधान गरि मधेसमा आफ्नो पकड पार्न चाहान्छ । त्यसै अनुसार कांग्रेसले मोर्चासँग छलफल पनि तीब्र बनाएको छ । यस्तै प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बन्न लागेको भन्दै एमालेलाई सहयोग गर्न आग्रह पनि गर्नुभएको छ । तर एमाले आफ्नो नेतृत्वको सरकार गुमे कुनै हालतमा सरकारमा नजाने देखिन्छ । त्यसैले पनि राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना भने देखिँदैन ।
नयाँ सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई सहभागी नगराउने कांग्रसले जनाएको छ । नेता रामहरि खतिवडाले भन्नुभयो ‘अरु सबै दल अब बन्ने सरकारमा सामेल हुन सक्ने भएपनि हामी राप्रपा नेपाललाई सरकारमा ल्याउँदैनौं ।’ किन सरकारमा नल्याउने भन्ने बारेमा उहाँले प्रष्ट पार्न चाहानुभएन ।
उता राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठसँग अब बन्ने सरकारमा जानेकी नजाने भन्ने बारे बुझ्दा पार्टीको बैठकले निर्णय गर्ने बताउनुभयो । तर राप्रपाको बैठकले सरकारमा जाने निर्णय गरेपनि राप्रपा नेपाललाई सरकारमा नल्याउने योजनामा कांग्रेस छ ।
राप्रपा नेपाल अहिलेको सरकार परिवर्तन गर्न नहुने पक्षमा उभिएको छ । अहिलेको सरकार सफल भएको साप्रपा नेपालले बताएको छ । सरकार परिवर्तन गर्नुको कुनै औचित्य नरहेको सहप्रवक्ता श्रेष्ठले बताउनुभयो ।
साना दल अलमलमा, लगे सरकारमा जाने तयारी
सरकार ढाल्ने र गठन गर्ने जोड घटाउ शुरु भएसँगै सरकारमा गएका साना दलले अब के गर्लान भन्ने चासो सबैमा देखिन्छ । अहिले सरकारमा सामेल भएका साना दल यही सरकारलाई निरन्तरता दिन पाए हुन्थ्यो भन्ने पक्षमा छन् । सरकार बाहिरका साना दल अब बन्ने सरकारमा कसरी सामेल हुन सकिन्छ भन्ने दाउमा छन् ।
सरकारमा प्रतिनिधित्व गर्ने साना दल मध्येको एक नेपाल परिवार दल अब बन्ने सरकार सहमतिको बने सरकारमा जाने तयारीमा छ । परिवार दलको जम्मा दुई सिट छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग यही सरकारलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषयमा छलफल गर्नु भएका नेपाल परिवार दलका अध्यक्ष तथा शान्ति मन्त्री एकनाथ ढकालले सहमतीको सरकार बने सरकारमा सहभागी हुने बताउनुभयो । मन्त्री ढकालले भन्नुभयो ‘अब सहमतीको सरकारमा परिवार दललाई समेटे हामी सरकारमा सहभागी हुन्छौं ।’
त्यस्तै अर्को सानो दल समाजवादी जनता पार्टीको जम्मा एक सिट छ । जनता पार्टीका तर्फबाट पे्रम बहादुर सिंहले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्ता साना दल आफ्नो मन्त्री पद जोगाउने तर्फ छन् भने सरकार भन्दा बाहिरका साना दल अब बन्ने नयाँ सरकारमा कसरी पर्ने मेलोमेसो मिलाउने तर्फ केन्द्रित देख्न्छिन् ।
अहिले सरकार परिवर्तन हुनै लाग्दा पनि सरकार परिवर्तनको सम्भावना भने कम देख्छन् सरकारमा प्रतिनिधित्व गर्ने साना दल ।
‘सरकार राष्ट्रियताको विषयमा सफल भएको छ, भूकम्प र नाकाबन्दीबाट जर्जर बनेको बेला सरकारले कामै गर्न सकेन भन्न मिल्दैन’ शान्ति मन्त्री ढकालले भन्नुभयो ।
अहिले बजेट अधिवेशनको छलफल शुरु भएको छ, संसद नियामावली बनाउन सकिएको छैन यस्तो अवस्थामा तत्काल सरकार परिवर्तन गर्न नमिल्ने शान्ति मन्त्री ढकालले बताउनुभयो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...