बारा, १७ जेठ । उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार महागढीमाई नगरपालिका–१ पसहाखोला नजिक बरियापुरवाट गत बिहीबार ५० बर्षीय सुरेश केडियाको अपहरणमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बारा कवही जगदी गाबिस–३ बस्ने २३ वर्षीय चञ्चल पाण्डे, महागढीमाई–२ बस्ने ४० वर्षीय वीरेन्द्र यादव, महागढीमाई–२ तेलकुवा बस्ने २८ वर्षीय जीयालाल यादव र महागढीमाई–१ बस्ने ४० वर्षीय पुष्करकुमार चौधुर रहेका छन् ।
बरियापुरवाट कलैयातर्फ जाँदै गरेको बा.१० च ७२४० नम्बरको स्कारपियो गाडीका चालक पर्सा बिन्दबासिनी–२ बस्ने ३४ बर्षीय श्याम उपेशप्रसाद कानुलाई नम्वर नखुलेको मोटरसाइकलमा आएका अपरिचित समूहले गोली प्रहार गरी घाइते बनाई केडियालाई अपहरण गरी लगेका थिए ।
केडियाको अपहरण पश्चात तत्काल नेपाल प्रहरीले भारतीय प्रहरीसँगको निरन्तर सम्पर्क र समन्वयमा अपहरित केडियालाई अपहरणमुक्त गरी आइतबार उनका परिवारलाई जिम्मा लगाएको थियो ।
घटना सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...