बाग्लुङ, जेठ १७ - यो देशमा धेरै तन्त्रहरु फेरिएका छन्, तन्त्रसँगै धेरै नेता र तीनका निकटहरुको दैनिकी जिवन फेरिएको छ तर बास्तविक ती श्रमिक मजदुरको अवस्था अझै कष्टप्रद रहेको बागलुङकी एक महिला मजदुरको भोगाइबाट पनि पुष्टि भएको छ । मजदुरी गर्दै आएकी बाग्लुङभकुण्डेका एक महिला छारे रोगबाट पीडित भए पछि उपचारमा समस्या भएको छ ।
भकुण्डे–७ का ३२ वर्षे सुनिता थापा ३ हप्तादेखि निरन्तर थलिएपछि उपचारमा समस्या भएको परिवारले बताएका छन् । स्वास्थ्यमा गम्भीर समस्या देखिए पछि उपचारका लागि अस्पताल लगेको तर आर्थिक अभावमा अस्पतालबाट फिर्ता गर्नु परेको उहाँका श्रीमान भक्तवहादुर थापाले जानकारी दिनुभयो । थापालाई पटक–पटक स्वास्थ्य समस्या देखिए पछि धौलागिरी अञ्चल अस्पताल बागलुङमा लगिएको थियो । अञ्चल अस्पतालबाट गण्डकी अस्पतालमा पठाएको र त्यहाँ पुगेपछि फेरि पोखराकै मणिपाल अस्पतालमा लैजान डाक्टरहरुले सुझाव दिएपछि बिरामीलाई आफन्तले मणिपालमा नै पुर्याएका थिए ।
अस्पतालमा पुर्याएर उपचार गर्ने क्रममा चन्दा संकलनबाट प्राप्त १५ हजार रुपैयाँ सिटी स्क्यानमै सकिएपछि बिरामी श्रीमतीलाई उपचार नगरी अस्पतालबाट फर्काएर ल्याउन बाध्य भएको थापाले बताउनुभयो । ‘डाक्टरले तत्काल उपचार गर्न ५०/६० हजार रुपैयाँ लाग्ने र दीर्घकालिन रुपमा ५÷७ लाख रुपैयाँ उपचारका लागि चाहिने बताए,’ थापाका श्रीमान भक्तबहादुरले भन्नुभयो ‘मसँग हजार रुपैयाँसमेत नभएपछि बिमारी श्रीमतीलाई भारी मन बनाएर डेरामा फर्काएको छु ।’
थापाको उपचारका लाग धौलागिरी अञ्चल अस्पतालले पनि बिपन्न कोषबाट ३ हजार रुपैयाँ प्रदान गरेको थियो । अप्रेशनका लागि लाखौ रुपैयाँ लाग्ने डाक्टरले बताएको तर अहिले आफूसँग सामान्य उपचार गर्ने पैसासमेत नभएको उहाँको गुनासो छ ।
‘२० दिन जति भयो काम गर्न पनि पाएको छैन’ रामरेखामा डेरामा बस्दै आएका उहाँले भन्नुभयो ‘दैनिकी चलाउन र उपचार खर्च जोहो गर्न निकै कठिन भएको छ ।’
श्रीमान र श्रीमतीले नै दैनिक मजदुरी गरेर पेट पाल्दै आएकोमा अहिले आफूहरु काममा जान नसकेपछि ३ वर्षे छोराको समेत विचल्ली भएको थापाले बताउनुभयो । रुद्रेपिपल माविमा बाल शिक्षा पढ्दै आएका छोराको शिक्षा दिक्षामा समेत समस्या भएको उहाँले बताउनुभयो ।
‘सुनिता यताउतासमेत गर्न नसक्ने अवस्थामा छिन्,’ थापाका छिमेकी सुरेशप्रसाद शर्माले भन्नुभयो ‘भक्तबहादुरको एक्लो ज्यानले श्रीमतीको हेरचाह गर्ने कि छोराको ? उहाँलाई साह्रै गाह्रो भएको छ ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...