एजेन्सी : अबु अब्दुल रहमानले चार दिनदेखि केही खान पाएका छैनन् । सिरियाको मडाया सहरमा भोकमरीका कारण रहमान र उनका परिवारका सदस्य धेरै कम्जोर भइसकेका छन् । कमजोरीका कारण उनी आफ्नो घरभित्र पनि हिँडडुल गर्न सक्ने अवस्थामा छैनन् । हिँड्डुल गर्ने कोशिश गर्यो भने शरीरमा बाँकी रहेको उर्जा पनि सकिएर मर्ने चिन्ताले यिनलाई सताएको छ ।
रहमानले अलजजिरा टेलिभिजनका अली सादसँग भने, ‘यो सहरमा बिरालो र कुकुर एउटा पनि बाँकी छैनन् । यहाँसम्म कि रुखको पात पनि अब दुर्लभ भइसक्यो ।’ बीबीसी को रिपोर्टका अनुसार यहाँका बासिन्दा अहिले भोक मेटाउनका लागि माटो खाइरहेका छन् ।
सिरियाको राजधानी दमास्कसबाट उत्तर–पश्चिम २५ किलोमिटर टाढाको मडाया सहरका बासिन्दा गम्भीर कुपोषणको समस्यासँग जुधिरहेका छन् । यहाँ इन्धन र औषधिको आपूर्ति पुरै ठप्प भएको छ ।
अघिल्लो साल जुलाई महिनादेखि यो सहरलाई सिरियाली राष्ट्रपति बसर अल असदको सेनाले घेराबन्दी गरेर राखेको छ । रेडक्रसले जनाए अनुसार चिसोबाट बच्नका लागि यो सहरका बासिन्दा प्लास्टिक जलाइरहेका छन् ।
रहमानले यही अवस्था केही महिना रहेमा यहाँका बासिन्दाले भोकै ज्यान गुमाउनुबाहेक अर्को विकल्प उनीहरुसँग छैन । ‘यहाँ अब जिउँदो रहने कुनै आशा छैन’, उनले दबेको स्वरमा भनेका छन्, ‘यो ददर्नाका अवस्थालाई बुझ्ने र सम्झिने कोही भएन ।’सिरियाली अब्जर्भेटरी फर ह्युम्यान राइट्सले बुधबार बताए अनुसार खानै नपाएर यहाँ बालबालिकासहित केही दिनयता २३ जनाले ज्यान गुमाएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...