काठमाडौं, १५ जेठ । सत्तापक्ष र प्रतिपक्षबीच टकराव र तिक्तता बढदै गए पनि संसदमा प्रतिपक्ष त्यसरी प्रस्तुत हुन सकेको छैन, जसरी हुनुपर्थ्यो ।
संसदीय अभ्यासमा विशेष समय भन्नासाथ प्रतिपक्षले सदनलाई जुरुक्कै पार्छन्, तर यतिखेर त्यो हुन सकिरहेको छैन । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
राष्ट्रिय महत्त्वका विषयमा त सशक्त प्रतिपक्षले विशेष समयसमेत नकुरी टेबल ठटाएर बोल्न उठेपछि सभामुखलाई अलगै समय दिन करै लाग्छ ।
समय माग गरेर बोल्ने नेपाली मौलिकताको यो अभ्यासलाई ‘ढ्यापढ्यापे समय’ को संज्ञा दिइएको छ ।
दलीय आधारमा वितरण हुने संसदका अधिकांश समयमा मौका नपाउने ‘निमुखा’ सांसदले पनि प्रायः सातामा एक मिनेट बोल्ने मौका पाउँछन्, शून्य समयमा ।
ढ्यापढ्यापे होस् कि विशेष र शून्य समय, सरकारलाई सदनमार्फत जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन सांसदको हातमा रहने मुख्य ‘भिटो’ भनेकै वक्तृत्व कला हो ।
सत्तापक्ष–प्रतिपक्षको ध्रुवीकरण तीव्र भएका बेला सांसदले बढी नै प्रयोग गर्ने यस्तो भिटो नै ग्यालरी बैठकको एक मुख्य आकर्षण र रौनक हो ।
पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच टकराव र तिक्तता भए पनि सदनमा त्यस्तो रौनक भने देखिँदैन ।


0 comments
प्रतिक्रिया दिनुहोस्...