काठमाडौं, ६ जेठ । साइप्रसमा रोजगारीका सिलसिलमा पुगेकी रामेछाप जिल्ला निवास अञ्जु सुनुवारले आत्महत्या गरेको भनेर आएको समाचारको परिवारजनले खण्डन गरेका छन् । समाचारबाट परिवारमा तनाव भएको भन्दै आफन्तहरूले आपत्ति जनाएका छन् ।
अञ्जु सुनुवारका भाइ विजय सुनुवारले आफ्नी दिदी साइप्रसमा रोजगारीका लागि नगएको दाबी गर्नुभएको छ । विजयले बिहीबार दैनिक नेपाल डटकमसँग टेलिफोनमा कुरा गर्दै भने, ‘मेरो दिदी अञ्जु सुनुवार साइप्रसमा रोजगारीका लागि जानु भएको छैन । उहाँ त दुबईमा बिगत दुई वर्षदेखि रोजगारीमा हुनुहुन्छ । उहाँले आत्महत्या गरेको कुरा सबै झुठो हो ।’
दिदी अञ्जुले आत्महत्या गरेको भनेर कसले समाचार दियो होला भनेर अचम्म मान्दै भ्रमक समाचार लेख्नेविरुद्ध उजुरी दिने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘मेरो जिउँदो दिदीलाई आत्महत्या गरेको भनेर समाचार दिनेहरूविरुद्ध उजुरी दिन्छु । कानुनी उपचार खोज्छु ।’
बाबु कृष्णबहादुर सुनुवार र आमा मैया सुनुवारकी छोरी अञ्जुले साइप्रसमा अघिल्ले शनिबार आत्महत्या गरेको समाचार आएको थियो । तर, सो समाचार गलत रहेको विजय सुनुवारले बताउनुभयो । ‘मेरो दिदी दुबइमा जीवित हुनुहुन्छ’, विजयले भन्नुभयो, ‘विश्वास लाग्दैन भने फोनमा कुरा गराउन सक्छु ।’
झापाको निशान राई भन्नेसँग आफ्नी दिदीको कुनै सम्बन्ध नरहेको विजयले दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘निशान राईलाई हामीले चिन्दैनौँ । को हो त्यो हामीलाई थाहा छैन ।’
साइप्रसमा अञ्जु सुनुवारले निशान राईसँगको फेसबुकपछिको मायापिरतीका कारण साइप्रसमा आत्महत्या गरेको समाचार गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साइप्रसका अध्यक्ष सुवास मल्ल र राजमाया सुनुवारले दिएका थिए ।
अञ्जुको आत्महत्याको समाचार दैनिक नेपाल डटकमले पनि प्रकाशित गरेको थियो । समाचारबाट परिवारजनमा पर्न गएको पीडाप्रति दैनिक नेपाल डटकम क्षमाप्रार्थी छ


0 comments
प्रतिक्रिया दिनुहोस्...