-->
बालुवाटारमा संघीय गठबन्धनले ‘चरो’ पनि छिर्न नदिने, यसरी भयो तयारी

काठमाडौं, ४ जेठ । संविधान पुनर्लेखनको माग गरेर राजधानी केन्द्रित आन्दोलनमा उत्रिएको मधेसी मोर्चासहित २९ दलीय संघीय गठबन्धनले आज प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्दैछ ।
बिहान दशबजेदेखि प्रधानमन्त्री निवास अगाडि घेराउ र धर्ना दिने कार्यक्रम रहेको आन्दोलन परिचालन उपसमितिका संयोजक आङ्काजी शेर्पाले जानकारी दिनुभयो । ‘बिहान दश बजेदेखि प्रधानमन्त्री निवासलाई घेराउ गर्ने छौँ’, शेर्पाले भन्नुभयो, ‘घेराउलाई शान्तिपूर्ण बनाउने छौँ ।’
सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले शान्तिपूर्ण आन्दोलनलाई व्यवस्थित र मर्यादित बनाएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने बताउनुभयो । ‘आज एक दिन दश बजेदेखि पाँच बजेसम्म घेराउ हुन्छ’, उहाँले भन्नुभयो, ‘भोलि बुधबार शान्तिबाटिकामा एक बजे जनसभा गर्ने छौँ ।’
संघीय गठबन्धनका प्रवक्ता तामाङले सरकारले आन्दोलन दबाउने नाममा आफ्ना नेता तथा कार्यकर्ताहरूलाई दुःख दिएको आरोप लगाउनुभएको छ ।
उसमिति संयोजक शेर्पाले परिस्थिति हेरेर प्रधानमन्त्रीको निवासलाई दुई स्थानबाट घेराउको तयारी भएको बताउनुभयो । राष्ट्र बैंक र रसियन एम्बेसी अगाडिबाट घेराउको तयारी भएको छ ।
दुई दिन सिंहदरबार घेराउ गरेको संघीय गठबन्धनले अबका आफ्ना कार्यक्रम प्रचारात्मक र सरकारलाई असहयोगात्मक हुने जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.