-->
चिनियाँ समुद्रमा अमेरिकी युद्धपोत पस्यो, अमेरिकालाई चीनको कडा चेतावनी

बेइजिङ, २९ वैशाख । अमेरिकी जलसेनाको एक युद्धपोत दक्षिणी चीन सागरको विवादित क्षेत्रनजिकै पुगेको छ ।
यसको जानकारी अमेरिकी रक्षा विभागका अधिकारीहरुले दिएका छन् । अमेरिकी रक्षा विभागका प्रवक्ता बिल अरबनका अनुसार मंगलबार दक्षिण चीन सागरमा चीनले बनाएको विवादित मानव निर्मित द्वीप (टापु) नजिक अमेरिकाले युद्धपोत पठाएको हो ।
यसको जानकारी पाएपछि चीनले पनि अपत्ति जनाएको छ । उसले यो कदमलाई अवैध भनेको छ । बेइजिङबाट चीन सरकारका प्रवक्ताले यसलाई शान्ति र स्थिरताका लागि खतरा पनि भनेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यता अमेरिकाले भने दक्षिण चीन सागरमा चीनको बढ्दो प्रभावलाई चुनौति दिनका लागि उठाइएको कदम भनेको छ । अमेरिकी रक्षा विभागका प्रवक्ता बिलले मिसाइल विध्वंसक पोत यूएसएस विलियम पी. लरेंस चीनको कब्जामा रहेको ‘फयरी क्रान्स रिफ’ क्षेत्र नजिकै पुगेको बताए । जहाँ चीनले विमानस्थल, ठूला भवनहरू बनाइरहेको छ ।
उनले भने- यो कदम दक्षिण चीन सागरमा चीन, ताइवान र भियतनामबाट आएका दाबीलाई चुनौति दिनका लागि उठाइएको हो । समुद्री क्षेत्रमा गरिएका हावादारी दाबी अन्तर्राष्ट्रिय कानूनविरुद्ध छन् ।’
यता चीनले यो कदमको विरोध गर्दै कडा प्रतिक्रिया जनाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता लू कांगले अमेरिकी युद्धपोत अवैध तरिकाले चिनियाँ समुद्री क्षेत्रमा पसेको भन्दै यो कदम तत्काल फिर्ता लिन अमेरिकालाई चेतावनी दिएको जानकारी दिए ।
चीनले पुरै दक्षिण चीन सागरमा आफ्नो दाबी गर्दै आएको छ । भियतनाम, फिलिपिन्स, मलेसिया र ब्रुनाईजस्ता अन्य कैयौ एसियाली राष्ट्रहरुले पनि यो समुद्रलाई आफ्नो भन्दै दाबी गर्दै आएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.